रुससँग युद्ध लड्न युक्रेनलाई अमेरिकाले हाल्यो काँध, फेरि गर्‍यो अर्को ठूलो घोषणा, अखिर अमेरिका के चाहन्छ ?

इनेप्लिज २०७८ चैत २० गते ९:११ मा प्रकाशित

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सुरक्षा सहयोग प्रदान गर्ने भएको छ। शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा गरेको हो। नयाँ योजनासँगै अमेरिकाले युक्रेनलाई दिने समग्र सैन्य सहयोग २ अर्ब ३० करोड डलर नाघेको छ। अहिले अमेरिकाले घोषणा गरेको सहयोगमा आत्मघाती ड्रोन, एन्टि ड्रोन प्रणाली, सैन्य गाडीहरु, नाइट भिजन उपकरण, गोलाबारुदलगायतका सहयोग समावेश छन्।

युक्रेनमाथि रुसले फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ। यस्तोमा रुससँग लड्नको लागि युक्रेनले पश्चिमा मुलुकसँग सहयोग माग्दै आएको छ। यद्यपि पछिल्लो केही समययता युक्रेनमा रुसको आक्रमण केही कम भए पनि पूर्वी क्षेत्रमा उसले आक्रमण बढाउने सक्ने आशंका बढेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको पूर्वी क्षेत्रमा अहिले पनि सैन्य अवस्था ‘निकै गम्भीर’ रहेको बताएका छन् ।

शनिबार बिहान जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले उत्तरबाट भने रुसी सैनिक फर्किने क्रम जारी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘रुसी सैनिक बिस्तारै फर्किरहेका छन् तर अनुभव गर्न सकिने खालको छ ।’ तर पूर्वी क्षेत्रमा भने जोखिम कायम रहेको उनले उल्लेख गरे । रुसी सैनिक उत्तरबाट फर्किएर डोन्बास क्षेत्र र खार्किभ शहरमा शक्तिशाली आक्रमणका लागि तयारी गरेको हुन सक्ने तर्फ जेलेन्स्कीले सचेत गराएका छन् ।

‘आउँदो दिनमा कठिन युद्धको सामना गर्नु पर्ने छ । हामीले सबै परीक्षाहरु पार गरिसक्यौँ भनेर ठान्नु हुँदैन’, राष्ट्रपति जेलेन्स्कीले भनेका छन् । युक्रेनी सैनिकले रुसी सेनाको कब्जामा गएको बुचा बजार किएभको बाहिरी क्षेत्रमा रहेको इर्पिन शहर आफ्नो नियन्त्रणमा लिएका छन् । यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणकारीसँग सहकार्य गर्नेहरुलाई अन्तिम चेतावनी दिएका छन् ।

रुसले कब्जा गरेका शहरमा नेतृत्वमा राखिएकाहरु लामो समय पदमा नरहने बताएका हुन् । रुसले कब्जा गरेका शहरमा रुसबाट राखिएका नेतृत्वहरुलाई इंगित गर्दै जेलेन्स्कीले भनेका छन्, ‘यो निकै मूर्ख वा वेबकुफ अप्रिल फुल व्यंग्य जस्तै हो ।’ उनी ती नेतृत्वहरुलाई नाजी जर्मनीका जिल्ला नेतृत्वसँग तुलना गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो सन्देश स्पष्ट छः रुससँग सहकार्य गर्नेहरुको जिम्मेवारी (युद्धमा) निश्चित छ । भोलि वा पर्सी त्यो दोस्रो कुरा हो । तर न्याय पुनः स्थापित हुनेछ ।’ आक्रमणकारीसँग सहकार्य गर्नेहरुले त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने र आफ्नो यो अन्तिम चेतावनी रहेको जेलेन्स्कीले बताएका छन् ।

प्रतिक्रिया