ऊ को थियो ? लघुकथा

-मित्र 'उराठी' गौतम ,अमरपुर- गुल्मी २०७९ जेठ १० गते २२:१५ मा प्रकाशित

“पान्सय रुप्पे दिनु न।” – मैले भनेँ।

“हैन् , दिनदिनै तँलाई किन चाहिन्छ पैसा ? अलि जम्मा भएपछि एकमुष्ट दिइहाल्छु नि।कस्तो किचकिचे मान्छेलाई काममा लगाइएछ ।” – ठेकदार बम्कियो।
“घरमा बेलुकालाई चामल छैन्।परिवारले मेरै आश गरेर पर्खिरहेका हुन्छन्।नियमित काम गरिरहेकै छु क्यारे ” – मैले अनुनय गरेँ।

“ला ला तीन्सय लैजा, पान्सय छैन् अहिले।”- मेरो श्रम, पसिनाको ज्याला पनि उसले दया गरेर दिए जस्तै गरि दियो।

झमक्क रात पर्नै आँटेको थियो।म आफ्नो थोत्रो साइकल चढेर नजिकैको बजार तिर लागेँ।अलिकति चामल र अरु खत्राखुत्रु किनेर घरतिरको बाटो तताएँ।
दिनभरको थकाइले मेरा खुट्टाले साइकलको गति बढाउन सकेका थिएनन्।मूल सडकबाट अगाडि बढ्दा जङ्गलको बाटो निष्पट्ट अँध्यारो भयो।आकाश गर्जन थाल्यो।झल्याक झुलुक विजुली चम्कियो।घर पुग्न अझै वीस पच्चीस मिनेटको बाटो थियो।मन आत्तियो।पानी पर्यो भने किनेको चामल, चिजविज सबै भिजेर खत्तम हुन्छ।बुढी, केटाकेटीहरु यही चामल कुरेर मुख मिठाउँदै होलान्।

हतास मन र गलित् तनले साइकल धकेलिरहेको थिएँ।एक्कासी मेरो पछाडि बाइक आयो।बाइकको उज्यालोको अवसर छोपेर सकिनसकि साइकलको गति बढाएँ।मेरो साइकललाई जितेर बाइक अगाडि गएन।मेरै साइकललाई पछ्याइरह्यो।मलाई उज्यालो प्राप्त भएकोले ऊर्जा थपिएको महसुस भयो।
केही समय पछि एकान्त जङ्गलको बाटो सकियो र मेरो बस्तीको मधुरो उज्यालो देखियो।अब म ढुक्क भएको थिएँ।बस्ती आइपुगे पछि बाइकले मलाई उछिनेर आफ्नो गति बढायो।

मेरो मनमा खुल्दुली भै रह्यो, आखिर ऊ को थियो ?

-मित्र उराठी गौतम

   अमरपुरगुल्मी, हालःतिलोत्तमा , रुपन्देही

प्रतिक्रिया