रातीको १२ बजे।बाहिर गाईँगुईँ आवाज आएपछि रमेश सर मनमा खुल्दुली र डर मिश्रित भावमा भन्छन् ‘को हँ?’
उताबाट ओजिलो स्वरमा जवाफ आउँछ: ‘हामी, ढोका खोल्नुस् न..’
रमेश सर शिक्षक भएका नाताले कोही अप्ठेरोमा परेको ठान्छन् र ढोका खोल्छन्।ढोका खुलेपछि एक हुल मान्छे मध्ये एकजनाबाट थप पुष्ट्याइँ हुन्छ: ‘सर,हामी थाकेका छौँ तैपनि देश जनताका लागि तपाइँलाई भेट्न आवश्यक ठानेर यता पसेका हौँ।’
रमेश सरले खाना सोध्छन्, नखाएको भन्ने थाहा पाएपछि भोलिपल्ट छोरी-ज्वाइँ-नाति-नातिनीलाई भनेर राखेको मासुमा रस बनाएर भातसँग खुवाउँछन्। खाना बनाउने क्रममा ‘क्रान्ती’को कुरा हुन्छ,शिक्षकको व्याख्या हुन्छ,गाउँलेले ‘मास्टर’ भनेको माया गरेर भनेका हुन्, क्रान्तीमा तपाइँहरूको ठूलो भूमिका हुन्छ,हाम्रो पार्टीमा धेरै शिक्षकहरू नेता हुनु भएको छ,सरले हामीलाई सहयोग गर्नुपर्यो..।
आफू अशक्त भएका रमेश सर सहयोग गर्नुपर्ने कुरालाई घर छोड्ने कुरासँग दाँज्छन् र आफू भूमिगत हुन नसक्ने कुरा अर्थ्याउँछन्।समूहको अर्को एकजनाले कुरो त्यस्तो होइन सर,तपाइँले घरमै बसेर पनि सहयोग गर्न सक्नुहुन्छ।आएको बेलामा यसैगरी खाना खुवाउने र बास दिने,शिक्षकहरूलाई जम्मा गरीदिने, केही आर्थिक सङ्कलन गर्ने र दिने जस्ता कामहरू गर्दा पनि ठूलो सहयोग हुन्छ हामीलाई…
रमेश सर देश र जनताका लागि त्यति गर्न तयार हुन्छन्।भोलिपल्ट देखि शिक्षकहरूसँग सम्पर्क बढाउँछन् र त्यस राती भएका कुराहरू सम्प्रेषण गर्छन्।स्थानीय स्रोत,अस्थायी,नीजि विद्यालयमा कार्यरत धेरै आकर्षित भएको देखिन्छ,बिचार र देशलाई सुन्दर बनाउने आधारमा केही स्थायी शिक्षकहरू आकर्षित हुँदै गएको पाइन्छ। सबै शिक्षकलाई एकपटक छलफल गराईदिनु पर्ने धारणा राखेपछि त्यसराती आएका भन्दा अर्कै उपल्लो तहका नेता आउने कुरा भयो। छलफलमा हाम्रो उक्त व्यवस्थामा सबै शिक्षक १८ थरीका होइनन्, एकै प्रकारका हुन्छन्, शिक्षा पूर्ण रूपमा नि:शुल्क, शिक्षकको मर्यादा कायम हुने, कैयौँ गाउँका नेता शिक्षक नै बनाइने किनकी शिक्षकलाई गाउँका एक-एक समस्या थाहा हुन्छ र गाउँदेखि देश बनाउने बारेमा तपाईँहरूलाई थाहा हुन्छ तर अहिले पार्टीलाई आर्थिक समस्या छ, तपाईँहरूले अहिलेको यो आर्थिक जटिलतालाई हटाईदिनु पर्यो भनेर नेताद्वारा अनुरोधको पारामा व्याख्या हुन्छ।
शिक्षकहरू आफ्नो उज्ज्वल भविष्य सम्झेर सहयोग गर्न तयार हुन्छन् र अरू शिक्षकहरूलाई पनि यो कुरा सम्प्रेषण गर्छौँ भनी बिदा हुन्छन्।
शिक्षकहरूमाझ मात्रै होईन,यो कुरा गाउँलेमाझ पनि पुग्छ,किनकी शिक्षक र अभिभावक त जोडिएका हुन्छन्।केहि गाउँले यस कुराको बिरूद्धमा पनि उभिएको देखिन्छन् र शिक्षकलाई समाज भँडुवाको आरोप लगाईन्छ तर शिक्षक एकोहोरो रूपमा कन्भिन्स भएको देखिन्छ र समाज भँडुवा होइन पवित्र काम हो भन्नेमा दृढ भई आर्थिक सङ्कलन तथा सङ्गठन निर्माणमा एकचित्त भई लागेको देखिन्छ,ठूलो मात्रामा आर्थिक सङ्कलन गरेर नेतालाई बुझाईन्छ,नेताद्वारा स्याबासी दिईन्छ….रमेशहरू हिँड्न नसकेपनि अरू कैयौँ शिक्षकहरू आन्दोलनमै सरिक हुन तयार भई हिँडेपछि अरू शिक्षकलाई थप हौसला भए झैँ लाग्छ।
#
निर्वाचनमा आफूले सहयोग गरेको पार्टी सबभन्दा ठूलो दल भएको थाहा पाएपछि गाउँभरिका शिक्षक खुशीले गद्गद् हुन्छन्, नेताले गरेको व्याख्या सम्झेर पुलकित भए झैँ देखिन्छन् शिक्षकहरू। खुशी साट्न र, अझ भनौँ त्यतिबेलाको कुरो स्मरण गराउन शिक्षकहरू प्रतिनिधिमण्डल भई जाने कुरो उठ्छ र जाने निर्णय हुन्छ।पार्टी कार्यालय पुग्छ,प्र-मण्डल। प्र-मण्डलबारे कुरो चल्छ पार्टी कार्यालयमा,कुरो राख्न लगाईन्छ र अर्थ्याईन्छ: तपाईँहरूले भनेको ठिकै हो, यसबारे कुरो गरौँला, तपाईँहरूले गरेको सामाजिक,आर्थिक तथा अन्य सहयोग अमूल्य छ, हामी पनि नयाँ छौँ,के के गर्न सकिन्छ बुझ्नु पर्छ,बुझ्दैछौँ अपडेट गरौँला…।
# #
रमेशलाई ती घटनाहरू फिल्मको रिल झैँ मानसपटलमा ताजै छ।अझ अगाडि भन्छन्:२०४८ सालदेखि अझ भनौँ त्यो भन्दा पनि अघिदेखि हाल २०७८ सम्म। बुझ्नु पर्छ र अपडेट गरौँला भनेको वर्षौँ वित्यो, न त त्यतिखेरको कुरो बुझियो न त त्यो भन्दा अगाडि भन्ने गरिएको दर्शन र नीति।१८ भन्दा कम भएन बरू १९ भए। मान-सम्मान पहिलेको भन्दा कम। हिजोको सबभन्दा राम्रो गुरू,आजको त्यो केही गर्न नसक्ने मास्टर? ‘मास्टर’बाट नेता भएकाहरूको पनि भाषा उहि ? अलि आक्रोशित देखिन्छन् रमेश।
फूलको माला र सामाजिक सञ्जालबाट पुलकित नेतृत्व इतिहासलाई बिर्सिए झैँ देखिनुहुन्छ। नबिर्सनेहरू पनि स्पष्ट खाका लिएर जान खोजेको झैँ देखिन्न।आजकालको ‘भाषा’ बुझ्न त्यतिखेरका शिक्षकहरू असफल भए झैँ प्रतित हुन्छन्।आफ्ना उर्जाशील समय दिएकोमा रमेशहरूलाई पछुतो त छैन तर गुनासो अवश्य छ।र, चाहन्छन् : हामीले जे भनेका थियौँ त्यो गर्न सकेनौँ भन्ने सुन्न।घुमाउरो पारामा भूमण्डलीकृतले दुनियाँ बदल्यो भन्नुभन्दा हामी बदलियौँ भनेको सुन्न। फलानाले गर्न दिएन हैन हामीले सकेको र सक्ने गरेनौँ भन्ने सुन्न। ठूला-ठूला ठेली पढेका ढिस्कानाले त्यतिखेरको भनाइ ठिक थिएनन् रे भने भन्नु भन्दा हाम्रो लाईन यो हो यहि अनुसार गरिनेछ भन्न सकिएन भन्न र त्यहि लह-लहैमा लाग्नु हुँदैनथ्यो भन्ने सुन्न।…
हिजोका भर्भराउँदा शिक्षक, हाल जनजीविका धान्न गार्हो भएका र सामाजिक रूपमा अपहेलित भएका नागरिक(/पूर्व शिक्षक रमेश लगायत)हरूको यत्ति सानो गुनासो।
# # #
-कोमल अधिकारी
प्रतिक्रिया