विराटनगर,२३ चैत।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दल बीच तालमेल औचित्य र आवश्यक्ताका आधारमा हुने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकां कन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझाव अनुसार तालमेल हुने स्पष्ट पार्नु भयो।
नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र नेकां केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताउनु भयो।
उहाँले पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार छनौट गर्न भएको सहमति सुन्दर पक्ष हो भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गर्नु भयो।
एक प्रश्नको जवाफमा नेता कोइरालाले नेवि सङ्घ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी सभापतिको अधिकार भएको हो र त्यसमा कुनै विरोध नरहेको बताउनु भयो।
मुलुकको अर्थतन्त्र जोगाउन विलासिताको सामान लगायत सुपारी,मरिच,मटर र छोक्डाको आयात बन्द गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।
प्रतिक्रिया