बुटबलमा जारी कार्यशालामा सात प्रदेशकै नृत्य प्रशिक्षण

इनेप्लिज २०७८ माघ ५ गते ११:१५ मा प्रकाशित

बुटबल,४ माघ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा रुपन्देहीको शँकरपुर (बुटबल)मा यतीबेला नृत्य सिक्ने सिकाउने कार्यशाला चलिरहेको छ।मँगलबारबाट त्यहाँ राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको हो।

यो कार्यशालाको मँगलबार दिउँसो लुम्बिनी प्रदेशकी कानून, महिला बालबलिाका, जेष्ठ नागरिक तथा संस्कृति मन्त्री रमा घर्तीमगरले उद्घाटन गरिन्।कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनी प्रदेशमा पनि चाँडै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने बताईन्।यो कार्यशालामा सहभागीले एक आपसमा नृत्य सिक्नु सिकाउनु प्रसँसनीय कार्य भएको उनले बताईन्।

८ माघसम्म चल्ने यो कार्यशालामा सहभागी सबैले एउटा एउटा नृत्य प्रशिक्षण दिनुका साथै सम्बन्धित नृत्यको कार्यपत्र पनि प्रस्तुत गर्ने सहजकर्ता राजेश थापाले कार्यक्रममा बताए।उनका अनुसार कार्यशालामा ७ वटै प्रदेशबाट २४ जना नृत्य निर्देशक तथा कलाकारहरुले सहभागी भएका छन्।

नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य तथा नृत्य विभाग प्रमुख नमुना शर्माले एकले अर्कालाई सिक्न सिकाउनका लागि आफुहरुले नेपाल भरका नृत्यकारहरुलाई एकै थलोमा ल्याएको बताईन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कार्यशालामा आफुले पनि धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे।उनले आफ्नो प्रतिष्ठानले पनि आगामी दिनमा यस्ता उपयोगी मुलक कार्य गर्ने बताए।

पहिलो दिन मँगलबार प्रदेश १ बाट नृत्य निर्देशक नबिन्द्र राईले यो कार्यशालामा साकेला नृत्य सिकाए।उनले कार्यशालामा साकेलाको कार्यपत्र पनि सो क्रममा प्रस्तुत गरे।यस्तै सो कार्यशालामा प्रदेश १ बाटै ओम प्रकाश बस्नेतले राजबँशी सुमदायको हुदु दुरा नृत्य सिकाए।उनले यो नृत्यको कार्यपत्र पनि प्रस्तुत गरे। उनले बुधबार सतार नृत्य र प्रदेश २ को सामा चखेवा नृत्य प्रशिक्षणसँगै कार्यपत्र पनि प्रस्तुत गर्नेछन्।

यो कार्यशालामा सुदुरपश्चिम प्रदेशबाट छलिया, हुड्केली नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुति कार्यक्रम रहेको सहजकर्ता राजेश थापाले जानकारी गराएका छन्।यसै गरी कर्णाली प्रदेशबाट सरँग्या,पैंस्यारु र ट्याम्कुली नृत्य प्रशिक्षणसँगै यी नृत्यको कार्यपत्र प्रस्तुत गरिने भएको छ।लुम्बिनी प्रदेशबाट अनु रजकले थारु समुदायको बड्की र झर्रा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गर्नेछिन्।

कार्यशालामा गोरे गुरुङ,बमबहादुर गुरुङ, राजबहादुर गुरुङको समुहले गण्डकी प्रदेशबाट कृष्ण चरित्र,सोरठी,घाटु र कौडा नृत्यको कार्यपत्र प्रस्तुतसँगै नृत्य प्रशिक्षण दिनेछन्।यस्तै प्रदेश ३ बाट भक्तपुरको राजारानी नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत हुनेछ।प्रदेश ३ बाटै सुरेन्द्र देसार लिलतपुरको धिमे,घिन्तामै नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया