कमरेड !
हिजो मैले तपाईँले उद्घाटन गरेको भ्यु टावर चढेँ
टा…ढासम्म देख्न मिल्ने दूरवीन लिएर
तपाईँका समृद्धिका सक्कल प्रतिहरु हेर्न
यसो उक्लेको के थिएँ…
पहिलो सिढीमै ह्वास्स…भ्रष्टाचार गन्हायो
मलाई असह्य बनायो
के हेर्नु कमरेड ! भ्यु टावरबाट?
उफ् ! उफ् ! उफ् !
————————————-
म टावरको सिढी उक्लिदै थिएँ
तल क्षितिजमा धन बहादुरकी श्रीमती
सिटामोल नपाएर मृत्युसंग लड्दै थिई
बुद्धि बहादुरको छोरो पसिनासंग रियाल साट्न
हतारमा कतार हिड्दै थियो
दान बहादुरको छोरो चोकमा भीख माग्दै थियो
समृद्धिकी छोरी मुम्बईमा बेचिएकी थिई
बल बहादुर चौतारोमा भोकसंग लड्दै थियो
अनि मलाई उदेक लाग्योः
कमरेड ! के हेर्नु भ्यु टावरबाट ?
उफ् ! उफ् ! उफ् !
—————————————————
मन नलागी नलागी अझ माथि उक्लेर हेरेँः
छर्रा शरीरमा च्याँपेर सुस्ताएका पूर्व छापामार
गह्रा बाँझो राखेर परदेशिएका राज कुमार
भत्केको स्कूल, मक्किएको गुम्बा
बमले उडेको मन्दिर
अनि सिउँदो पुछिएका मन्दिरा भाउजुहरु
गरीबीले ग्रस्त दिल बहादुरहरु
अभावले ग्रस्त धन कुमारीहरु
अनि आश्वाशनमा बाँचिरहेका विश्वाशहरु
के हेर्नु कमरेड ! भ्यु टावरबाट ?
उफ् ! उफ् ! उफ् !
———————————————————
कमरेड !
मैले अझ मा..थि उक्लेर हेरेँ
भ्यु टावरको नाकै मुन्तिरको धुलाम्य बाटो
सुन्दरी भाउजुले ब्यारेक हान्दा कञ्चटमा बनेको टाटो
बारूदले मक्किएको जर्जर माटो
सुन बहादुर दाइले खाएको नुनसंगको आटो
आश बहादुरको जल्न नपाएको लाश
अभावको राश, सनातनको नाश
तर त्यसैमाथि तपाईँको विचारको दास
के हेर्नु कमरेड ! भ्यु टावरबाट ?
उफ् ! उफ् ! उफ् !
कमरेड !
तपाईँलाई भ्यु टावरको भूत चढेको होला
तपाईँको दलको घोषणापत्रमा अचेल
अघोषित भ्यू टावर थपिएको होला
सहिदका स्मृतिदेखि समृद्धिका गफ चुट्न
तपाईँको मानसपटलमा नयाँ मुद्धा ठडिएको होला
तर मलाई थाहा छः
तपाईँको भ्यु टावरले कसैको भोक मेट्दैन
कसैको ज्यान बाँच्दैन
कसैको लाज ढाक्दैन
कसैको चुल्हो बाल्दैन
कसैको अज्ञानता ढाल्दैन
त्यसैले,
के हेर्नु कमरेड ! भ्यु टावरबाट ?
उफ् ! उफ् ! उफ् !
–सरगम भट्टराई
प्रतिक्रिया