मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

दुर्गा लोहनी २०७९ वैशाख २४ गते १९:५६ मा प्रकाशित

अब उसलाई इन्डिया लगेर जचाउने कुरा भयो । आजभन्दा लगभग चार वर्ष अगाडि पनि नेपालको हस्पिटलमा जचाउँदा मेरो गलत रिपोर्ट आएको कारणले गर्दा हामी आत्तिएर इन्डियाको मेदान्त हस्पिटल पुगेका थियौं । आखिर उता गएपछि मलाई भिटामिन डि र भिटामिन बि १२ को कमि भएको रहेछ । त्यो घटना सम्झिँदा एक त खुशी लाग्छ, धन्न रिपोर्ट गलत रहेछ, म स्वस्थ रहेछु भनेर। अनि अर्को तर्फ दु:ख लाग्छ बिनाकारण कति तनाव र खर्च व्यहोर्नु पर्‍यो भनेर। आखिर यहाँ किन भिटामिन पनि परिक्षण गरिएन?

अहिले छोरालाई पनि सोही मेडिसिटी (मेदान्त) मा लैजाने निर्णय गरियो । फेरि नेपालीहरु प्रायः गरेर जाने हस्पिटल पनि यही नै रहेछ । त्यहाँ बस्न खानको लागि नेपालीहरुले नै खोलेका होटलहरु प्रशस्त रहेछन् । उता जाने अघिल्लो दिनमा नै होटलवालासँग म्यासेन्जरमा कुरा गरेर कोठा बुक गरियो । आफ्नो फ्लाइटको समय दिएपछि होटलबाटै एअरपोर्टमा लिन आउने रहेछन् । हस्पिटलबाट हिँडेर दुई मिनेटको दुरीमा होटल थियो ।

हामी मेदान्त हस्पिटल जानको लागि चैत्र सोह्र गते दिल्लीको फ्लाइट उड्यौं । बाबू पनि रमायो । मेरो मनमा घुम्न नपाएर नि रहेछ कि, ठिकै भयो जस्तो लाग्यो। मलाई त जसरी पनि उसलाई सन्चो बनाउनु थियो । अनि भोलिपल्ट बिहीबार बिहानै हस्पिटल गइयो । त्यहाँ उसलाई पहिला न्युरोलोजिष्ट अनि घाँटी पनि दुखिरहेकोले इ एन टि सँग पनि जचाउने कुरा भयो । अर्काको  देश,  अनि भाषा नमिले पनि हामीले राम्रो व्यवहार पायौं । हामी नेपालबाट यसरी आएको भनेपछि त्यहाँको वरिष्ठ न्यूरोलोजिष्टसँग नै जचाउन पाइयो । टाढाबाट आएको भनेपछि कतिदिन पालो पर्खनु पर्ने डाक्टरसँग पनि उही दिनमा जचाउन पाइयो ।

उहाँ डाक्टर साबले पहिला हाम्रो सबै कुरा सुनेर हिष्ट्री लेख्दै जानू भयो । कोरोना भ्याक्सिन लगाए देखिको कहानी भएकोले हामीले पनि सबैकुरा भन्दै गयौं उहाँले टिप्दै जानुभयो । अनि नेपालमा जचाएका सबै रिपोर्ट राम्रोसँग हेर्नुभयो । उसको हातका ओैंलाहरु कामेका हुनाले ढाडको माथिल्लो भागको (सर्भिकल स्पाइनको) एम आर आई गर्न भन्नुभयो । अरु त टाउकाको एम आर आई लगायत सबै टेष्ट नेपालमा नै गरिसकेको थियो । त्यसैले नेपालमा गरिएका टेष्टहरु दोहोर्‍याउनु चाहिँ परेन । त्यहाँको रिपोर्ट नआए सम्म डाक्टर साबले हाम्रो कुरा सुन्नु मात्रै भयो, आफुले केही बोल्नु भएन ।

हामीले त्यहाँ उसको घाँटीको लागि पनि इ एन टि लाई नाम लेखाएका थियौं । इ एन टि मा पनि मेदान्तको वरिष्ठ विशेषज्ञ डाक्टरसँग नै जचाउन पाइयो । टाढाबाट आएको भनेपछि सम्बन्धित डिपार्टमेन्टको वरिष्ठ विशेषज्ञ डाक्टरसँग नै जचाउन पाइने रहेछ । उसको दुखाइ घाँटीको बाहिर पट्टी भएको हुनाले डाक्टर साबले घाँटी भित्र हेर्नुको साथै घाँटी बाहिर पट्टी पनि राम्रोसँग छामेर घाँटीको “मसल स्पाजम” भएको रहेछ भन्नुभयो र खै के मिसिएको फ्लेग्जन दिनुभयो ।जुन ओैषधीको दुई मात्राले नै उसको घाँटीको दुखाइ निको भयो । हामीलाई अचम्म लाग्यो । नेपालमा हुँदा घाँटी दुखेर सुत्न नसकेर कतिपटक राति उठेर बस्थ्यो ।त्यो देख्दा कति दिक्क लाग्थ्यो ।  तर यति सानो ओैषधी, त्यो पनि चिर-परिचित ओैषधीले नै सन्चो भयो । आखिर घाँटीको लागि मात्रै इन्डिया आएको भए त फ्लेग्जन लिएर पो फर्किने रहेछौं भनेर दङ्ग परियो ।  थाहा नहुँदा सानो कुराले पनि कति दु:ख दिने रहेछ । अहिले संझँदा पनि अचम्म लाग्छ ।

क्रमश…..

दुर्गा लोहनी

प्रतिक्रिया