राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको प्रतिस्पर्धा जारी,परिणाम आईतबार आउने

इनेप्लिज २०७८ चैत १९ गते १०:२७ मा प्रकाशित

बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा सुरु भएको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ शुक्रबार बेलुकासम्म ३२ वटा टोली दोश्रो चरणमा पुगेका थिए।बिहिबार र शुक्रबार भएको प्रतिस्पर्धामा ६१ टोलीबाट दोश्रो चरणमा ३२ टोली पुगेका हुन्।

शनिबार बिहानबाट प्रतिस्पर्धा सुरु भएको छ।शनिबार अबेर रातीसम्म क्वाटर फाईनल सकियो भने आईतबार बिहान फाईनल सकेर बिजेतालाई पुरस्कार प्रदान गरिने आयोजक सँस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन्।

प्रतियोगिताबारे अध्यक्ष बिजीले शनिबार भने,‘हिजो शुक्रबार रातीसम्म हामीले पहिलो चरणको दोहोरी गायन खेल सम्पन्न गर्यौं र आज बिहानबाट ३२ टोली बीच दोश्रो चरणको खेल चलिरहेको छ।’ उनले अगाडि थपे,‘अब दिउँसोबाट १६ टोली हुँदै बेलुकासम्म क्वाटर फाईनलमा पुग्ने हाम्रो लक्ष्य छ र आज प्रशासनले दियो भने राती नै प्रतियोगिता सम्पन्न गर्ने छौं।’ हैन भने भोली आईतबार बिहान सेमी फाईनल र फाईनल सकेर पुरस्कार प्रदान गरिने अध्यक्ष बिजीले बताए।

प्रतिष्ठानका पूर्व अध्यष पुरुषोत्तम न्यौपाने,दुर्गा रायमाझी, चन्द्र शर्मा, अमर बिरही गुरुङ, प्रजापति पराजुली,बद्री पँगेनी, अध्यक्ष रमेश बिजीसहित अहिलेका पुस्ताका पशुपति शर्मा,राधिका हमाल,राजु ढकाललगायतको निर्णायक टोली यो प्रतियोगितामा रहेको छ।प्रतियोगितामा शुक्रबार पनि विभिन्न अतिथि कलाकारहरुको प्रस्तुति जारी रह्यो।यस्तै शनिबार पनि विभिन्न अतिथि कलाकार समेतको प्रस्तुति रहेको अध्यक्ष बिजीले बताएका छन्।

यो प्रतियोगितामा सरकारी निकाय देखि संगीत क्षेत्रका विभिन्न विशिष्ट अतिथिहरुको आगमन दैनिक हुने गरेको छ।यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिब डा.टुकराज पान्डे पनि यो प्रतियोगितामा बिशिष्ट अतिथिको रुपमा आएका थिए।सरकारी क्षेत्रबाट नेपाली लोक दोहोरी संस्कृतिको प्रवर्धन सोचे अनुसारले हुन नसकेको बेला लोक दोहोरी प्रतिष्ठानबाट यती ठुलो प्रतियोगिता हुनु सराहनीय कार्य भएको डा.पान्डेले बताए।संस्कृति सँरक्षणका लागि यस्ता प्रतियोगिताका प्रवर्धन गर्न संस्कृति मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उनले बताए।

अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेको यो प्रतियोगितामा मोफसल र काठमाडौंका ६१ टोलीले भाग लिएका थिए ।

दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन्।यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी,पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी,पदक,प्रमात्रणपत्र प्राप्त गर्ने छन्।यो दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।सो कार्यक्रममा दोहोरीसँगै खानाहरु विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरीमा रमाईरहेका छन्।

 

प्रतिक्रिया