“प्रेम दिवस”

बिनोद कुमार पोख्रेल २०७८ फागुन १ गते १२:०३ मा प्रकाशित

भावनामा बगेको प्रेम होइन
हृदयमा गडेको प्रेम चाहिन्छ
सम्बन्धमा अडेको प्रेम होइन
विश्वासमा बसेको प्रेम चाहिन्छ !
शब्दले बनाएको प्रेम होइन
प्रेमले बनाएको शब्द चाहिन्छ
सपनाले देखेको प्रेम होइन
प्रेमले देखेको सपना चाहिन्छ !
अचेल, सुख र सयल भित्र
प्रेमको बास रहेको हुन्छ
दुःख र पिडाको सास भित्र
प्रेमको त्रास रहेको हुन्छ!
सांसारिक रङिन दुनियाँ भित्र
प्रेम फक्रिदै जान्छ
सङ्गिन घडीका क्षणहरूमा
प्रेम ओइलाउँदै जान्छ!
यहाँ, प्रेमको परिभाषा फेरिएको छ
भौतिक सुविधा सँग जोडिएको छ
गाउँ घर डाँडा पाखा वाट प्रेम
अचेल सहर तिर मोडिएको छ
इन्टरनेट सँगै जोडिएको छ
रूप रङ्ग र प्यास तिर मोडिएको छ!
नाता सम्बन्ध भित्रको प्रेम
लोली र बोलीमा अल्झिएको छ
मातृत्व र मातृत्व प्रेम
फरिया भित्र बल्झिएको छ
मानव भित्र रहेको प्रेम
फेसबुक र टुईटरमा झल्किएको छ
ती वृद्ध आमा र बुवाको प्रेम
आशु बाट छल्किएको छ !
यो प्रेम दिवसले सबैलाई
प्रेम लिन भन्दा दिन सिकावस्
प्रेम भित्रका कलुषित तुसहरू
बगेको धमिलो पानीमै मिसावस्
चोखो र साँचो प्रेमको
आदर्श र महत्त्व सिकावस् !!
!! प्रेम दिवसको शुभकामना !!

बिनोद कुमार पोख्रेल
तुल्सिपुर उपमपा १८, बिजौरी दाङ
हाल- सुकेधारा काठमान्डौ

प्रतिक्रिया