किन एडभान्स हस्पिटलमा पटक पटक लापर्वाही ? फेरि अर्को बच्चा मर्यो (भिडियोसहित)

इनेप्लिज २०७८ पुष २८ गते ११:१२ मा प्रकाशित

दमक । मंगलबार राति ११ बजे ढुंगा र इट्टा प्रहारबाट झापाको दमकस्थित एडभान्स मल्टिस्पेशियालिटी हस्पिटलका अधिकांश सिसाहरु फुटेका छन् । इलाम चुलाचुलीका तीन महिनाका एक शिशुको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले हस्पिटल तोडफोड गरे । रातको समयमा ढुंगा प्रहार हुन थालेपछि हस्पिटल आसपासको क्षेत्र तनाबग्रस्त बनेको थियो । आक्रोशित समूहले ढुंगा प्रहार थालेपछि प्रहरी प्रशासनलाई हस्पिटल जोगाउन हम्मेहम्मे परेको थियो । केही प्रहरीलाई ढुंगाले लागेर घाइते भएको बताइएको छ ।  सामान्य अवस्थामा उपचारका लागि ल्याइएका चुलाचुली–४ का रविन राई र शोभा राईका करिब ३ महिनाका छोरा नुदिनहाङ राईको हस्पिटलको चरम लापर्वाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित समूहले अस्पतालमा तोडफोड गरेको छ ।

साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका शिशुको उपचारमा एडभान्स अस्पतालको त्रुटीका कारण मंगलबार धरानस्थित विपी कोइरा स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गरेको हो । तोडफोडका कारण अस्पतालको महत्वपूर्ण भागहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
एडभान्स अस्पतालमा किन यस्ता घटना पटक पटक हुन्छ ?

एडभान्स हस्पिटलमा चुलाचुलीका तीन महिनाका शिशुको मृत्यु भएको घटना पहिलो होइन । यसअघि पनि हस्पिटलको लापर्वाहीका कारण ११ महिनाको बच्चाको मृत्यु भएको भन्दै सो बेला पनि तोडफोड भएको थियो । कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया