गंकी धुस्वा बसुन्धरा प्रतिष्ठानद्वारा २०७८ सालको गंकी धुस्वा बसुन्धरा पुरस्कार ‘द्रौपदी अवशेष’उपन्यासका लागि नीलम कार्की निहारिका र धुस्वां सायमि सिर्जना पुस्कारबाट कलाकार गोबिन्दलाल सिं डंगोललाई कलाकारिताको माध्यमबाट पु¥याएको योगदानको लागि प्रदान गरिएको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक समारोहका बीच पुरस्कार प्रदान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको सभापतित्वमा सपन्न भएको उक्त समारोहलाई प्रतिष्ठानका सचिव प्रतिसरा सायमिले संचालन गर्नुभएको थियो । पुरस्कृत उपन्यासकार निहारिका र कलाकारको डंगोलका बारेमा क्रमशः विमल भौकाजी र सुरेश किरणले बोल्नुभएको थियो ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कार राशी जनही ५० हजार रुपैँया र ताम्रपत्र रहेको छ ।
प्रतिष्ठानको परिचयका साथ स्वागत मन्तव्य राख्दै डा. अरुण सायमिले– समाजमा साहित्यकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्दै, त्यो भूमिकाको कदर गर्दै आफ्ना पिता धुस्वां सायमिले प्रथम उपन्यास गंकीको नाममा स्व. आमा बसुन्धराको नाम जोडेर यो पुरस्कार स्थापना गरेको र पछि धुस्वांको निधानपश्चात् उहाँको नामसमेत यो पुरस्कारमा आफूहरूले जोडेको कुरा बताउनुभयो ।
पुरस्कृत नीलम कार्की निहारिकाले भन्नुभयो– ‘प्रकृति सुन्दरता र संस्कृतिगत विविधता हाम्रो देशका निधिहरू हुन् । तर आफ्नै देशभित्र पनि एक समुदायको संस्कृतिबारे अर्को समुदाय पूर्ण रूपमा जानकार नभएको हुँदा साहित्य–कलाको माध्यमबाट संस्कृति आदानप्रदान र अर्को पुस्तामा सुरक्षित हस्तान्तरण हुन् जरुरी छ ।’
अर्का पुस्कारकृत व्यक्तित्व कलाकार गोबिन्दलाल सि डंगोलले सत्तरी वर्ष नाघ्दासम्म आफू र आफूजस्ता कलाकारलाई राज्यबाट कुनै सम्मान प्रदान नभएकोमा दुखेसो व्यक्त गर्नुभयो ।
कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यकार–कलाकारले दबेर बसेको संस्कृति र इतिहासलाई सतहमा ल्याएर सबैको सामु राखिदिने उल्लेख गर्नुभयो । कलाकार हरिहर शर्माले धन्यवाद ज्ञापन गर्दै कला–साहित्यबाट देशको सेवा गर्न सकिन्छ । र, लगातार इमानदार भएर साहित्यकार कलाकार लागिपरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया