मुख्यमन्त्री राई –नयाँवर्ष शुभकामना

इनेप्लिज २०७९ वैशाख १ गते ९:५० मा प्रकाशित

विराटनगर,१ वैशाख।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँवर्ष २०७९ सालको सुखद अवसरमा प्रदेश सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।

मुख्यमन्त्री राईले आज दिनु भएको सन्देशमा सम्पूर्ण सबैको सुख, शान्ति,सुस्वास्थ्य,दीर्घायु र प्रगतिको कामना गर्दै नयाँवर्ष थप सुखद र उपलब्धीमूलक बन्न सकोस्कामना गर्नु भएको छ।

सन्देशमा उहाँले नयाँवर्ष २०७९, मुलुकमा सङ्घय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि हो र यस वर्षको सुरुवाती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्नु भएकोछ।

मुख्यमन्त्री राईले यो वर्ष प्रदेश र सङ्घीय संसदको कार्यकाल समाप्त हुने वर्ष पनि हो भन्दै आवधिक रूपमा जनताको अभिमत संकलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ उल्लेख गर्नु भएको छ।

उहाँले निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुका साथै यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।

मुख्यमन्त्री राईले सन्देशमा हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतित भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धीमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौं उल्लेख गर्नुभएको छ।

उहाँले प्रदेशको नामकरण गर्न थाती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको छु भन्दै प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग,समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेशको नामकरण यसै वर्षमा टुंगिने विश्वास पनि व्यक्त गर्नु भएको छ।

एउटा विशिष्ट परिस्थितिमा हामी सरकार सञ्चालन गर्न आइपुगेको सर्वविदितै छ भन्दै उहाँले विगतमा शान्ति, स्थिरता, सुशासनका लागि दिइएको जनमत खण्डित हुँदा एक अलग परिस्थितिमा हामी सरकार सञ्चालन गर्न आइपुगेका हौं भन्नु भएको छ।

मुख्यमन्त्री राईले हाम्रा लागि २०७८ साल कोरोना महामारी र त्यसको सब्क्रमणका कारणले केही सुखद हुन सकेन सन्देशमा उल्लेख गर्दै हाम्रा साधन स्रोतलाई कोरोना संक्रमण रोकथाम र व्यवस्थापनमा केन्द्रित गर्दा नियमित काम कारवाही केही हदसम्म प्रभावित भए जनाउनु भएको छ। उहाँले यद्यपि सीमित साधन स्रोतका बाबजुद पनि हामी जनताको अपेक्षा पूरा गर्न प्रयासरत छौं भन्दै आर्थिक, सामाजिक रुपान्तरण सहित जनअपेक्षा पूरा गर्न हामी निरन्तर अघि बढ्ने कुराको विश्वास पनि दिलाउन चाहन्छु सन्देशमा उल्लेख गर्नु भएको छ।

अन्त्यमा,नयाँवर्ष २०७९ ले नयाँ आशा, उमङ्ग र उत्साह भर्न सकोस् र यो वर्षले सुदृढ राष्ट्रिय एकता,विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना उहाँले व्यक्तगर्नु भएको छ।

प्रतिक्रिया