साहित्यकार एवं मुक्तककार उषा के.सी. को उषाको प्रहर नामक मुक्तक सङ्ग्रह पहिलो कृतिको रुपमा २०७७ सालमा प्रकाशित भएको छ।यस कृतिभित्र उनीद्वारा लेखिएका २२२ वटा मुक्तक राखिएका छन्।यो पहिलो कृति भए पनि यसमा काव्यिक गाम्भिर्यता रहेको छ।यस सङ्ग्रहको मुक्तकमा अनुभूतिको आयाम छ,भावनाको झिल्का छ,सहज संवेग र काव्यिक तरेलीका गराहरु छन्।सङ्ग्रहभित्रका केही मुक्तकहरु रोमाञ्चक,हाँसो र ठट्टाको भावले भरिएका पनि छन्।सङ्ग्रहभित्रका मुक्तक पढ्दै जाँदा लाग्छ उनी कतै उपदेशक बनेर देखिएका छन्,कतै प्रेम वियोगमा छट्पटाएका छन् त कतै अथाह मातृभक्ति दर्शाउन पुग्दछन्।साहित्यको विशेषता भनेकै पाठकमा रोचकता पस्कन सक्नु हो।आनन्दाभूति दिलाउन सक्नु हो।यस विषयमा उषाका मुक्तकमा कमी देखिदैन।उनी साहित्यप्रति सकारात्मक देखिन्छिन् ।साहित्य लेख्न र पढ्न मुक्तक लेखेर चम्कने गर्दछिन्।धेरैले बोल्न नसकेका र नपाएका कुरा उनका मुक्तकले बोलेका छन्। आफैंलाई परिवर्तन गर्ने कलम लाग्छ साहित्य, मनको घाउ निको पार्ने मलम लाग्छ साहित्य उषाले मुक्तकमा भनेकी छिन्।
सबैको छातीभित्र देश हुनुपर्ने हो,छैन
तनमनमा नेपाली भेषा हुनुपर्ने हो,छैन
रातारात जङ्गे पिलर सारिन्छ आँखा अगाडि
नेतामा देशको माया शेषा हुनुपर्ने हो,छैन।
उनका मुक्तकहरु मध्ये केहीमा जीवनधर्मिता,कर्मठता, गतिशिलता,क्रान्ति जस्ता विषयसँग सम्बन्धित मुक्तकहरु छन्।उषाका मुक्तकहरु देशभक्ति पनि छन्। उनका मुक्तकको भाषा स्वाभाविक र सरल छ।मुक्तकको लयविधिको सीमा कतैकतै मिचिएको छ।आफूले जीवनमा प्रत्यक्ष देखे भोगेका विषयवस्तुलाई मुक्तकको रुपमा लेखेकी छिन्।जीवनमा आइपर्ने जस्तोसुकै अनुकूल–प्रतिकूल परिस्थितिको सामना गर्दै यिनले आर्जन गरेका तिता–मिठा अनुभव र अनुभूति अनि देशप्रतिको यिनको मोह सामाजिक विसङ्गतिको चित्रण,लैङ्गिक मनोभावप्रति देखिएको दृष्टिकोण साथै दर्शन र आध्यात्मको चेतना आदि सबै यस सङ्ग्रहभित्रको मुक्तकमा अटाएको देखिन्छ।आधुनिक नेपाली मुक्तक साहित्यलाई दरिलो बनाउन मुक्तकमा यिनले देखाएको अभिरुचि र प्रतिभा अनि पुर्याउन लागेको योगदानको कदर गर्नैपर्छ।
समुद्रको किनार र छाल जस्तो
शिशिर ऋतुले दिएको हाल जस्तो
फेरिई रहन्छ मानव चोला त्यसरी नै
च्यातिएर धुजा परेको त्रिपाल जस्तो।
गीत गजल जस्तो मुक्तकलाई गाएर सुनाउने प्रचलन छैन।तर पनि कसै कसैले गाउने प्रयास गरेका छन् तर सफलता पाएका छैनन्।उषाले मुक्तकलाई जुन उद्देश्यले अपनाए पनि लेखकीय साधनाको निरन्तरतालाई नछाडे सफलता यिनको लागि टाढा छैन।धेरै मुक्तक स्रष्टाहरुको सामिप्यता र मञ्च तथा प्रगतिको उपलव्धताले पनि मलाई लाग्छ यिनको निम्ति साहित्यिक परिवेश त्यति नराम्रो पनि छैन।यस सङ्ग्रहभित्र सङ्कलित मुक्तक मार्फत देशका अधिकांश नारीले भोग्दै आएको जीवन र आफूले देखे जानेको समाजलाई खास गरी गृहिणीहरुको पीडालाई उजागर गर्ने जुन प्रयास यिनले गरेकी छिन् त्यो मार्मिक छ । कहिलेकाही मनका याद मेटूँ मेटूँ लाग्छ बीच बाटोमा बोलाएर भेटूँ भेटूँ लाग्छ उनले मुक्तकमा लेखेकी छिन्।कृति सानो आकारमा भए पनि निकै गह्रुंङ्गो छ मुक्तक पढ्ने पाठकका लागि।मुक्तककार उषामा देशभक्ति र यसप्रतिको प्रेम साह्रै निर्मल र गहिरो छ।उनले व्यक्गित रुपमा आफू पराजित भए पनि मुलुकले कहिल्यै यस्ता पीडा नभोगोस् मुक्तक मार्फत भन्ने गर्छिन्।
मुटुभित्र साथीको बात नलुकोस्
यात्रामा साथीको साथ नछुटोस्
विश्वासमा नै संसार अडेको छ
दुःखमा मित्रताको हात नटुटोस् ।
उनका मुक्तकमा जीवन र जगतका विविध पक्षहरु समेटिएका छन्।कतैतिर देशको दुर्दशा र कतैतिर देशको सौन्दर्य पनि झल्किएको छ।प्रेमको गहिरो अनुभूति र आध्यात्मिक दार्शनिक चेत पनि झल्किएको छ।बोल्न खोज्दा सुनिदिने भेटिएनन् मनको कथा पोखूँ भन्दा बुझिदिने भेटिएनन् उनले मुक्तकमा लेखेकी छिन्। जीवनबोध बिम्बको उचित प्रयोग, सौन्दर्यको वयान, आत्मप्रकाशन, स्वतन्त्रता, नारीपीडा, प्रकृतिप्रेम, हाँसो र रोदनलाई मुक्तकको भावभूमिमा प्रकट गरेकी छिन् ।नेपाली साहित्यमा प्रचलित मुक्तक खासगरी अरबी–फारसी साहित्यबाट आएको कविताको सानो रुप हो।मुक्तक चार हरफको छोटो कविता हो।
वास्तवमा मुक्तक यस्तो विधा हो कि जसले साहित्य जगत्मा तहल्का नै मच्चाउछ । तर यसले आफ्नो धर्म निर्वाह गर्नुपर्दछ अनि यसले साहित्य जगत्मा झिल्का पार्दछ । मुक्तकले मानिसको हृदयलाई छिटै आकर्षण गर्दछ।
खुसीको बाटो खन्छ मान्छे छानी छानी
दुःख दिन्छ जिन्दगीले सधैँ जानी जानी
सुख–दुःखको संयोग हो रे जीवन
तर, रोदन दिन्छ मर्म मै हानी हानी।
नेपालमा मुक्तक भित्रयाउने श्रेय कविवर भीमदर्शन रोकालाई जान्छ।मुक्तक कविताकै छोटो रुप हो । मुक्तकमा कविताकै गुण र प्रवृृत्ति समाविष्ट रहन्छन् । तर मुक्तकले एक झट्कामा कविको आशय छर्लङ्ग हुने गरी अभिव्यक्ति स्वतन्त्र र सहज रुपमा पाठक समक्ष सम्प्रेषण गर्ने क्षमता राख्तछ । यस सङ्ग्रहभित्र समावेश भएका मुक्तकहरु आ–आफ्नै विशेषताभित्र समेटिएका छन् र ती सबै छुट्टा छुट्टै व्याख्यायोग्य छन् । जीवनमा दुःखसुखका अनुभवहरु अनगिन्ती भोगाइहरु नै आशाको साहित्यसिर्जनाको स्रोतहरु हुन्।
सपना सजाएछु यी आँखाका नानीमा किन ?
आँसुकै वर्षा हरदम मेरै जिन्दगानीमा किन ?
वर्षात् हर मौसममा एक बार आउथ्यो
जीवन पानीझैँ बग्छ सिरानीमा किन ?
कवितालाई निचोरेपछि मात्र मुक्तकको जन्म हुन्छ।आफूले भन्न खोजेको कुरालाई चार हरफमै लेख्नु पर्ने हुंदा साहित्यका अन्य विधाभन्दा यो विधा चुनौतिपूर्ण त हुन्छ नै।त्यसो त एउटा सानो मुक्तकभित्र सिङ्गो ब्रहमाण्ड नै अटाउन सक्छ । कविताको सबैभन्दा लघुतम रुपलाई मुक्तक काव्यको रुपमा चिन्ने गरिन्छ।हरेक साहित्यिक रचनामा मानवचरित्र र क्रियाकलाप चित्रण गरेजस्तै मुक्तक काव्यमा पनि व्यक्ति,समाज, वातावरण र मानव समाजसँग सम्बन्धित अनेक पक्षलाई नै समेटेर सिर्जना गरिएका हुन्छन्।मान्छेका जीवनका अनेकौ उहापुहाका सन्दर्भहरुलाई मुक्तकले समेटिएका छन्।मानवीय प्रकृति, संस्कृृति, रुढिवादी परम्परा आदि मुक्तकका विषय बनेका छन्।उनी साहित्यप्रति सकारात्मक देखिन्छिन्।साहित्य लेख्न र पढ्न मुक्तक मार्फत् अभिप्रेरित गर्दछिन्।उनका मुक्तक सुन्दर छन् र विविधताले भरिएका छन्।यस मुक्तक सङ्ग्रहभित्र सुखको पीडा पनि छ,दुःखको पीडा पनि छ, हाँसो र रोदन दुबै छ दुखाइ र भोगाइको अनुभूति पनि छ ।आगामी दिनमा उनका अन्य कृतिहरु हामीले पढ्न पाउने ठूलो आशामा बाधिएको छु।
कृतिः उषाको प्रहर
विधाः मुक्तकसङग्रह
मुक्तककारः उषा के.सी.
प्रकाशकः गोदावरी साहित्य परिषद्, ललितपुर ।
संस्करणः प्रथम, वि.सं. २०७७ सामाखुसी मार्ग, ९३५÷५४,
मूल्यः रु. २५०।– काठमाडौं (नेपाल)
पृष्ठः १११ मोबाइल ९८४१७९७६६४
प्रतिक्रिया