नयाँ वर्षको स्वागत गरौं

-मित्र ‘उराठी’ गौतम २०७८ चैत ३० गते ११:१८ मा प्रकाशित

जननी प्रशव पीडामा छिन्

एउटा शिशुले जन्म लिंदै छ

आऊ साथी

स्वागतको लागि तयारी गरौं  ।

नयाँ वर्षको स्वागत गरौं ।।

 

कैयौं कंशहरु यहाँ

शिशु पछार्ने दाउ हेरीरहेछन्

कति नरभक्षीहरु

गर्भपतनको तयारी गर्दैछन्

कैयौं पुतनाहरु

जातिय,धार्मिक र साम्प्रदायीकतायुक्त

विषालु स्तनपान गराउन

आतुर देखिन्छन् ।

 

त्यसैले

आसुरी प्रवृत्तिलाई

चेतनाको ज्वालाले जलाउँदै

आपसी सहयोग, सद्भाव र मानवताका

फूल उनेर

नयाँ शिशुको स्वागत गरौं ।

नयाँ वर्षको स्वागत गरौं ।।

 

यदि

फेरि पनि

पुरानै संस्कार र प्रवृत्ति

रहिरहन्छ भने

विकृति र विसङ्गतीहरुको

हैकम चल्छ भने

शान्ति, सद्भाव र मानवता

घुम्टो भित्र लुकिरहन्छ भने

बरु

गर्भपतन सहन्छिन् जननी

तर

राक्षसी राज्यमा

सन्तती जन्माउने छैनन् ।

 

तसर्थ

आऊ सबै जुटेर

नौलो बिहानीको स्वागत गरौं

सुन्दर संसारको कामना गरौं

सत्कर्म र सुमार्ग अँगाल्दै

सत्यम् शिवम्   सुन्दरमको प्रण गरौं

नयाँ शिशुको स्वागत गरौं ।

साँच्चै नयाँ वर्षको स्वागत गरौं ।।

—अस्तु—

-मित्र उराठी गौतम

[email protected]

अमरपुर , गुल्मी हालः तिलोत्तमा न पा -२, रुपन्देही

 

प्रतिक्रिया