लघुकथा – सोच

रेणु गुप्ता २०७८ माघ २६ गते २२:३६ मा प्रकाशित

एक दिन एक भब्य विवाह समारोहको आयोजना गरिएको रहेछ।त्यस समारोहमा शहरका प्रतिष्ठित ब्यक्तिहरू सम्मिलित भएका रहेछन्।सबै आ–आफ्ना चिने–जानेकासित कुराकानी गर्दै खाना खाने काममा ब्यस्त छन्।

हितेश पनि खाना खाइरहेको छ।उसको आँखा एकजना खोकिरहेको मानिसमाथि पर्छ।ऊ पहिलादेखि नै एकसुरले खोकिरहेको छ।खाना खाऊँ कि एकचोटि त्यहाँ गएर हेरूँ भन्ने दोधारकै बिच सकेसम्म छिटो छिटो हितेश खाइरहेको खाना सिध्याउन खोज्छ।

गुनगुन कुरा गरिरहेको आवाज सुनेर हितेश पछाडि फर्केर हेर्छ।दुईजना ब्यक्तिबीच मुद्दा हाल्ने कुरामा भनाभन भइरहेछ।त्यस समारोहमा आएकाहरूमध्ये एकजना डाक्टर रहेछन्।उनको आँखा अघिदेखि खोकिरहेको ब्यक्तिमाथि केन्द्रित छ।

भोज खाइरहेका एक जना वकिलको आँखा मुद्दा हाला–हाल गर्ने ब्यक्तिहरूमाथि केन्द्रित छ।

सँगै खाना खाइरहेका एक जना नेताको दृष्टि जहिले पनि मञ्चको ठूलो कुर्सीमाथि गइरहेको छ।

खोकिरहेको मानिस एकछिन शान्त हुन्छन्।हितेश ऊतिर जाँदै गर्दा उनका आँखा भने ती तीन ब्यक्तिहरूतिर केन्द्रित हुन्छन्।

 

रेणु गुप्ता

रौतहट

प्रतिक्रिया