मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

दुर्गा लोहनी २०७९ वैशाख ७ गते २१:१४ मा प्रकाशित

 

दिन सबै उस्तै कहाँ हुने रहेछ र..? माघ मसान्तको दिन, दिउँसो तिर उसलाई हल्का टाउको दुख्यो । त्यो दुखाइ बढ्दै गएर बेलुकीतिर एकदमै छट्पटी भयो । अनि उसलाई सिटामोल खान दिइयो।तर एक डेढघण्टा हुँदा सम्म पनि उसको दुखाइ कम भएन।ऊ सुत्न नसकेर छट्पटी रह्यो।हामी आफैंले फेरि अर्को मात्रा सिटामोल खान दियौं।अनि त्यसको आधाघण्टा जति पछि बल्ल दुखाइ कम भयो र ऊ सुत्यो।त्यतिबेलासम्म रातको एधार बजेको थियो होला । भोलिपल्ट त टाउको सन्चो हुन्छ भन्ने आशामा थियौं।तर त्यो आशा निराशामा परिणत भयो । किनकि बिहान उठ्दा पनि उसलाई टाउको दुखिरहेको थियो।

अब उसलाई अस्पताल लैजाने तयारी गरियो।काठमाडौंको मेडिसिटीमा न्युरोलोजिस्टसँग जचाउनको लागि नाम लेखाइयो यो पटकको अस्पतालको यात्रा शुरु भयो यहि मेडिसिटीबाटअपरान्ह तिर हस्पिटल लगियो।डाक्टर साबले उसलाई सबै हेर्नु भयो र एकदुई दिन “पेनकिलर” खाएर हेर्ने अनि भएन भने एम आर आइ गरेर हेर्ने भन्नुभयो।त्यसपछि हामी पेनकिलरको नाम लिएर आयौं र डा. ले भने अनुसार दिनको तिनपटक खुवायौं।तर उसको टाउको दुखाइ बिसको उन्नाइस पनि भएको थिएन।फेरि तेस्रो दिनमा सोही हस्पिटल पुग्यौं र एम आर आइ गरियो।

भोलिपल्ट रिपोर्टको लागि हस्पिटल गइयो। रिपोर्ट सबै नर्मल आयो।अनि डा. ले माइग्रेनको शंका गरेर ओैषधी दिनुभयो।यति सानो उमेरमा मन नलागे पनि हामीले उसलाई माइग्रेनको ओैषधी चलाउन बाध्य भयौं । तर अफसोच!त्यो ओैषधीले दुखाइमा कुनै असर गरेन , केबल लठ्ठीने मात्रै भयो । अब त निरन्तर टाउको दुखेको हप्ता दिन हुन लागेको थियो।न त कुनै पेनकिलरले दुखाइ कम हुन्थ्यो,न त माइग्रेनको ओैषधीले काम गर्‍य‍ो।अब त अत्यास लाग्न थाल्यो । हामी फेरि सोही डाक्टरकोमा मेडिसिटी गयौं । उहाँले ओैषधी फेरिदिनु भयो । फेरि पनि आशाका केही त्यान्द्रा बोकेर हामी घर फर्क्यौं र उक्त ओैषधी खुवाउन थाल्यौं ।त्यो ओैषधीले लठ्याउने काम त गरेन तर दुखाइमा पनि कुनै असर पारेन । अब त ऊ पनि दुखाइको लागि पेनकिलर नखाने भइसकेको थियो।

त्यो ओैषधीले पनि काम नगरेपछि फेरि हामी मेडिसिटी नै गयौं।डाक्टर साब पनि कुनै पनि ओैषधीले काम नगरेको देख्दा जिल्ल पर्नु भयो।अनि उहाँले अझै एकदुई दिन यही ओैषधी खुवाएर हेर्ने भएन भने मेनेन्जाइटिस टेष्ट गर्ने कि,भन्नू भयो । मलाई पहिल्यै देखि खोपमा विश्वास नभएकोले “कतै खोपको कारणले त होइन ?” भनेर सोधेँ।तर उहाँले “यति लामो समय सम्म त होइन ” भन्नुभयो।”बरु आँखाको प्रेसरले दिमागमा पो असर गर्‍यो कि?” एकपटक आँखाको प्रेसर हेरेर , हो रहेछ भने तुरुन्तै आउन सुझाब दिनुभयो।

चौबीसै घण्टा छोराको टाउको दुखाइमा आफ्नो मन कति दुख्यो अनि कति पोल्यो भन्ने कुरा त म शब्दमा व्यक्त गर्न सक्दिन । बरु आफु बिरामी हुँदा सहन सजिलो हुने तर बच्चा बिरामी हुँदाको पीडा सहन गाह्रो भएको थियो । जति गाह्रो भएपनि सहनै पर्ने बाध्यता हुनेरहेछ।

हामी फेरि आँखाको प्रेसर हेर्नको लागि आँखा हस्पिटल तिर लागियो । पहिला देखि नै ऊ चस्मा लगाउने भएको हुनाले चस्माको पावर फेरिएको रहेछ । तर आँखाको प्रेसर चाहिँ ठिकै रहेछ।आँखाको डा. ले उसको टाउको दुखाई आँखाको कारणले नभैकन अरु नै कारणले होला भन्नू भयो । हामी भने चस्माको पावर फेरिएकोले अब पावर मिलेपछि टाउको दुख्न कम होला भनेर फेरि पनि झिनो आशा लिएर घर फर्क्यौं।किनकि आशाको सानो त्यान्द्रोमा नै सायद बाँच्ने हौसला मिल्दछ । यतिबेला सम्म त निरन्तर रुपमा टाउको दुखेको पनि दस/ बाह्र दिन भैसकेको थियो । यो बिचमा हस्पिटल गएको दिन मात्रै छ/सात दिन पुगिसकेको थियो।

क्रमश …….

दुर्गा लोहनी

प्रतिक्रिया