पाइन्छ यहाँ!

शशी खड्का बूढानिलकण्ठ,काठमाडौँ। २०७८ माघ ८ गते १८:३७ मा प्रकाशित

गरिबीको खिल्ली उडाएर मज्जाले हाँस्न पाइन्छ यहाँ
नारी स्वतन्त्रताको भाषण दिई सकेजति कुट्न पाइन्छ यहाँ
समाजसेवीको नाममा असहायको घरिघरि शोषण गर्नेले
भगवानका मूर्तिझैँ न्यायका मूर्तिहरू किन्न पाइन्छ यहाँ!!१

आजभोलि पैसा मात्र हुनुपर्छ हजुर के के पाइन्छ यहाँ
दाजुभाइ,दिदीबहिनी,श्रीमती चाहिएजति किन्न पाइन्छ यहाँ
कमाएर भकारीमा जम्मा गरेर राख्नुस् मात्र हजुर
जन्ती र मलामी दुवै चाहिएजति किन्न पाइन्छ यहाँ!!२

पैसा मात्र हुनुपर्छ हजुर आदर,सम्मान किन्न पाइन्छ यहाँ
धर्म,संस्कृति बोरामा कोचिकोचि किनबेच गर्न पाइन्छ यहाँ
व्यापारीले अखाद्यलाई गुणस्तरचिन्ह लगाएर बेच्न अनि
डाक्टरले गलत औषधि दिएर बिरामी मार्न पाइन्छ यहाँ!!३!!

ओहोदामा भए कानुनभन्दा माथि आफूलाई राख्न पाइन्छ यहाँ
धर्मशाला रासलीलाको कोठी,सम्पदालाई भट्टी बनाउन
पैसामात्र हुनुपर्छ हजुर गधालाई नुहाएर गाई बनाउन अनि
अपराधी जेलबाट छुट्दा पनि फूलमाला,अबिरले स्वागत गरिन्छ यहाँ!!४!!

शशी खड्का
बूढानिलकण्ठ, काठमाडौँ।

प्रतिक्रिया