समीक्षाले दिइन पल शाहविरुद्ध बलात्कारको उजुरी

इनेप्लिज २०७८ फागुन १२ गते ०:०१ मा प्रकाशित


तनहूँ–अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशोरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ।१७ वर्षीया किशोरीलाई पलले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षको आरोप छ।

पछिल्लो केही दिनयता मनोरञ्जन वृत्तमा पल सँग एक गायिकाको विवाद चर्चामा थियो।तर,विवादको अन्तर्य खुलेको थिएन। जब पलले ती गायिकालाई यौन शोषण गरेको पुष्टि हुने अडियो नै बाहिर आयो,त्यसपछि भने यथार्थ छर्लंंगै भयो।

पीडित किशोरी परिवारसहित यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गर्न पुगेकी थिइन्।तर आफ्नो कार्यक्षेत्र नपरेको भन्दै कास्की प्रहरीले तनहुँ प्रहरीमा जान सुझाएपछि त्यहाँ उनी कानुनी परामर्शसहित फर्किएकी थिइन्।

स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए।

तर,अडियो नै सार्वजनिक भएपछि भने बुधबार किशोरीले पलविरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा उजुरी दर्ता गराएकी हुन्।

तनहूँ प्रहरीले भने अहिलेसम्म जाहेरी बारे औपचारिक जानकारी दिएको छैन।‘उजुरी आएको छ।हामीले कानुनी प्रक्रिया अघि बढाएका छौं।अहिले लाई थप केही नभनौं,’ तनहूँ प्रहरी स्रोतले भन्यो।

के भन्छ कानूनले ?

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ।

अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ।

प्रतिक्रिया