विराटनगर,२९ फागुन।आगामी निर्वाचनमा मतदान सामग्री ‘अपाङ्ग मैत्री’हुनुपर्ने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागिहरुले सुझाव दिनु भएको छ।
उनीहरुले मतदान गर्न अपाङ्गहरुलाई सार्वजनिक सवारीको साधन प्रयोग नदिनाले समस्या भएको र मतदान केन्द्र अपाङ्ग पहुँच हुनुपर्ने बताउनु भयो।
नेत्रहिन युवा सङ्घद्वारा आज यहाँ आयोजित अपाङ्ग मैत्री निर्वाचन प्रणाली राजनीतिक सहभागिता सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रियाका सहभागीहरुले राजनीतिक दलहरुले अपाङ्गहरुका स्थान सुरक्षित गर्न आगामी दिनमा कानूनमा सुधार गर्नुपर्नेमा जोड दिनु भएको थियो।
प्रदेश नं १ का वन,वातावरण तथा भू–संरक्षणमन्त्री शेचरचन्द्र थापाले अपाङ्गहरुको उम्मेदवारी तथा मतदानको लागि संविधानले सुनश्चिता गरेको बताउँदै समस्या समाधानको लागि छलफल गरी सहजिकरण गर्ने बताउनु भयो।
उहाँले सरोकारको माग समयसापेक्ष कानून ऐन परिवर्तन गरिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
पूर्व प्रदेश मन्त्री जीवन घिमिरे र प्रदेश सदस्य सावित्री रेग्मीले अल्पसङख्यकलाई अपाङ्गसँग जोड्नु विगतको राष्ट्रिय सभा निर्वाचनमा गम्भिर त्रुटि भएको औल्याउँदै आगामी दिनमा सच्चाउने बताउनु भयो।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेमन कश्यम अधिकारी, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की,महासङ्घका केन्द्रीय अध्यक्ष कलाधर भण्डारी र प्रदेश अध्यक्ष नविन ढुगेलले अपाङ्गहरुलाई निर्वाचनमा पहिलो प्राथमिकता दिनु पर्ने, योग्य अपाङ्गलाई दलले उम्मेदवार बनाउनु पर्ने र अपाङ्ग व्यक्तिले परिवारका वाहेक इन्छाएको व्यक्तिमार्फत मतदान गर्न पाउनु पर्ने सुझाव दिनु भयो।
अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका अपाङ्गहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया