पिटौँ अझै ताली पिटौँ
हात दुखुन्जेल पिटौँ
हातमा ठेला उठुन्जेल पिटौं
पिटौं अझै झ्याली पिटौं
भाइरल भेलु बाजेका
छेउ न टुप्पाका गीतमा पिटौँ
प्रचण्डका धम्कीहरूमा पिटौँ
ओलीका उखान टुक्काहरूमा पिटौँ
देउवाका नबुझिने भाषण हरूमा पिटौँ
असक्षम र नालायकी पनहरूमा पिटौँ
आरजुले बजेट रोक्ने भन्दा पनि पिटौँ
विद्रोही विप्लवहरूले ठोक्ने भन्दा पनि पिटौँ
माकुनेका कर्कशे बकवासहरूमा पिटौँ
बाबुराम र यादवका भ्रमहरूमा पिटौँ
कमल थापाका रोदनहरूमा पिटौँ
हामी ताली पिट्नैका लागि जन्मिएका हौँ
हामी झुटा आश्वासन फिट्नैका लागि जन्मिएका हौँ
बोकौँ दलका झन्डा
मिल्काऊँ चन्द्र सूर्य झन्डा
पिटौँ अझै ताली पिटौँ
जिताउँ यिनकै छोरी बुहारी र आफन्तहरु
नाचौँ, हाँसौँ, गाउँ पनि
किनकि रुन बाँकी नै छ जीवन भर।
– रामप्रसाद खनाल
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया