आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:२८
वासिङटन डिसी 00:43

अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा

नवीन रायमाझी २०७९ वैशाख २६ गते २२:३५ मा प्रकाशित

अमेरिकाको बारेमा जानकार व्यक्ति म होइन तर विभिन्न अनलाइन पोर्टलमा समय–समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुष्साहस गरेको हुँ। आलेखको प्रारम्भमै आदरणीय पाठक वर्गमा यो जानकारी गराउँछु।

विश्वको एउटा अति गरीब देशबाट विश्वकै अति विकसित देशमा आउन पाउनुलाई म सुवर्ण मौका प्राप्त गरेको ठान्छु।यहाँ आएर कसैलाई बेकार आइएछ जस्तो लाग्छ भने खुरुक्क नेपाल फर्किन सल्लाह दिन्छु।

यदि कसैले इच्छा त थिएन तर बाध्यताले बसिएको छ भनेर भन्छ भने देश छोडेर परदेशमा बस्नु हाम्रो बाध्यता हो न कि अमेरिकी सरकारको।यसरी आफ्नो फाइदाको लागि अरुको देशमा बसेर निरर्थक गनगन गर्नु कुनै बुद्धिमानी होइन।यहाँ बस्ने मान्छेले भित्रभित्र खुशी भए पनि इच्छाविपरीत बस्नुपरेको जस्तो देखाउन अरुको अगाडि केही कारणहरू दिने गर्छन्।

इच्छाविपरीत अमेरिका बस्नुपरेको जस्तो देखाउन अरुको अगाडि भन्ने गरेका त्यस्ता केही प्रमुख कारणहरूलाई निम्न बमोजिम छन्–

सबैभन्दा पहिलो,अमेरिकामा दु:ख छ भन्ने भनाइलाई लिऊँ।यदि कामलाई दु:खको रुपमा लिने हो भने यो संसारमा कतै पनि सुख छैन।हाम्रो देश नेपालमा श्रम गर्नेलाई अपमान र बाबुबाजेले कमाएर छोडेको सम्पत्तिमा मोज गर्ने कामचोरहरू र दिनभरि सडक नापेर हल्लिरहनेहरूलाई सम्मान गर्ने अनौठो र उल्टो चलन छ तर अमेरिकामा त्यस्तो रहेनछ।

अमेरिकामा श्रम गर्नेलाई सम्मान गरिँदो रहेछ,चाहे त्यो जस्तोसुकै काम गरोस्।अमेरिकामा एउटा श्रमजीवीले काम गरेर आफ्नो जीवनयापन राम्रोसँग गर्नसक्छ तर नेपालमा दिनभरि घोटिँदा पनि पेटभरि खान नपाउने अवस्था छ।

दोश्रो,फुर्सद् नै हुँदैन र सामाजिक जीवन छैन भन्ने कुरा।संसारमा कर्मयोगी मान्छेलाई फुर्सद् नै हुँदैन।आफ्नो काममा व्यस्त मान्छेलाई अर्काको नानाथरि कुरा गर्ने न त फुर्सत हुन्छ न त त्यस्ता बकम्फुसे कुरामा कुनै रुचि नै हुन्छ।यो कुरा नेपालमै रहेका मान्छेमा पनि लागू हुन्छ तर त्यो मान्छे कर्मयोगी हुनुपर्छ।

फुर्सद् भनेको काम नभएको मान्छेसँग मात्र हुन्छ– चाहे त्यो अमेरिका होस् वा नेपालमा। हाँसम्म सामाजिक जीवनको कुरा छ, बरु यहाँ होला– नेपालमा धनीहरूको मात्र सामाजिक जीवन छ,गरीबहरूलाई कसैले वास्ता गर्दैन।नेपालमा गरीबको कुनै इज्जत छैन,गरीबी एउटा अभिशाप हो।

तेश्रो,सोचेको जस्तो भएन भन्ने कुरा।एउटा मान्छेले के सोच्छ र सोचेको जस्तो पाउँछ वा पाउँदैन भन्ने कुरा संयोग मात्र हो।साधारणतया कुनै पनि मान्छेले पाउने काम र उसले कमाउने धन भनेको उसको व्यक्तिगत योग्यता र क्षमतामा भर पर्छ।यो पनि अमेरिकामा मात्र होइन, संसारको जुन सुकै कुनामा।

कहिलेकाहीँ योग्य व्यक्तिले पनि सानो पद र अयोग्य व्यक्तिले ठूलो पद पाउने भनेको अपवाद मात्र हो।यस्तो अमेरिकामा भन्दा नेपालमै बढी हुन्छ।कसैले आफ्नो क्षमताभन्दा ठूलो कुरा सोचेर बस्छ र उसले त्यो कुरा पाउँदैन भने उसले अमेरिकालाई भन्दा आफ्नो बुद्धिलाई गाली गर्नु लाभदायक हुन्छ।

करिब एक वर्षअगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपाली भाडा माँझ्दा रहेछन भनेका थिए।मलाई लाग्छ– उनले यो भाडा माझ्नु भनेको सानोतिनो कामलाई भनेका हुनसक्छन्।मेरो विचारमा यदि कुनै मान्छेले इमान्दारीपूर्वक भाडा नै माझ्छ भने पनि त्यो आदर गर्नलायक कुरा हो तर पौडेलले सायद देखेनन् होला।

अमेरिकामा नेपालमा जस्तो परालको मस्कोले खरानी चोप्दै भाडा माझ्नु पर्दैन कि त मेशिनले माझ्छ कि त चौबीसै घण्टा धाराबाट आउने तातो पानीले साबुन लगाएर माझ्न सकिन्छ।

कांग्रेस नेता पौडेललाई विनम्रतापूर्वक मेरो एउटा प्रश्न छ–अमेरिकामा रहेका तपाईंको छोरा वा छोरीले भाडा माझ्छन् कि माझ्दैनन् ? किनकि, अमेरिकामा नेपालमा जस्तो सबैले जुठो पारेको भाडा एउटा मान्छेले माझ्ने चलन हुँदैन।प्रत्येक व्यक्तिले आफूले प्रयोग गरेको जुठो भाडा आफैँले माझ्ने चलन छ।घरेलु कामदार राख्न कानूनले प्रतिबन्ध लगाएको छ।यदि कसैको सहयोग लिऊँ भन्यो भने पनि त्यो सम्भवत: कुनै नेपालीले मूल्य तिर्न सक्दैन।

यसका साथै प्राय:सबै नेपालीमा एउटा ठूलो भ्रम भनेको यहाँका महिलाले बाटोमै अँगालो हाल्छन् भन्ने छ।कसैले व्यक्त गरुन् कि नगरुन्, हुन त अंग्रेजी सिनेमामा नायिकाले नायकसँग गरेको प्रेमालाप देखेर मलाई पनि यस्तै हुन्छ कि भन्ने धारणा बनेको पनि हुनसक्छ।

सत्य कुरा के हो भने– हामी नेपाली अमेरिकामा अहिले पनि नेपालमा जंगली जीवन बिताइरहेका राउटेजस्तै देखिन्छौँ।अब अपवादको रुपमा कुनै अमेरिकी महिलाको नेपालीसँग प्रेम हुन् सक्ला तर यो घटनाले पूर्ण रुपमा प्रतितिधत्व गर्दैन।

अत: विभिन्न कारण र प्रक्रियाले अमेरिका आएका सज्जनहरूले आफूले काम गरेर जीवन चलाएको र आर्थिक रुपमा सबल भएको देशको बारेमा केवल नकारात्मक कुरा गरेर आफ्नो कर्मदेशप्रति बेइमानी नगरौँ।उसै पनि आफ्नो जन्मभूमि छोडेर हामीले आफ्नो देशप्रति त अन्याय गरिसकेका छौँ तर म व्यक्तिगत रुपमा यो कुरा स्वीकार गर्दिनँ।

‘कुण्ड–कुण्ड पानी र मुण्डमुण्ड बुद्धि’ भनेको जस्तो पनि होला। झिंगालाई फोहर नै र मौरीलाई फूल नै मन पर्छ भनेको जस्तो।म भने अमेरिकाबाट पूर्ण रुपमा सन्तुष्ट छु।यदि कुनै दिन कुनै पनि कारणले सन्तुष्ट हुन् सकिनँ भने खुरुक्क नेपाल फर्किन्छु,यहाँ बेकारको गन्–गन् गरेर बस्दिनँ।

अन्त्यमा, जसलाई देशको माया लाग्छ,उनीहरू आफ्नै देशमा बसुन्।जसलाई विदेशमा गएर बस्ने इच्छा छ र त्यो मौका पनि पाएका छन्,उनीहरू विदेश जान्छन्। अरुको व्यक्तिगत जीवनमा यो गर्नू र यो नगर्नू भनेर उपदेश दिनु कुनै सभ्यता होइन।त्यस्तो कसैलाई पनि कुनै अधिकार छैन।

मेरो भन्नु यति मात्र हो–अनेकौँ प्रयास र तिकडम गरेर पनि अमेरिका आउन नसकेर पिल्सिरहेकाहरूले अङ्गुर अमिलो छ भने जस्तो विरोध गर्नु उचित होइन तर यसको मतलब अमेरिकामा बस्ने सबै महान र नेपालमा बस्ने सबै तल्लो स्तरका हुन् भन्ने अर्थ नलागोस्।

अमेरिकाले हामी नेपाली मूलका सबैलाई दिएको मात्र छ। हामीसँग केही लिएको छैन। हामीसँग दिने कुनै वस्तु नै छैन।यँहा सबैको जिबन स्तर नेपालमा भन्दा उच्च छ र यसरी आफूले नेपालमा भन्दा सबै कुरा बढी पाएको अवस्थामा पनि यही देशलाई गाली गर्ने मान्छे कृतघ्न हो।

-नवीन रायमाझी

प्रतिक्रिया