आमा!
देशलाई रगत दिनेका शालिक साँघुरिए
शिर नझुकाउनेका शालिक ढालिए
घ्याम्पे भुँडी भर्न अरूलाई सिध्याउने
देशद्रोही घैँटेहरूका जिउँदै शालिक ठडिए
थाहा पायौ आमा!
पुल भाँचियो गाँस रोकियो दूरदराजमा
छट्पटायो नपाइ सिटामोल छोड्यो प्राण
मगन्तेहरूको भिड देख्यौ नि सदनमा
बबुरा गरिब ती गोली थाप्छन् सडकमा
सुन्यौ नि आमा!
तिम्रो भूमिमा साँढेको अभाव भए
मगन्तेहरूले मागेर त्यसको अभाव टारे
भित्र बाजा बजाइ बाहिर जनता लडाए
डलरको बोराभित्र पसी तिम्लाई डुब्नबाट बचाए
हेर त आमा!
तिमी नबेच मलाई भनी चित्कार गर्छ्यौ
तिम्रा शान्तिदूत सन्तान अरूका लागि रून्छन्
तिम्रोभन्दा मगन्ते समाजले डलरको अस्तित्व रोजे
घसार्दै मुन्ट्याउँदै तिमीलाई शरणार्थी बनाइदिए
सुन त आमा!
अब विकासले छलाङ मार्छ सबै गाई ब्याएपछि
मगन्तेहरूको जमात पादरी बनी चर्चमा धाएपछि
चारैदिशामा तिमीलाई देखाएर सकेजति मागेपछि
किन रून्छ्यौ आमा तिमी यस्ता भिखारी जन्माएपछि
सुन आमा!
निर्लज्ज निर्बस्त्र भएर पनि भज्छन् वीर नेपाली भनी
पूर्खाको धरोहर हामीले बचाएका छौँ भनी
गान्धारीले सुख पाइनन् सय सन्तान
जन्माउँदा नि
खाऊ कसम अब तिमी आमा बेच्ने सन्तान जन्माउदिन भनी!!
शशी खड्का
बूढानीलकण्ठ,काठमाडौं ।
प्रतिक्रिया