दैनिक अखबारका पानाहरुमा
जता हेर्यो भ्रष्टाचारका खबर
हरदिन हाड घोट्न गएका
युवाहरु बेख़बर हुँदा पनि
हिजो चप्पल पड्काउनेहरु
आज चार्टर्ड विमानबाट झरेर
जोशिलो गरी गरी
पोसिला आश्वाशन बाँड्दा
छेउ-छाउमैँ भूईँमान्छेहरु
सिटामोल नपाएर प्राण छाड्छन्
हरेक दिन मरेर पनि
भोलि त बाँच्छु भन्ने सपना साँच्छन्
विडम्वना ! आजै मर्छन्
तर देशमा नेता मात्रै बाँच्छन्।
*******************
बेथितिले थिलो थिलो थिचिदा
विश्वाशको सिमाना मिचिदा
योग्यतालाई अयोग्यहरुले ऐया बनाएपछि
बर्षौँ लगाएर आर्जेका
खोस्टा प्रमाणपत्र बाकसमा थन्काएर
आफूले भोट दिएकाहरुको चोट सहन नसकी
हरियो नोटको आशमा
हरियै पासपोर्ट बोकेर
खाडीमा जवानी बन्ध्याकरण गर्दै
बाँच्दै, आशा भाँच्दै, मृत्युवरण गर्दै
स्थिति सुधार्ने मनस्थिति च्याप्छन्
तर देशमा नेता मात्रै बाँच्छन्।
**************
मलाई नेता बाँचेकोमा गुनासो होईन
मलाई नेताले खाएकोमा चासो होईन
तर गुनासो त
फुट्ने गरी खाएर पनि देश नबनाएकोमा हो
लुट्नुसम्म लुटेर पनि नगन्हाएकोमा हो
चाहेर पनि देश नबनाएकोमा हो
ब्यवस्थाले अवस्था सुधार्छ भन्ने
उनकै भाष्य भाँसिएकोमा हो
आदर्शको ब्याख्या गरेर अपराधमा टाँसिएकोमा हो
आश्वाशनको अमृत छरेर
आफू योग्य र अरु सबै अयोग्य भन्दै
एक अर्कामा हिलो छ्याप्छन्
तर देशमा नेता मात्रै बाँच्छन् ।
–सरगम भट्टराई
प्रतिक्रिया