आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:४९
वासिङटन डिसी 01:04

अमेरिकामा नेपालीहरुको अबस्था: न हाँसको चाल न बकुल्लाको चाल

नवीन रायमाझी २०७९ वैशाख १२ गते २१:५८ मा प्रकाशित

पर्याप्त र आबश्यक जानकारीको अभाव र सिक्न इच्छाशक्ति नहुँदा अमेरिका बस्ने अधिकांश नेपालीको अवस्था ‘न हाँसको चाल न बकुल्लाको चाल’ भनेजस्तो छ।

प्रस्तुत आलेखले उच्च शिक्षा लिएर ‘हाई पेड जब’ गर्ने थोरैको सङ्ख्यामा रहेका नेपालीको प्रतिनिधित्व गर्दैन किनकी त्यस्ता व्यक्ति र समुदायसँग पंक्तिकारको सम्बन्ध र पहुँच छैन। बरु अमेरिकी सरकारले तोकेको न्यूनतम वा त्योभन्दा कम ज्यालामा काम गर्ने अर्थात् चलनचल्तीको भाषामा ‘घण्टा हान्ने’ हरुको मात्र प्रतिनिधित्व गर्छ।

मैले आजसम्म त्यस्ता उच्च शिक्षित व्यक्तिहरुले ‘म फलानो सम्पर्क समितिको सचिव’ वा ‘ढिस्कानो सम्पर्क मञ्चको अध्यक्ष हुँ’ भनेर आफ्नो परिचय दिएको, सुनेको वा भेटेको छैन। त्यस्ता पद्वीधारीहरु सबै ट्याक्सी ड्राइभर, ‘डिस वासर’ वा त्यस्तै कुनै काम गर्नेहरु छन्।

‘अमेरिकामा सबै काम बराबर हो। काम भनेको ठूलो वा सानो हुँदैन भनेर (कु)तर्क दिनेहरु यस्तै वर्गका हुन् जो सर्वथा गलत छ। यदि काम सानो वा ठूलो नहुने हो भने एउटा कार्यालयमा कोही हाकिम र कोही कारिन्दा किन हुन्थे ?

यदि कसैले आफ्नो नाबालक बच्चा (विशेष गरेर छोरा) लाई देखाएर ‘यो राष्ट्रपति हुने हो’ भनेर देखायो भने त्यो बच्चा अमेरिकामै जन्मेको रहेछ भनेर बुझ्न सकिन्छ। अब अमेरिकामा जन्मिएका हरेक बालबालिका भविष्यमा गएर राष्ट्रपति बन्ने कुरा हुने भएन। यसको अर्थ ‘यो यतै जन्मिएको हो’ भनेर प्रचार गर्नुभन्दा अरु के हुन सक्छ?

जो जहाँ जन्मिए पनि कुनै खास महत्व राख्लाजस्तो पंक्तिकारको सानो मस्तिष्कले बुझ्न सकेको छैन। जसका बच्चाहरु यतै जन्मिएका होइनन् तर सानैमा यता आएका हुन, त्यस्ता बच्चाका अभिभावकहरुले पनि आफ्नो सन्तान देखाएर ‘यो त यतै जन्मिएको जस्तै हो’ भनेर प्रचार गरिरहेका हुन्छन्। शायद यता जन्मिएका बालबालिका नेपालमा जन्मिएको भन्दा विशेष हुने हो? त्‍यो मैले बुझेको छैन।

जो जहाँ जन्मिए पनि कुनै खास महत्व राख्लाजस्तो पंक्तिकारको सानो मस्तिष्कले बुझ्न सकेको छैन।

यस्तै, कसैले म त अब अमेरिकन भइसकेँ भन्यो भने ‘म अब नेपालतिरका नातागोता वा साथीभाइ वास्ता गर्दिनँ’ वा ‘मैले अमेरिका आउँदा लिएको ऋण तिर्दिनँ’ भनेको बुझ्न सकिन्छ।

अर्काथरिलाई ‘फेसबुक’ जस्ता सामाजिक सञ्जालमा अपलोड हुने हरेक फोटोमा भिन्दाभन्दै लुगा देखिएन वा कुनै लुगा दोहोरियो भने बढो बेइज्जत अनुभव हुन्छ। ‘वालमार्ट’ जस्तो सुपथ मूल्यको पसलमा नभई ‘मेसिज’ र ‘जे सी पेन्नी’ जस्ता पसलमा मात्र लुगा किन्न रुचाउने त्यस्ता व्यक्तिहरु कुनै उत्सव वा समारोहमा त्यो लुगा लगाएर आफ्नो काम सक्छन्। अनि उक्त लुगा पसलमै फर्काउने गर्छन्। यदि यो कुरा कसैलाई पंक्तिकारले झूटो लेखेको लाग्छ भने मेरो सम्बन्ध भएका करिब १५ जना जतिले यस्तो काम गरेको प्रमाण दिन तयार छु।

त्यस्तै, दिनभरि भारतीय वा पाकिस्तानी मूलका व्यापारीहरुको पसलमा काम गर्ने र कुनै काम बिगार्दा साहुले गरेको ‘आमा चकारी गाली’ को तुष बेलुका डेरा फर्केर नेपालका नाता–सम्बन्धीहरुलाई फोन गरेर ‘धोतीलाई थर्काएँ’ भनेर गफ लडाउनेहरु हुन्छन्। यही वर्गकाहरुलाई हो– विभिन्न सम्पर्क समिति र प्रवासी मञ्च, फलानो र ढिस्कानो समाज भनेर दौडधूप गर्नुपर्ने।

मैले नबुझेको कुरा के भने नेपालबाट यति टाढा आएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेल वा केपी ओली र माधव नेपाल भनेर घाँटी सुक्ने गरी कराउनुको के अर्थ छ ?

अर्कोतर्फ नेपाल बसेर अमेरिकामा मेरो मामाको छोरा फलानो सम्पर्क समितिको सचिव वा फुपूको छोरा ढिस्कानो प्रवासी मञ्चको उपाध्यक्ष छ भनेर खुशी हुनेहरुले यस्ता संघ वा मञ्चको औकात दुई पैसाको पनि छैन वा हुँदैन भनेर बुझ्न जरुरी छ। यस्ता सबै पदहरु आफूले गरेको निम्न स्तरको कामलाई छोप्ने बहाना मात्र हो।

मैले नबुझेको कुरा के भने नेपालबाट यति टाढा आएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेल वा केपी ओली र माधव नेपाल भनेर घाँटी सुक्ने गरी कराउनुको के अर्थ छ ?

यस्तै ‘अमेरिकी दूतावासमा मेरो सेटिङ्ग छ, पैसा खर्च गरे भने भिसा पाइन्छ’ भनेर गफ दिने र ठगेर बिचल्ली पार्नेहरु सबै ठग हुन्। त्योभन्दा तीन गुणा बढी ‘पट मूर्ख’ त्यस्ता हावादारी कुरामा विश्वास गरेर ठगिने हुन्। जानी जानी खुकुरीको धारमा टेकेपछि ‘काट्यो, घाउ लाग्यो’ भनेर रुनु कराउनुको कुनै औचित्य छैन। यस्तो कुरालाई मान्छे आफैँ जागरुक नहुने हो भने कुनै सरकारले पनि केही गर्न सक्दैन। यस्ता मूर्ख र अरुले भनेको राम्रो कुरा नसुन्नेहरु बिचल्लीमा नपरे अरु को पर्छ?

पहिरनले नै मात्र आफू आधुनिक भइन्छ भन्ने अन्धविश्वास भएकाहरुको संख्याहरु पनि बाक्लै छ– अमेरिका आएका नेपालीमा। बजारमा बेच्न राखिएको सबै पोशाक सबैका लागि होइन। यसको सामान्य ज्ञान नभएकाहरुले नेपालबाट लगाएर आएको गुन्यु चोलो फालेर मिनी स्कर्ट लगाउँछन्। अनि कति भद्दा देखिएको हुन्छ भन्ने ख्याल नगरेर समाजमा हास्यको पात्र बन्नु पर्ने थिएन। आफ्नो ज्ञान र सीपलाई फराकिलो पार्न नचाहने तर देखावटीमा मात्र विश्वास गर्दा त्यस्तै हुन्छ।

त्यस्तै, नेपालमा एसएलसीमा पाँच पटक फेल भएर बडो मुस्किलले कलेजको आगनसम्म टेकेकाहरुले अमेरिकामा पढाइ कति हो भनेर सोध्नु हुँदैन भन्छन्। जब कुनै योग्यता नै छैन भने कसरी सोध्ने र कसरी भन्ने? अमेरिकीहरुले एकआपसमा तपाईं कुन विश्वविद्यालयमा अध्यन गरेको भनेर सोधेको पंक्तिकारले सुनेको छ।

जब कुनै योग्यता नै छैन भने कसरी सोध्ने र कसरी भन्ने?

आफू वा कुनै आफन्त आउँदा प्रेसरकुकर र राइस कुकर बोकेर आउनेहरु अर्का अजीव प्राणी हुन्। पैसा भयो भने नूनदेखि सुनसम्म जहाँको जस्तो सामान पनि किन्न पाइने यो देशमा त्यस्ता सामान बोकेर आउनु भनेको कि सूचना को अभाव हो कि त महँगो हुन्छ भन्ने लोभ। यदि कसैलाई त्यस्ता सामान नेपालमा भन्दा यता महँगो हुन्छ भन्ने डर छ भने त्यो सर्वथा गलत हो। लगभग सबै सामान यतै सस्तो पर्छ।

प्रस्तुत आलेखले कसैलाई आफैँलाई भनेजस्तो लाग्छ भने यसलाई केवल संयोग मात्र हो भनेर बुझ्नुपर्ला जस्तो लाग्छ। मेरो योभन्दा पहिलेको आलेखमा कुल गाई, अमेरिकन बाबु, नेपाली कान्छा जस्ता मन गढ्न्ते नामबाट अश्लील प्रतिक्रिया प्राप्त भए। त्यसबाट मैले आफूलाई सफल भएको सम्झेको छु। यो सबै ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा लुकाएको जस्तो वा कायरता मात्र हो। प्रबुद्ध पाठकबाट उचित प्रतिक्रिया र सुझावको सधैँ अपेक्षा छ तर ‘पाँडे गाली’ सँग मेरो कुनै सरोकार छैन।

 

प्रतिक्रिया