बगेको आशु सुकेकै छैन
फेरी आँखा रसाएको छ,
दुखेको घाउ लुकेकै छैन
फेरी नयाँ घाउ पलाएको छ,
दुखीको एउटै सहारा
भगवान् हुन्छन् भन्थे,
अहिले सबै ती विश्वासहरू
मन्दिर भित्रै हराएको छ !
दुख्न छोडेको छ छाती
दर्दहरू सबै बेहोस भएका छन्,
बाटो बिर्सेको छ हाँसोले
ओठहरू सबै स्तब्ध भएका छन्,
एउटा मुटु चुँडेर लादा
दुखले मन बुझाएका थियौ,
तीव्र गतिमा बढेका सासहरू
अहिले एकोहरो मात्र चलेका छन् !
मातृ ममताकी खानि थियौ
भातृत्व प्रेमकी मुहान तिमी,
रुझेका सपना बिउँताइ दिने
सद् मार्गकी असल ज्ञानी तिमी,
निस्ठुरी दैवले पनि तिमिलाई
आँखा गाडेको पो रहेछ,
तर पनि विश्वासमा थियौ
त्यसै छाडी जाने छैनौ तिमी !
माया प्रेमकी सागर थियौ
आफ्नो पिडा कहिल्यै खोलेनौ,
सबैका कथा र व्यथा सुन्थ्यौ
कसैको चित्त दुख्ने गरी बोलेनौ,
अहिले सबैलाई चटक्कै छोडी
सुटुक्क कहाँ गयौ तिमी
गयौ आशुका छालहरु टेक्दै
अलिकति आफ्नो छाया पनि छोडेनौ !
नसामा रगत चली रहँदा
अँगालोमा हाल्नै सकिनौ तिमी,
आँखाहरू बोली रहँदा
ओठहरू खोल्नै सकेनौ तिमी,
मुटुका हरेक धड्कनहरूले तिम्रो
जीवन रक्षाको भिक माग्दै थिए
तर आज अनायास जान्छु नभनी
कसरी हामीलाई छोडी गयौ तिमी!
फूलपाती चढाउन सकिनौ होला
भक्ति भाव त चढाएकै थियौ,
धन सम्पत्ति चढाउन सकिनौ होला
श्रद्धा र आस्था बढाएकै थियौ,
कहाँ बाट आयौ दैव तिमी
बज्र माथि बज्र थप्न अहिले,
हामीले त तिमीलाई यहाँ
पिडा हर्न पो पुकारेका थियौ !!
बिनोद पोख्रेल
तुल्सिपुर-१८, बिजोरी
हालः ह्युस्टन अमेरिका
(श्रद्धेय मेरी दिदीको सोकमा पिडाका शब्द)
प्रतिक्रिया