मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

दुर्गा लोहनी २०७९ वैशाख १९ गते ०:१५ मा प्रकाशित

बि एण्ड बि का फिजिसियन डाक्टरले मेरो इन्डिया लैजाने मनसायमा सहमति जनाउनुको साथै एकपटक मनोचिकित्सकसँग पनि जचाउने कि भनेर सुझाव दिनुभयो । उहाँको त्यो सुझाव पनि ठिकै जस्तो लाग्यो।जचाउन बाँकी यही एउटा क्षेत्र थियो । एकपटक मनोरोग विशेषज्ञलाई भेट्दा समस्या समाधान भयो भने त इन्डिया पुर्‍याउनु पनि परे ।मान्छेलाई कमजोरी महशुस हुनु मनोरोग पनि त हुन सक्छ नि ! यस्तै सोचेर महाराजगन्जको एउटा नाम चलेकै हस्पिटलमा लगियो ।त्यहाँ मनोरोग विशेषज्ञसँग जचाउनको लागि नाम लेखाइयो।

छोराको बाबा सहित हामी तिनै जना हस्पिटल गएका थियौं।डाक्टर साबले “के भयो ?” भनेर सोध्नुभयो । मैले छोरालाई नै बोल्नको लागि इशारा गरें । उसले “मलाई कमजोर महशुस हुन्छ,हिँड्न गाह्रो हुन्छ ” भन्यो।जवाफमा डाक्टर साबले अल्लि अर्कै पाराले “तिमी बसेका छौ त ” भन्नुभयो । हस्पिटल धाउँदा धाउँदा तनावले थकित मेरो मनमा उहाँको त्यस्तो जवाफले चिसो पस्यो।उहाँको विचारमा कमजोरी भनेको बोकेरै हस्पिटल पुर्‍याउनु पर्ने अबस्था रहेछ जस्तो लाग्यो । उहाँले खासै हिस्ट्री सुन्न पनि चाहनुभएन।

धेरै ठाउँमा जचाएका धेरै रिपोर्ट देखे पछि एन्जाइटी,डिप्रेसन,भनिहाल्ने ,बिरामीको हिस्ट्री राम्रोसँग सुन्दै नसुन्ने, अल्लि अहमता देखाइहाल्ने किसिमका समस्या मैले धेरै ठाउँबाट भोगेको छु।उहाँबाट यस्तो व्यवहार पाउनु मेरा लागि नौलो चाहिँ होइन । तथापी, कोही कोही चाहिँ साच्चिकै भगवान जस्ता पनि भेटिन्छन् तर एकदम कमै मात्र।

अनि एकछिन बाबुलाई बाहिर पठाएर हामीसँग मात्रै कुरा गर्नुभयो।उहाँले भन्नुभयो ” तपाईंहरुले छोरालाई धेरै केयर नगर्नुस्। ” मैले भनें ” डाक्टर साब ! ऊ जीऊ गलेर स्कुल नगएको एक महिना भन्दा बढी भयो ।” जवाफमा उहाँले “तपाईंको छोरा हिँड्न नसकेर लड्यो भने पनि नउठाउनुस्।ऊ आफैं उठेर तपाईं भएको ठाउँमा आउँछ ।” (उहाँ सँगका सबै कुरा चाहिँ यहाँ भन्न चाहिन।) कति लामो समयदेखि बिरामी छोरो लिएर कतिवटा हस्पिटल धाएका हामी डाक्टर साबको कुराले मनै चिसो भयो । हामी चुप भयौं।आफ्नो बच्चा बिरामी हुँदा कसरी त्यस्तो व्यवहार गर्न सकिन्छ होला र? समस्या उहाँमा छ कि हामीमा छ थाहा पाउन सकिन।

महिना दिन भन्दा बढी भैसक्यो, कति थरि लक्षण,अनि कतिथरि ओैषधी,कतिवटा हस्पिटल धाएको हाम्रो रहर होइन,बाध्यता हो भनेर सायदै उहाँले बुझ्नुभएन। त्यसैले मलाई फेरि पनि भन्न मन लाग्छ कि मेडिकल शिक्षामा यस किसिमको शिक्षाको पनि खाँचो छ।सायद मैले जस्तो व्यवहार पटकपटक हस्पिटल धाउनु पर्ने धेरैजनाले भोगेको हुनुपर्छ।सबैजनाले त्यस्तै व्यवहार गर्छन् भन्न खोजेको चाहिँ होइन।तर मैले पटकपटक हस्पिटल धाउँदा अधिकांश ठाउँमा यस्तै व्यवहार पाएको छु भने एकाध ठाउँमा राम्रो व्यवहार पनि पाएको छु।

अनि उहाँले बाबुलाई फिजियो थेरापीको पनि खाँचो छ भन्नुभयो र केही ओैषधी पनि दिनुभयो।त्यतिबेलासम्म उसका हातहरु हल्का कामेको जस्तो हुन्थ्यो (घरिघरि मात्रै )।तर उहाँको व्यवहारले गर्दा त्यो कुरा त भन्नै बिर्सिएछौं । त्यसपछि सोही हस्पिटलमा फिजियो थेरापी सिकेर घरमै फिजियो गर्ने र एक हप्तामा फेरि आउन भन्नुभयो।जे जस्तो व्यवहार पाए पनि फिजियो थेरापी र ओैषधीले पक्कै पनि काम गर्छ भन्ने आशा लिएर घर फर्क्यौं।

अब बिहान बेलुकी फिजियो अनि ओैषधी दुबै कुरा गरियो । तर त्यस ओैषधीले उसको लक्षणमा केही कमी ल्याउन सकेन।बरु साइडइफेक्ट चाहिँ राम्रोसँग गर्‍यो।त्यो ओैषधी खाएको चौंथो दिनमा उसलाई रिँगटा समेत लाग्यो।पाँचौ दिन बिहान झनै रिँगटा लाग्यो।उसमा भएका लक्षण नघटिकन झन् अरु लक्षण समेत थपिए।अब त उसका हातहरु झन् जोडले काम्न थाले । उसलाई खाना खान समेत अप्ठ्यारो हुने गरेर।उसको हातहरु जोडले काम्थे । डाक्टरकै सल्लाहमा ओैषधी खुवाए पनि आफैंलाई जथाभावी ओैषधी खुवाइयो भने जस्तो गरेर खिन्नता लाग्यो।

एकातिर उसको यसइइ नजिकै आइसकेको थियो।ऊ परीक्षा दिन्छु भन्थ्यो।तर अवस्था भने न त तीन घण्टा बस्न सक्ने जस्तो थियो ,न त हातले लेख्न मिल्ने अवस्था थियो।हाम्रो लागि अब सोच्ने समय पनि धेरै थिएन।त्यसैले उक्त डाक्टरकोमा फेरि यस्तो भयो भन्न जान नि उचित लागेन।उहाँ डाक्टरसँग नि मैले खोपको कुरा गरेको थिएँ।तर उहाँले त झन् मेरो कुरा सुन्ने कुरै भएन।हामी आफैंले पाँच दिनदेखि त्यो ओैषधी खुवाउन बन्द गर्‍यौं।

नजिकै आएको यसइइ परीक्षाले गर्दा पनि हामिसँग अब धेरै भौंतारिने समय थिएन।डेढ महिनादेखि काठमाडौंका हस्पिटल धाउँदा पनि एकपछि अर्को थपिएका लक्षणले गर्दा अब इन्डिया नै लैजानु पर्ने बाध्यता भयो र चैत सोह्र गतेको टिकट लिइयो।

क्रमश….

दुर्गा लोहनी

 

 

प्रतिक्रिया