लघुकथा झाडीमा लोकतन्त्र

सञ्जय साह मित्र २०७८ माघ २२ गते १७:२३ मा प्रकाशित

खुसीले उफ्रिदै एक हुल गाउँबाट नारा लगाउँदै सहरतिर जाँदैछ।“लोकतन्त्र जिन्दावाद।… जिन्दावाद…जिन्दावाद…।गाउँ र सहरको बिचमा रहेको रहेको चारकोसे झाडीमा निकै टाढासम्म गुञ्जिरहेका छन् नाराहरू।चराहरूमा उत्साह छ,ढेडु र बाँदरमा उत्सुकता तथा जमिनका जंगली जनावरहरू थर्कमान छन्।के भएको होला ?

जमिनदेखि रुखसम्म र गाउँ–सहर तथा जंगलको सबैतिर सजिलै पहुँच भएको एउटा ढाडे बिरालोले चरा,बाँदर तथा अन्य जातका जनावरहरू समेतलाई एक ठाउँमा भेला गरेर सम्झाउँदै भन्दछ:“अब लोकतन्त्र आयो देशमा।सबै बराबर। कसैको हुकुमत चल्दैन।”

एउटा स्यालले प्रश्न गर्छ:“अनि हाम्रो जंगलमा के हुन्छ ?”

“अब सबै बराबर।कोही कसैमाथि अन्याय गर्न पाउँदैन।सबैले एकै किसिमको खाना खान पाउँछ?”

“उसो भए बाघ,हरिण,फ्याउरो,कछुवा सबैले एउटै खाना खान्छ हो?” एउटा गोहीले जिज्ञासा राख्यो।

“यो जंगल पनि देशमै हो नि।देशमा लोकतन्त्र आएपछि जंगलमा पनि लोकतन्त्र आइहाल्यो।देशभर एउटै कानुन हुन्छ।”

वन्यजन्तुको छलफल चल्दैछ।नारा लगाउने मानिसको हुल गइसकेको छ।

वन्यजन्तुले पनि लोकतन्त्रको स्वागत गर्ने निष्कर्ष निकाल्छन्।एकाध जनावरबाहेक सबैलाई लागेको छ:यो लोकतन्त्र धेरै जनावरलाई फाप्दैन।जनावरको प्रकृति नै फरक छ।मानिसको राज मानिसमा हुनुपर्ने र जंगलको आफ्नै राज हुनुपर्छ। जंगलको राज पहिलेदेखि नै समावेशी नै छ।

अर्को हुल त्यही नारा लगाउँदै सहरतिर जाँदैछ।सारा वन्यजन्तु नजिकै आइपुगेका छन्।मानिसहरू जंगल थर्काउने गरी नारा लगाउँछन्:“लोकतन्त्र जिन्दावाद।”
जनावरहरू उताबाट एकै स्वरमा बोल्छन्:“जिन्दावाद,जिन्दावाद।”

मानिसहरूको भागाभाग हुन्छ।

त्यही साँझ निर्णय हुन्छ:लोकतन्त्रमा पनि जंगली जनावरले मानिसलाई थर्काउने ?

सबै मिलेर जंगल हटाउनु पर्छ।त्यहाँ लोकतन्त्र ल्याउनु पर्छ।

निर्णयपछि गाउँलेहरू त्यही नारा लगाउँछन्।जंगल थर्किन्छ।

 

सञ्जय साह मित्र

रौतहट

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया