बशन्त ऋतु

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७८ चैत ८ गते २१:०६ मा प्रकाशित

शिशिर ऋतुको त्यो कठोर मौसमलाई पार गर्दै

बशन्त ऋतुको आगमनसंग संगै पलाएका ति नया पालुवाहरू

कहिले पवनको झोका संग संगै रमाएर नाच्दछ

त कहिले सुर्यको किरणको न्यानो स्पर्शले मक्ख पर्दछ।

पवनले पनि चिसोले कथ्याङ्ग्रिएका बातावरण लाई बिदा दिदै

न्यानो माया छर्दै आफै भित्र भित्रै गुनगुनाएर

सुमधुर संगीत छर्न खोज्दछ

अनि शुन्यतामा हराइरहने त्यो बिशाल निलो आकाश सधै झैँ

त्यो रमणिय बातावरणलाई नियालिरहन्छ।

आकाश माथी उडिरहेका ति बादलका टुक्राहरू

पवन को मन्द गति संगसंगै सुस्तरी बहदै सुन्दर चित्र कोर्न खोज्दछ

त् कहिले पहाड संग ठोकिएर वर्षा गराउन खोज्द्छ

त् कहिले सुर्यको प्रकाश संग लुकामारी खेल्दै आफ्नै दुनियामा हराउन खोज्दछ।

कतै टाढा क्षितिज बाट चियाएर इन्द्र धनुले पनि सप्तरंग छर्दै सुन्दरता

माथि अर्को सुन्दरता थप्न खोज्दछ

चराचुरुंगी ले पनि बशन्त ऋतुको आगमनलाई लाई स्वागत गर्दै

यताउता उड्दै गीत गुन्गुनाउन थाल्दछ।

सुर्यको प्रकाशले रंगिन बनाएका हिमालहरु

सुनौलो भै चम्किन थाल्दछ
कलकल गर्दै नदी नालाहरु निरन्तर रुपमा गुनगुनाई रहन्छ

ति सुन्दर पाखा पर्वतहरु गगन छुने सपना हेर्दै अग्लिरहंछ।

म यी सम्पूर्ण प्रकृतिका सुन्दर दृश्यहरु लाई मुग्ध भएर हेरिरहन्छु,

लाग्दछ प्रकृतिका ति सुन्दर अमुल्य दृश्यहरु, जसले सबैलाई मुग्ध बनाउछ,

कतै यी नै हुन् कसैको स्वामित्व नभएको,

प्रकृतिको उपहारहरु, जसले सबै कुराहरुलाई क्षणिक रुपमै

भए पनि भुलाएर स्वर्गीय आनन्द दिन्छ ।

– रजनी मल्ल न्यु जर्शी अमेरिका। 

 

प्रतिक्रिया