मुस्कुराइरह्यो लालीगुराँसः लघुकथा

मित्र उराठी गौतम २०७८ फागुन १ गते ५:१६ मा प्रकाशित

        “हेल्लो…” – बाइक नरोकिकनै सुदेशले मोवाइल कानमा लगाउँदै बोल्यो।

“हैन कति ढिला गरेको हो ? म त पार्कमा कुर्दा कुर्दा बोर भै सकेँ।”- उताबाट गरिमाको आवाज आयो।

“ल ल नरिसाऊ प्रीय, म पार्कमा पुग्नै आटेँ ।”- जवाफ फर्काउँदै उसले बाइकको एक्सीलेटर अझै बटार्यो।

पार्कमा पुगेर बाइक रोक्यो र गरिमा भए तिर पाइला बढायो।

“ल एक्कै छिन आँखा बन्द गर त। “-उसले गरिमालाई आग्रह गर्यो।

“ल ल बन्द गरेँ गरिमा बोलिन्।”

“अब विस्तारै आँखा खोल। “-मायालु भावमा सुदेशले भन्यो।

“भ्यालेन्टाइन डेमा लालीगुराँस !”- उनले आश्चर्य प्रकट गरिन्।

” गुलाब फूल किन्न जाँदै थिएँ।बाटो किनारमा सानी नानीले लालीगुराँस बेच्न राखेको देखेँ।त्यो देखे पछि सोच्न वाध्य भएँ।के रातो गुलाबै दिनु पर्ने जरुरी छ र ? उनीहरुकोमा गुराँस दुर्लभ थियो होला त्यसैले शुलभ रुपमा पाइने रातो गुलाब प्रयोग गरे।हाम्रोमा त यही सिजनमा गुराँस फुल्छ।नेपालको राष्ट्रिय फूल पनि हो।अनि प्रेमोपहारका रुपमा यति सुन्दर फूलको प्रयोग किन नगर्ने ? अनि ती नानीसँग गुराँस फूल किनेँ। “- सुदेशले आफ्नो विचार व्यक्त गर्यो।

“साँच्चै तिम्रो आइडियाले म झनै इम्प्रेस्ड भएँ।हाम्रो माया यही लालीगुराँस जस्तै गाढा बन्न सकोस्।”- गरिमा भाव विभोर बनिन्।

“यो दिवसमा हामीले जस्तै सबैले लालीगुराँसको प्रयोग गर्ने हो भने करोडौँको गुलाब आयात प्रतिस्थापन हुने थियो।अर्को तर्फ हाम्रो जङ्गलमा खेर गएको गुराँसबाट विपन्नहरुको आयस्तर बढ्ने थियो।”- सुन्दर कल्पनामा बहकियो सुदेश।

“यू आर ग्रेट, आइ लभ यू भेरी मच।”- भन्दै उनले गम्लङ्ग अङ्गालोमा बेरिन् सुदेशलाई।

दुबैको आवाज बन्द भयो।

मौनतामा हातको लालीगुराँस भने मुस्कुराइरह्यो।

 

-मित्र ‘उराठी’ गौतम

अमरपुर गुल्मी हालःतिलोत्तमा न पा २

मित्र उराठी गौतम

मित्र उराठी गौतम-साहित्यकार /लेखक

प्रतिक्रिया