मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

दुर्गा लोहनी २०७९ वैशाख १५ गते २२:१० मा प्रकाशित

अब उसको समस्या पेटमा समेत थपियो ।  खान मन त यसै पनि गर्दैनथ्यो । तर अब खाना नपचेजस्तो भएर पेट ढुस्स हुन थाल्यो । यो पटक टाउको दुखाइबाट शुरु भएको उसको समस्या कमजोरी , घाँटी दुख्ने हुँदै पेटमा पनि देखियो । यसरी एकपछि अर्को समस्यासँग जुध्न हामी बाध्य भयौं । हुन त एकपछि अर्को ओैषधीको प्रयोगले ग्यास्ट्रिक बढ्नु स्वभाविकै पनि थियो । उसलाई फेरि पेटको उपचारको लागि हस्पिटल लगियो ।

हातभरि डाक्टरसँग जचाइएका फाइलहरु बोकेर हस्पिटल जाँदा,  रहर लागेरै हस्पिटल गएको जस्तो व्यवहार पाइयो । दु:ख लाग्छ उहाँहरूको मानसिकता देखेर । किन यो समस्या भयो भनेर खोजेर समाधान गर्न भन्दा पनि यो समस्या नै होइन भन्न तिर लागिन्छ । त्यसैले त यहाँ कतिपय रोगहरु बेलैमा पत्ता लगाउन सकिँदैन ।  बिरामीको कुरा कमै मात्रै सुनिन्छ । तै पनि डाक्टर साबले दिएको ओैधषी लिएर घर फर्क्यौं ।

मलाई स्मरण भएसम्म चैतको शुरुको सोमबार (चैत ७ गते रहेछ) उसलाई निकै नै हल्का भयो । अब त आइतबारबाट स्कुल जान सक्छु होला भन्न थाल्यो । त्यतिखेर म लगायत मेरा दिदीहरु , अनि आमाले पनि उसको लागि मन्दिर गएर पूजाआजा गर्नुभएको थियो । भगवानले हाम्रो पुकार सुनिदिनु भएछ जस्तो लाग्यो । साँच्चिकै जति नै दु: ख कष्ट पाएपनि भगवानले साथ दिनुहुँदो रहेछ जस्तो भयो । म मा हराएको खुशी फेरि फर्किएर आयो वैशाखमा पालुवा पलाए जसरी ! भगवानलाई मनमनै धन्यवाद दिइरहें । तर त्यो खुशी धेरै दिन टिक्न सकेन । सोही हप्ताको शुक्रबारबाट उसलाई फेरि उठ्न नसक्ने गरेर कमजोरी महशुस भयो । म भित्रको खुशीको पालुवा टुसाउन नपाउँदै फेरि  भाँचियो। आखिर किन बारम्बार यस्तो हुन्छ , थाहा छैन !

अब त कुन हस्पिटल लैजाने ,अनि के सम्बन्धि लैजाने?  जचाउन लैजाने ठाउँ र हस्पिटल पनि लगभग सकिइसकेका थिए । जहाँ लगेपनि कुनै ओैषधीले काम गरेको थिएन । अब त सबै बाटाहरु बन्द भएजस्तो लाग्यो । तैपनि फेरि एकपटक फिजिसियनलाई देखाउने कि भनेर बि एण्ड बि लैजाने कुरा भयो । त्यहाँ एकजना वरिष्ठ फिजिसियन हुनुहुन्छ जसले धेरै नै राम्रा सल्लाह अनि सुझाव दिनुहुन्छ । उहाँले मलाई धेरै पटक धेरै राम्रा सुझाव दिनुभएको छ । उहाँ डाक्टर साब अधिकांश डाक्टर भन्दा धेरै नै फरक लाग्छ मलाई । बिरामीको पुरै कुरा सुन्ने  धैर्यता र क्षमता छ उहाँसँग । हामीलाई उहाँ जस्तै कुरा सुनेर सहि सल्लाह दिने डाक्टरको खाँचो थियो । त्यसैले फेरि एकपटक बि एण्ड बि नै लगियो ।

उहाँले खोप लगाएदेखिको आजसम्म भएका लक्षण सबै सुन्नुभयो र सबै रिपोर्टहरु एकएक गरेर हेर्नु भयो पनि । अनि “आजसम्म यस्तो केश मैले देखेको छैन । तर खोपको असर हुन पनि सक्छ । किनकि यसको बारेमा त अध्यायन हुनै बाँकी छ” भन्नुभयो । मलाई पहिल्यै देखि खोप प्रति विश्वास नभएकोले पनि होला उहाँको कुरा मन पर्‍यो । यहाँको हस्पिटल धाउँदा धाउँदा हार खाइसकेको मैले एकपटक इन्डिया लैजाने मनसाय व्यक्त गरें ।  उहाँले ” हुन्छ , लाने भए लैजानुस् । उता के भन्छ मलाई नि खबर गर्नुस् है” भन्नुभयो ।

क्रमश…..

दुर्गा लोहनी

 

प्रतिक्रिया