तिम्रो नाम र काममा सबजना गर्छन् अझै कल्पना ।
नेपाली कविता निवन्ध रचना लेखेर आलोचना ।।
ताराका पनि नाथ हौ अब तिमी झन् चम्किने चन्द्रमा।
झर्रोवाद सधैँ छ सक्रिय यहाँ भाषा र साहित्यमा ।।१।।
ऐले माथि गयौ शरीर रुपमा छाडेर यी सम्झना ।
नेपाली घर गाउँका हृदयले छैनन् कसै बिर्सन ।।
जिब्रोको लयतालमा छ जननी भाषाहरूको चुरो।
हामी अल्मलमा परेर नबुझी अल्झ्यो सबैमा कुरो।।२।।
अंग्रेजी कविता कथा कथनका संस्कार आख्यानका।
व्याख्याबाट निचोरिएर रस त्यो स्वादिष्ट पाश्चात्यका।।
भित्र्यायौ घरदेशमा सब कुरा ती ज्ञान साम्राज्यका।
तिम्रा पुस्तक यी सदा अमर छन् भाषा र साहित्यका ।।३।।
सर्कारी पदबाट हुन्छ जनको सेवा भनेतापनि।
लेखेरै पनि हुन्छ देशभरिको कल्याण सेवा पनि।।
यस्तो भाव विचारले कलमको साथी बनेरैपनि ।
तिम्रो जीत भयो,भयो सब थरी कल्याण सेवा पनि ।।४।।
यात्रा वर्णनको महत्त्व पहिला तिम्रो नयाँ धारणा।
भाषाको इतिहासले गति लियो तिम्रै त हो कारण।।
हाम्रा काव्य निधी बचाउन तिमी लेख्यौ समालोचना ।
तिम्रो नाम हुँदैन अस्त कहिल्यै भाषा र साहित्यमा ।।५।।
प्रतिक्रिया