आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…

इनेप्लिज २०७९ वैशाख १५ गते १:१२ मा प्रकाशित

पात्र नं.१: दशरथ चौधरी,भारत गुजरातको कुनै गाउँको बासिन्दा।करिब १५ वर्षअघि ३५ वर्षको उमेरमा हिँड्दै अमेरिका आएका व्याक्ति हुन्।उनको देखाउने काम एउटा पसल छ।र,भित्री काम भनेको सस्तो मुल्यमा पाउने राज्यबाट महङ्गो मुल्य पर्ने राज्यमा चुराेटकाे तस्करी गर्नु हाे।

अमेरिकाको कानुनमा यस्तो कार्यलाई जघन्य अपराध मानिन्छ।याे कार्य गर्नेलाई जन्म कैद वा देश निकालासम्मकाे कारबाही पनि हुन सक्छ। उदाहरण स्वरूप जर्जिया राज्यमा ६ डलर पर्ने चुरोट न्युयोर्क र मासचुसेटमा १५ डलर र क्यालिफोर्नियामा २० डलरसम्म पर्छ।आफूले प्रयोग गर्न एक व्याक्तिले एक पटकमा पाँच कार्टुन अर्थात् ५० बट्टासम्म सामानमा राखेर लैजान पाउने सुविधाको दुरुपयोग गर्दै उनले यसलाई आफ्नो व्यवसाय बनाएर पैसा कमाएका छन्।जुन दिनसम्म उनी पक्राउ पर्दैनन् त्याे दिनसम्म याे काम गरिरहने छन्।उनले यस्तो गैरकानूनी काम गरेर कमाएको पैसाको धेरै अंश वेश्यावृतिमा खर्च गर्छन्।

पात्र नं.२: गुरप्रीत सिंह,भारत हरियाणास्थित कुरुक्षेत्रको कुनै गाउँको बासिन्दा हुन्।पाँच वर्षअघि १८ वर्षको उमेरमा चौधरी जस्तै हिँड्दै अमेरिका आएका व्याक्ति हुन्।उनलाई जसरी भए पनि अमेरिकाकाे कुनै युवतीसँग विवाह गरेर बैधानिक कागजपत्र बनाउनु छ।र,शरीरको जैविक आवश्यकतालाई पनि पूरा गर्नु छ। त्यसैको लागि आफ्नो कमाईको लगभग ८० प्रतिशत खर्च गर्ने उनको स्वार्थ पूरा भएको छैन। र, हुने छाँट पनि छैन। यसको कारण उनीसँग सम्पर्कमा आउने यहाँका युवती गरीब, घरबार विहिन (होमलेस)हरु हुन्।

उनीहरु कुनै विषयमा पनि गम्भीर हुँदैनन्।ति महिलाहरू भाेलि के गर्छन्,कसैलाई थाहा हुँदैन।जो आफ्नो जीवनप्रति गम्भीर छन्,त्यस्ताले सिंह जस्तो हैसियत भएको मान्छे र त्यो पनि एसियन मुलकाहरूलाई विश्वास गर्दैनन्।त्यस्ता मान्छेहरूसँग सम्पर्क पनि हुँदैनन्।पंक्तिकारकाे विचारमा सिंहकाे महिलासँग विवाह गरेर कागज बनाउने लक्ष्य पूरा हाेलाजस्ताे लाग्दैन।याे अभियानमा उनकाे केवल समय र पैसाकाे मात्रै बर्वादी भइरहेकाे छ।

अमेरिकामा कानूनी रुपमा वेश्यावृति हुँदैन तर सोसलाइजेसन,फ्रेण्डसिप जस्ता नाममा याैन किनबेच हुन्छ। प्रहरीले यस्ता मान्छेहरूलाई पक्राउ गर्न कर्मचारीहरू पनि खटाएको हुन्छ।जसलाई ‘अण्डर कभर’ भनिन्छ।कुनै कारणले यस्ता ‘अण्डर कभर’हरुको फन्दामा पर्‍याे भने सजाय भाेग्नुपर्छ।

यहाँ भारतीय पात्रलाई उल्लेख गर्नुको एक मात्र कारण पंक्तिकारले आफूलाई शत्रु बढ्लान भन्ने डर मात्र हाे। होइन,भने यस्ता नेपाली पात्रहरु पनि टन्नै भेटिन्छन्। श्रीमतीलाई नेपालमै छोडेर यता बस्न बाध्य धेरै जस्तो नेपालीहरुको कमाईको अधिकांश भाग यस्तै यौन खरिदमै खर्च भइरहेको छ।शरीरको जैविक आवश्यकता पूरा गर्न आफूले अन्य महिलाहरुसँग सम्बन्ध राखे पनि उसले आफ्नो श्रीमतीले भने कसैसँग बोल्ने काम पनि नगरोस् भन्ने चाहन्छ।यसलाई भने बिडम्बना नै मान्नु पर्छ।

समाजशास्त्रीहरूका अनुसार प्रत्येक महिला र पुरुषलाई शारीरिक आवश्यकता पूरा गर्न अनुचित कार्य गर्नु नपरोस् भनेर विवाह नामको संस्थाको सुरुवात भएको हो।विवाहलाई संसारको कुनै पनि धर्म,जात र देशमा हर्षको विषय मानिन्छ अर्थात् विवाहले पुरुष र महिलाको मानसिक र शारीरिक सम्बन्धलाई समाजले स्वीकार्छ।केही अपवादलाई छोड्ने हो भने श्रीमान र श्रीमती भनेको सँगै रहनुपर्छ।जो लामो समयसम्म सँगै बस्दैनन् वा विभिन्न कारणले बस्न असमर्थ छन्। उनीहरुलाई कसरी श्रीमान/श्रीमती भन्न सकिन्छ ? यो निकै कठिन विषय हाे।

यसरी लामो समयसम्म एक्लै रहँदा आफ्नो जैविक आवश्यकता पैसा खर्च गरेर अरु महिलाहरुसँग सम्बन्ध राख्ने तर आफ्नी श्रीमतीको चाहना के छ भनेर नबुझ्नु वा बुझ्न नसक्नुलाई के भन्न सकिन्छ र ? किनकी यौन पुरुषको लागि मात्र होइन।यसको आवश्यकता महिलाहरुलाई पनि हुन्छ।पुरूषले त्यो काम गर्दा राम्रो तर महिलाले त्यस्तै कम गर्‍याे भने चरीत्रहीन भन्ने दोहरो मापदण्ड कहिले सम्म ?

-नवीन रायमाझी

प्रतिक्रिया