विराटनगर,११ वैशाख।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ११ गते जनताको बलिदानीपूर्ण संघर्षमार्फत लोकतन्त्र प्राप्त भएको ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र,जनाधिकार,न्याय,समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु उल्लेख गर्नु भएको छ।
मुख्यमन्त्री राईले आज एक शभकामना सन्देश जारी गर्दै जीवनभर लोकतान्त्रिक मूल्य,मान्यता,आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका लोकतन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ।
वि.सं २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनले सफलता प्राप्त गरेको आजको दिनलाई लोकतन्त्र दिवसका रूपमा स्मरण गर्ने गरिएको छ उहाँले उल्लेख गर्नु भएको छ।
मुख्यमन्त्री राईले वि.सं २०६२ चैतमा सुरु भएको जनआन्दोलन चुलिँदै गएपछि १९ औं दिन नेपाली जनताको जित भएको स्मरण गर्दै १९ दिने जनआन्दोलनको बलमा नै संसद पुनस्र्थापना भएर शान्ति प्रक्रिया सुरु भई संविधान सभाको निर्वाचन सम्पन्न भयो सन्देशमा भन्नु भएको छ।
उहाँले यससँगै मुलुकको राजनीतिक ढाँचा र स्वरुप बदलिएर नेपाल अहिले ‘सङ्घीय गणतन्त्र नेपाल’ भएको छ बताउनु भएको छ।
नेपालमा युगान्तकारी परिवर्तनका लागि धेरैले आफूलाई संघर्षमा समाहित गरेका छन् सन्देशमा उल्लेख गर्दै मुख्यमन्त्री राईले राणा शासनविरुद्धको आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन,राजतन्त्र अन्त्यका लागि गरिएको गणतान्त्रिक आन्दोलन,जनयुद्ध,मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा हजारौं नेपाली जनताले ज्यान गुमाएका छन्,सहादत प्राप्त गरेका छन्।
ती महान सहिदहरूको त्याग र बलिदानको परिणामस्वरुप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, सङ्घीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको छ उहाँले भन्नु भयो।
मुख्यमन्त्री राईले आजको महत्वपूर्ण घडीमा लोकतन्त्रलाई थप दरिलो,जनमुखी एव समावेशी गराउन र सहिदका सपनाहरू पूरा गर्नका साथै बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढौं भन्नु भएको छ।
मन वचन,कर्मले इमान्दारिताका साथ लागी परौं भन्ने आह्वान गर्दै उहाँले लोकतन्त्र दिवस–२०७९ का अवसरमा फेरि प्रदेश नं.१ सहित देश,विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनी सबैमा शुभकामना व्यक्त गर्दै सबैको सुख,शान्ति,सुस्वास्थ्य,दीर्घायु र प्रगतिको कामना उहाँले व्यक्त्त गर्नु भएको छ।
प्रतिक्रिया