“५७ बर्षे लक्का ठिटो म ”

प्रेम प्रसाद सञ्जेल विराटनगर २०७८ फागुन ७ गते १०:३६ मा प्रकाशित

भंसारको गाँस मिठो
होटेलको बास मिठो
जाली काजको भत्ता मिठो
दूध दिनेको लात्ता मिठो
चाकडीको भाका मिठो
माहुरीको चाका मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।१।।

आयलको माईल मिठो
राजश्वको राज मिठो
प्रतिशत खान मिठो
मिनरलको पानी मिठो
मसाजकी नानी मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।२।।

सरुवाको रीति मिठो
बजेटको मिति मिठो
गजेटको नीति मिठो
झोल चोक्टा अत्ति मिठो
पासपोर्टको बुकै मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो।।३।।

छापामारी छानबिन मिठो
रक्सीको चैँ नशा मिठो
पुरस्कारको आशा मिठो
शिशमहलको भाषा मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो।।४।।

मन्त्रीजीको थप्पड मिठो
हानीहाल्ने बानी मिठो
अलकत्राको लिटो मिठो
अफिसमा हिटर मिठो
लगबुकमा मिटर मिठो
टेवलमा गफ मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।५।।

यातायातको लाईसेन्स मिठो
सडकको गिट्टी मिठो
ठेकेदारको खाम मिठो
आफन्तकोे काम मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।६।।

पापाचारको खोटो मिठो
सदाचारको भोटो मिठो
भूँडीवाला फोटो मिठो
भ्रष्टाचारको रोटो मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।। ७।।

बनभरीमा अग्राख मिठो
राष्ट्रसेवा भाषण मिठो
कमिशनको राशन मिठो
किर्ते भए बिल मिठो
लाहाछापको सिल मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो।।८।।

पर्ति भए जग्गा मिठो
कित्ता गायब नापी मिठो
पहिरनमा दामी मिठो
देशचुसे पोको मिठो
डिभिचिठ्ठाकोे चैँ डोको मिठो
जागिरमा लोभ मिठोे
सडकमा चोक मिठो
घुस दिनेको क्षोभ मिठो
हसुर्नेको रोब मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।९।।

कमाउने धोको मिठो
अख्तियामा रोएको मिठो
जेल परे आँशु मिठो
बँदेलको मासु मिठो
कष्टडीको भोक मिठो
अदालतको तोक मिठो
फरार भए परदेश मिठो
अकूतको जफत मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।१०।।

दाईजोको शान मिठो
जेल नपरे मान मिठो
दिन दिनैको भोज मिठो
बासमतिको खान मिठो
सधैँ बिदेश जान मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो।।११।।

कासमूको नंवर मिठो
नाता परे वढुवा मिठो
खान पाए जेट मिठो
छिर्न पाए गेट मिठो
अफिसको सामान मिठो
सित्तै पाए मल मिठो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो।।१२।।

बैंकैपिच्छे व्यालेन्स मिठो
फेलर नेशन नारा मिठो
कालो कमाई सारा मिठो
भाग्यमानी रैछु केटो
म त राष्ट्रसेवक परेँ हजूर
५७ बर्षे लक्का ठिटो ।।१३।।

प्रेम प्रसाद सञ्जेल
विराटनगर

प्रतिक्रिया