पूराना सुषुप्त घाउहरु
हृदयका विदारक ठाउंहरु
उदिग्ग्न मन जो स्मृतिमै बाच्न खोज्छ
बर्तमान नमानेर यो अतीतनै साच्न खोज्छ
शब्द शून्य प्रायः,मन पीडाले विभोर
उज्यालो कहीं छैन,मात्र अन्धकार घनघोर
नयन त्यसै भिजिसके,
तर बादल अझै किन बर्सिन्छ?
डढिसकेको मुढो माथि, त्यो सूर्य
ब्यर्थै प्रकाश किन खर्चिन्छ ?
कुनै धारिलो कैंचीले मुटु चिथोरे झैँ
कुनै कठोर कसाहीले गर्दन निमोठे झैँ
सम्झनाका मानिसहरु यसरी नै आँउछन
भावाभेगको कम्पनले मन,अनि मथिङ्गल हल्लाउँछ्न !
निर्मम हुन्छन सम्झनाका मानिसहरु,
धुलाम्य तस्बिरमा खिसिक्क हाँसीदियो
ओइलाएका मालाबाटै माया गाँसीदियो
सोध्छु आफैलाई –
यो समय किन यति अजीब छ ?
सम्झनाका मानिसका याद किन यति सजिब छ?
ति,जो गए,फेरी सशरीर फर्केर आँउदैनन
एक्लाएर जानेहरु फेरी मितेरी लाँउदैनन
अदृस्य धागोले जोडिएको यो बिचित्र संसार,
जीवन के रहेछ र आखिर,सम्झनाको धनसार
दिग्भ्रमित मन न हो आखिर,
खुशी भन्दा यसलाई दुःख नै प्यारो,
अनुभव जसले,जे धेरै भोग्यो
त्यसैलाई भुलाउन गाह्रो
त्यसैले त,
त्यसैले त नजिकको चन्द्रमा भन्दा
दूरदराज तारा नै राम्रा हुन्छन
उदासीको उत्कर्ष दिए पनि
सम्झनाका मानिस नै प्यारा हुन्छन
सम्झनाका मानिस नै प्यारा हुन्छन !
– दिपेश पराजुली
प्रतिक्रिया