ग्रीष्मको नीलो बतास नियात्रासङ्ग्रहका नियात्रामा पर्यावरणीय चेतना

उषा आचार्य २०७८ माघ २ गते १३:३१ मा प्रकाशित

१. विषयपरिचय

दामोदर पुडासैनी किशोरद्वारा लिखित ग्रीष्मको नीलो बतास खप्तड आसपासका क्षेत्रमा गरिएको यात्राको भावात्मक अभिव्यक्ति भएको नियात्रासङ्ग्रह हो । यस सङ्ग्रहमा तेइसओटा विभिन्न शीर्षकमा नियात्रा व्यवस्थित गरिएको छ ।

प्रत्येक शीर्षकका शिरानमा एकएक हरफमार्फत नियात्राको मूल वस्तुको अभिव्यक्ति गरिएको छ । नियात्रालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिने भए पनि पर्यावरणीय सचेतता यस कृतिको सबल पक्ष हो । यहाँ काठमाडौँदेखि खप्तडको यात्रामा निस्कनुको उद्देश्यदेखि त्यहाँ देखिएको प्रकृति, प्राकृतिक वस्तुबिचको अन्तरसम्बन्ध, सहरीकरण, आधुनिकतासँगै बढ्दै गएको वायु, जल, ध्वनि प्रदूषण, जीवहत्या, वन फँडानीको चित्रणका साथै ती प्राकृतिक जीव र वनस्पतिको बाँच्ने अधिकारमाथि आवाज उठाइएको छ । प्रकृतिमा रहेका यिनै जीव, वनस्पति, मानिस, हावा, पानी, जमीनको समष्टि नै पर्यावरण हो । पर्यावरण सन्तुलन भएन भने मानव अस्तित्व पनि सुरक्षित रहन सक्दैन त्यसैले प्रकृतिका सबै जीव र वनस्पितिको बाँच्ने अधिकार छ भन्ने कुरा पर्यावरणीय समालोचनाले खोज्दछ । प्रस्तुत कृतिमा पनि पशुबलिसँग जोडिएका अन्धविश्वास र त्यसको विरोध, पशुको बाँच्ने अधिकारको खोजी साथै औद्योगिक विकासका कारण वातावरणमा बढ्दै गएको प्रदूषणको चित्रण गरिएको छ । यसका साथै जङ्गल, जनावर, फूल अथवा प्रकृतिका अन्य जीव नभएको भए मानिसको अस्तित्व पनि सुरक्षित हुने थिएन त्यसैले यी सबै जीव र बोटबिरुवाको बाँच्ने अधिकार मानिसले खोस्नु हुँदैन भन्ने विचार कृतिमा व्यक्त छ । त्यसैले यो कृति पर्यावरणीय समालोचनाको अनुकूल बनेको छ ।

यस अध्ययनमा ग्रीष्मको नीलो बतास नियात्रासङ्ग्रहका नियात्रामा चित्रित वातावरण प्रदूषण र त्यसको अन्त्य हुनुपर्ने विचार साथै पारिस्थितिक चक्रप्रति लेखकको सचेतता दुई कोणबाट कृतिको विश्लेषण गरिएको छ । यसका लागि बु एलका पर्यावरणीय समालोचनासम्बन्धी मान्यतालाई मूल आधार बनाई अन्य विद्वानका पर्यावरणीय समालोचनासम्बन्धी चिन्तनसमेत प्रस्तुत गरिएको छ ।

२. स्वच्छ वातावरणको आग्रह

हाम्रो वरपर रहेका जीवजन्तु, प्रकृति, वनस्पति, हावापानी पर्यावरण हुन् । पर्यावरणीय समालोचनाले पर्यावरणका उल्लिखित तŒवमाथि परेको प्रभावको अध्ययन गर्दछ । पर्यावरण जैविक प्रकृयाको समग्र रूप भएकाले यी चक्रमा खलल हुन नहुने मान्यता यस समालोचनाले राख्दछ । पर्यावरणीय समालोचनाले कृतिनिष्ठ भई त्यहाँ चित्रित पर्यावरणीय सन्तुलन तथा पारिस्थितिक प्रणालीको अध्ययन गर्दछ । यसरी अध्ययन गर्ने क्रममा प्राकृतिक सौन्दर्यको वर्णन नगरी विकासका कारण निम्तिएको प्राकृतिक विनाश, सहरीकरणसँग फैलिएको प्रदूषण, मानवका अनैतिक क्रियाकलापबाट आएका विभिन्न प्राकृतिक सङ्कट र पारिस्थितिक प्रणालीमा आएको अवरोधको विश्लेषण गर्दछ । बिसौँ शताब्दीको मध्यतिर विभिन्न कारणले वातावरणमा देखा परेको गम्भीर सङ्कट र त्यसको समाधानका क्रममा वातावरणविद्हरूबाट सुरु भएको अवधारणा पर्यावरणीय समालोचना हो (केरिज, २००६, ५३१) । यस समालोचनाले आधुनिकतालाई प्रकृतिको विपरित मान्छ । प्राकृतिक सौन्दर्यको बयान नभई वातावरणमाथि मानिसको हस्तक्षेप र जैविक चक्रका विपरितका क्रियाकलाप प्रस्तुत गरिएको कृतिलाई यस समालोचनाले अनुकूल मान्दछ । अर्थात् पर्यावरणीय मान्यताअनुसार प्रकृतिचित्रण आदिलाई सौन्दर्य, आनन्द वा विलसिताको माध्यम मान्दैन, बरु वातावरणअन्तर्गत जन्तु, मानव, वनस्पति र प्रकृतिका सहअस्तित्वको खोजी गर्छ । यसले आधुनिक गगनचुम्बी भवन र विशाल कलकारखानाको निर्माण वन जङ्गलको विनाश, जनावर तथा वनस्पतिको लोप आदिबाट पृथ्वी तथा त्यसका वातावरणको विध्वंस हुन लागेको मान्छ । यसले पृथ्वीको संरक्षणका दृष्टिबाट पर्यावरणचक्रमाथि पर्ने प्रभावको कृतिगत विश्लेषण गर्छ । (शर्मा, २०६६, पृ.३५५) प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रा सङ्ग्रहका नियात्रामा पनि प्राकृतिक सङ्कटका कारक मानिस हो भन्दै मानवीय क्रियाकलापबाट निम्तिएको वातावरणीय प्रभाव र मानिस तथा जीवको स्वास्थ्यमाथि देखिएको गभ्भीर असरलाई चित्रण गरिएको छ ।

ग्रीष्मको नीलो बतास नियात्रासङ्ग्रहका नियात्रामा गाउँ र सहर दुवैतिर प्रदूणण बढेको विचार प्रस्तुत गरेका छन् । बढ्दै गएको सहरीकरणले वातावरण धमिलो बनाएको विचार यहाँ छ । पहिले गाउँका भन्छामा धूवाँ हुन्थ्यो बाहिर स्वच्छ हावा पाइन्थ्यो भन्दै त्यसका विपरित सहरमा भने भान्छा सफा हुने तर सहरभरि धूवाँ र धुलोले निसास्सिने वर्तमान परिस्थितिको प्रस्तुति यस कृतिमा छ । वातावरणमा बढ्दै गएको विषाक्त धूवाँ र गाडीको आवाज, उद्योगधन्दाबाट निस्किएको धूवाँ, प्लास्टिक आदिबाट विषाक्त ग्याँस उत्पादन भएको र त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर पारेको विचार कृतिमा यसरी प्रकट भएको छ ः

हिजो गाउँका भान्छाको धूवाँले सधैँ निस्सासिलो बनाउँथ्यो । घरबाहिर निस्किनेबित्तिकै भने शितल, सफा र सुगन्धी हावामा खाइरहन पाइन्थ्यो कावा । सहरका भान्छामा त्यति धेरै धूवाँ छैन सहर पूरै निसास्सिरहेछ घूवाँले । गाडीको कर्कसे आवाज र तिनीहरूले फालेका विषाक्त धूवाँ सहरका कुनाकानी छरिएका इँटाभट्टा, क्रसर र लथालिङ्गे चालले चलिरहेका कलकारखाना । तिनीहरूबाट निस्केका प्रदूषित धूवाँ र जथाभावी बालिएका प्लास्टिकबाट निस्किरहेका डाइअक्सिजन र फ्युरानजस्ता विषाक्त धूवाँले सहरीयको शरीर गल्दो छ, मन र मस्तिष्क झन्झ्न ओरालो झर्दो छ । अलिकति भएपनि धूवाँबाट मुक्ति पाउन पहाडका काखहरूमा पुगिहाल्न मन पराउँछु म । फोक्सोभरि कस जमाउने धूवाँबाट सधैँ परै रहन पाए कति फुर्तिलो बन्थ्योहोला शरीर । (पृ. ३)
यहाँ विभिन्न कलकारखाना, मानिसका अव्यवस्थित कार्यकलाप र सहरीकरणका कारण वातवरणीय प्रदूषण बढ्दै गएको र त्यसबाट डाइअक्सिजन, फ्युरानजस्ता विषालु ग्याँसबाट थकित भई त्यसबाट मुक्ति चाहेको विचार प्रस्तुत छ । प्रदूषणबाट टाढा जानका लागि पहाड तथा गाउँतिर गई स्वस्थ र फुर्तिलो बन्न सक्ने चेतना नियात्रामा प्रस्तुत छ । खप्तडको यात्रामा निस्किएका नियात्राकार पिपल्लाबजारमा देखिएको दुर्गन्ध, वन फँडानी तथा सौन्दर्यको विनासलाई यसरी प्रस्तुत गरेका छन् ः

राजापुरबाट अलिकति तल झरेपछि भेटिन्छ पिपल्लाबजार । पहाडको काखमा फैलिएको पिपल्लाबजार घन्चमन्चको धुइरो बनेको छ । सडक छ सडक वरिपरि बेपरवाहसँग बनेका छन् घरहरू घरवरिपरि रूखहरू छैनन्, फूल बिरुवा र सफासुग्घर छैन । गाडीको घ्यारघ्यार जताततै छ, ट्याँट्याँ र टुँटुँ हर्नको अत्यास लाग्दो बजान छ । सहर बनाउने तर शान्ति र सौन्दर्य भगाउने त्यस्तो सहरको के काम ? (पृ. ५८)

यहाँ पिपल्लाबजारमा सहरीकरण बढ्दै गएको, अव्यवस्थित तरिकाले घरहरू बनेको बोटबिरुवा पनि नलगाइएको र दुर्गन्ध फैलिएको साथै गाडीको आवाजले वातावरण प्रदूषण सिर्जना गरेको विचार अभिव्यक्त गरिएको छ । सहर बनाउने नाममा शान्ति र सौन्दर्य भत्काइएकोप्रति लेखकको आक्रोश छ । सौन्दर्यविनाको सहर औचित्यहीन रहेको भन्दै लेखकले पिपल्लाबजारमा सौन्दर्य बढोस् भन्ने चाहना प्रकट गरेका छन् । पिपल्लाबजारमा आठदसवटा पिपलाका बोटहरू फैलियून् केही सोलीफूल झाँगियून् । जिरेनियम गमलामा फुलिरहून् । सयपत्री, केरा र बेगमबेली हल्लिरहून् हावासँग (पृ. ५८) भन्दै यहाँ प्राकृतिक सौन्दर्य बढाउनुपर्ने चेत प्रकट भएको छ । देशमा बढ्दै गएको सहरीकरण प्रकृतिका विरुद्ध उभिएको अर्थात् सहरीकरणका माध्यमबाट प्राकृतिक तŒवमा ह्रास आएको विचार कृतिमा प्रकट भएको छ । नियात्राकारले ‘‘सहरहरू फूलको विरुद्ध उभिएका छन् । उभिएका छन् चरा, चौर, जङ्गल र नीला नदीहरूको विरुद्धमा । प्लास्टिक, फलाम, विषादी र धूवाँको पखेटा फटफटाएर बातानुकूलित कोठाभित्र बनावटी शान्ति खोजिरहेछ सहर’’ (पृ. ११९) । भन्दै सहरीकरणले वातावरणमा विषादी फैलाएको र साँघुरो क्षेत्रमा शान्तिको पुकार गरिरहेको छ भन्ने भाव अभिव्यक्त गरेका छन् । मानिसले आफ्ना आवश्यकता पूरा गर्ने तथा विकसित र आधुनिक हुने वहानामा प्रकृतिलाई मासिरहेको, त्यसको भावसँग खेलिरहेको र प्राकृतिक जीव, वनस्पति, हावापानीप्रतिकूल क्रियाकलाप गरेको विचार यहाँ प्रस्तुत छ ।

मानिस संस्कृतिमा आफ्नो पहिचान रहेको विश्वास गर्छ र त्यसलाई बचाउन हरतरहले लागिरहन्छ । त्यही संस्कृति बचाउनका निम्ति प्रकृतिको विनास गर्न तम्तयार हुन्छ । त्यस्ता मानिससँग प्रकृतिलाई बचाउनुपर्छ अर्थात् ती व्यक्तिको स्वार्थ प्रकृतिमाथि पर्न दिनु हुँदैन भन्ने सुझाव लेखकले दिएका छन् । उनले ‘‘संस्कृति बचाउन प्रकृति मास्न खोज्ने मान्छेहरूलाई सजगसँग विचरण गर्न भन्नुपर्छ पाटनहरूमा’’ (पृृ. १२०) । भन्दै सुन्दर पाटनमा संस्कृति बचाउन प्रकृति नाश गर्ने व्यक्तिलाई स्वार्थपूर्ति गर्न दिन नहुने तथा त्यो सौन्दर्य पान गर्दा प्रकृतिप्रति सजग रहन भन्नुपर्ने भाव अभिव्यक्त गरेका छन् ।

३. पारिस्थितिक प्रणालीप्रति सचेतता

जीव, वनस्पति, मानव, हावापानी आदि प्राकृतिक वस्तुको चक्रबाट पारिस्थितिक प्रणाली चलेको हुन्छ । एकको अभावमा त्यो चक्र अपूर्ण बन्न पुग्छ । वर्तमान समयमा मानिसले प्राकृतिक चक्रमाथि हस्तक्षेप गरिरहेका छन् । विभिन्न संस्कृति, आवश्यकता र भौतिक विकासका नाममा पारिस्थितिक चक्रमाथि हमला भइरहेको पाइन्छ । यसरी मानवीय स्वार्थका लागि गरिएको प्राकृतिक हस्तक्षेप र पारिस्थितिक चक्रमाथि आएको खललको चित्रण गरिएको कृति पर्यापरणीय समालोचनाका दृष्टिले अनुकूल मानिन्छ । यस सन्दर्भमा बु एल (१९९५) ले कृतिमा (१) पर्यावरणलाई रचनात्मक संरचनाका रूपमा प्रस्तुत गर्न नहुने, (२) मानवीय आवश्यकता र इच्छालाई तर्कसङ्गत र स्वाभाविक मान्न नहुने, (३) पर्यावरणप्रति मानवीय कर्तव्यलाई नैतिक अभिमूखीकरणको पक्ष मानिनुपर्ने, र (४) पर्यावरण व्यवस्थित चक्र हो भन्ने कुरा कृतिमा देखिनुपर्ने विचार प्रस्तुत गरेका छन् । बु एलले भनेझैँ प्रस्तुत नियात्रासङ्ग्रहका नियात्रामा पनि मानिसका स्वार्थी क्रियाकलापले पर्यावरणीय चक्रमाथि सङ्कट पैदा भएको र त्यसलाई कम गर्नुपर्ने मानव दायित्व रहेको पक्षमाथि जोड दिइएको छ । यस कृतिमा संस्कृति र अन्धविश्वासका कारण मानिसले अन्य जीवमाथि गरेको शोषण, हत्या र हिंसाप्रति प्रश्न गरिएको छ । ‘‘आजसम्म द्यौलाका लागि बलि दिएर कोही नमरेको छ ? कोही बिरामी नभएको छ ? कोहीले विध्वंश गर्न छाडेको छ ?’’ ( पृ.३८) । भन्ने प्रश्नमा मानवीय स्वार्थका निम्ति चलेको बलिप्रथामाथि आक्रोश व्यक्त गरिएको छ । दीर्घायुका लागि, शान्तिका लागि अथवा ईश्वरका नाममा दिइने बलिले मानवीय समस्या समाधान नहुने तर ती जीवको हत्याका कारण पारिस्थितिक प्रणालीमा खलल आउने विचार लेखकको छ ।

नियात्राकारले प्रस्तुत कृतिमा जीवहत्याको मात्र चित्रण नगरी वनस्पति, जीवजन्तु सबैको अस्तित्वबाट नै मानिसको अस्तित्व कायम रहेको भावसमेत प्रस्तुत गरेका छन् । उनले ‘‘जङ्गलको फूलबारी र मान्छेको फूलबारीमा रमाएका छन् आँखाहरू मसँगैको एउटा फूलले हटाएकी छिन् उकालो चढ्दाको सारा पट्यार । साँच्चै जङ्गल नभएको भए, फूलहरू नफुलेको भए, जनावरहरू नभएको भए कहाँ बाच्थ्यौँ र हामी ?’’ (पृ. ८६) भन्दै वनजङ्गल, फूल, जनावर नभएको भए मानिस पनि बाँच्न सक्दैनथ्यो त्यसैले मानवको जीवन अस्तित्व पारिस्थितिक प्रणाली वा चक्रबाट नै जीवन्त छ भन्ने भाव अभिव्यक्त गरेका छन् । मानिस अन्य जीवभन्दा चेतनशील प्राणी भएकाले प्रकृतिलाई आफूअनुकूल प्रयोग गर्न जान्दछ । त्यसैले मानव मात्रले विज्ञान र भौतिक विकासका माध्यमबाट असम्भव कुरालाई सम्भव तुल्याएका छन् । यस्तो चरम विकासका क्रममा प्रकृतिको विनास गर्ने वा प्रकृतिको संरक्षण गरी विकासको गति अगाडि बढाउने भन्ने मानवकै हातमा छ । त्यसैले लेखकले भनेका छन् ‘‘प्रकृति निरन्तर छ, बिथोल्ने वा नबिथोल्ने उसलाई त्यो जीव मात्रको क्षमता र फैलावटमा भर पर्ने रहेछ’’ (पृ. ११७) । यहाँ प्रकृति निरन्तर रहेको र आफ्नो गतिमा अगाडि बढिरहेको भन्दै त्यस प्रकृतिलाई बिथोल्ने वा संरक्षण गर्ने त्यो जीवको क्षमता र सीमामा भर पर्छ भन्ने विचार प्रकट गरिएको छ ।

प्रकृतिको आफ्नो नियम हुन्छ । प्रकृतिका सबै चिज मानिसले भौतिक प्रयोगका लागि मात्र गर्ने किसिमका हुँदैनन् । पर्यावरणीय समालोचनाले पृथ्वीमा रहेका प्रकृति, जीवजन्तु, कीटपतङ्गजस्ता तŒवको अधिकारको कुरा गर्दछ । मानिसका स्वार्थी क्रियाकलापका कारण पृथ्वीको पर्यावरणीय चक्रमा परेको नकारात्मक प्रभावलाई यसले अध्ययनको मूल विषय बनाएको हुन्छ (आचार्य,२०७७, पृ.६५) । प्रस्तुत नियात्रामा पनि मानिसले आफ्नो क्षणिक आनन्दका निम्ति प्रकृतिको हत्या गर्न नहुने विचार अभिव्यक्त छ । नियात्रामा अभिव्यक्त ‘‘फुल टिप्नु हुँदैनथ्यो । … फूल त हेर्न र वास लिन मात्र हो । अर्काको जीवन नै चटक्क चुँडालेर एकक्षण हल्लाउँदै फालिदिन आँट गर्ने कति स्वार्थी छौँ हगि हामी मान्छेहरू’’ (पृ. १२८) । भन्ने भनाइमा जीव, वनस्पतिको पनि बाँच्ने अधिकार छ भनिएको छ । मानिसले आफ्नो स्वार्थ पूरा गर्नका निम्ति ती जीव र वनस्पति साथै प्रकृतिका अन्य वस्तुको हत्या गर्न नहुने विचार यहाँ आएको छ ।

४. निष्कर्ष

दामोदर पुडासैनीकृत ग्रीष्मको नीलो आकास नियात्रासङ्ग्रहका नियात्रामा पर्यावरण र मानवको सहअस्तित्वको खोजी गरिएको छ । मानिसले त्यस सहअस्तित्व बिर्सेर प्रकृतिलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिएकोमा आक्रोश व्यक्त गर्दै पर्यावरणीय चक्रबाट मानव अस्तित्व कायम रहने विचार व्यक्त गरिएको छ । खप्तड क्षेत्रको यात्राका क्रममा अनुभव गरिएका विषयलाई प्रस्तुत गर्दै यहाँ लेखकले बाटोमा भेटिएका व्यक्ति र दृश्यका बिचमा पर्यावरणीय चेतनाको प्रस्तुति दिएका छन् । काठमाडौबाट पहाडी जिल्लामा घुम्न जानुको उद्देश्य यहाँको धूलो धूवाँबाट केहीक्षणका लागि भए पनि मुक्ति चाहनु हो । कृतिमा मुक्तिको चाहना मात्र प्रकट नभई वातावरणीय प्रदूषणका कारण र त्यसका असरको समेत चित्रण गरिएको छ । मानिस प्रकृतितर्फ आकर्षित हुने भए पनि उसका स्वार्थी क्रियाकलापले प्रकृतिको विनाश गरेको विचार यस कृतिको बलियो पक्ष हो । धर्म, संस्कृति वा व्यक्तिगत स्वार्थका लागि पशुको बलि दिने प्रवृत्ति, क्षणिक सौन्दर्यपाना निम्ति फूलको अस्तित्व मेट्नु, विकास र सुविधाका लागि वनजङ्गल विनास गर्नुजस्ता यथार्थको प्रस्तुति गर्दै यस कृतिमा मानिसका यिनै स्वार्थी प्रवृत्तिले मानव अस्तित्व सङ्कटमा परेको विचार व्यक्त गरिएको छ । समग्रमा यस कृतिका नियात्रामा जीव, प्रकृति, मानवबिच सहसम्बन्ध छ जसका कारण एकअर्काको अस्तित्व कायम छ त्यसैले एकले अर्काको विनास गर्न नहुने सबैको बाँच्ने अधिकार छ भन्ने विचार प्रकट गरिएको छ जसका कारण यो कृति पूर्णत : पर्यावरणअनुकूल छ ।

सन्दर्भग्रन्थ सूची

आचार्य, उषा (२०७७), ‘हिमालका आवाज कवितासङ्ग्रहका कवितामा पर्यावरणबोध’, दोभान, पृ.६४– ७१ ।केरिज, रिचार्ड(सन् २००६), इन्भारमेन्टालिज्म एन्ड इको क्रिटिसिज्म लिटेररी, लन्डन ः अक्सफोर्ड युनिभर्सिटी प्रेस ।पुडासैनी, दामोदर किशोर (२०७८), ग्रीष्मको नीलो बतास , काठमाडौँ ः रत्न पुस्तक भण्डार । बुएल, लरेन्स (सन् १९९५), दि इन्भाइरमेन्टल इम्याजिनेसन ः थोरो नेचर राइटिङ, एन्ड दि फर्मेसन अफ अमेरिकन कल्चर, क्याब्रिज ः हार्वर्ड युनिभर्सिटी प्रेस ।शर्मा, मोहनराज (२०६६), आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, काठमाडौँ ः क्वेस्ट पब्लिकेसन ।

प्रतिक्रिया