गैर आवासीय नेपाली सङ्घ,अमेरिका प्रेस विज्ञप्ति !

इनेप्लिज २०७८ पुष २३ गते २२:३२ मा प्रकाशित

वासिङ्टन डी सी स्थित नेपाली राजदूतावासमा गैर आवासीय नेपाली सङ्घका पदाधिकारी,सल्लाहकारसँग बिहीबार ‘गैर आवासीय नेपाली र नेपालमा लगानीको अवसर’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ।सो अवसरमा अमेरिका स्थित नेपाली राजदूतावासका अधिकारीहरूले नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले देशको विकास र समुन्नतिका लागि अव आर्थिक क्रान्तिको समय आएको आफ्नो मन्तव्य र प्रस्तुति दिनु भयो।दूतावासका इकोनमिक काउन्सलर होमकान्त भण्डारीले आर्थिक विकासका सूचक,सम्भावना र अवसरका विभिन्न आयाम माथि चर्चा गर्नु भयो।नेपालमा राजनीतिक परिवर्तनहरू पछि खुला अर्थतन्त्र,लगानी मैत्री वातावरणको परिवेश निर्माण भएकाले आर्थिक क्रान्तिको सँघारमा रहेको नेपालमा विदेशमा रहनु भएका नेपालीहरूले लगानी गरेर लाभ उठाउन र देश विकासको हिस्सेदार हुने अवसर आएको उल्लेख गर्नु भयो ।एक दिनको सूचनामा अमेरिकाको राजधानी वासिङ्टन डी सी स्थित राजदूतावासको सभा हलमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई संवोधन गर्दै गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीले नेपालमा लगानी गर्न अहिले पनि नीतिगत र व्यवहारिक रूपमा थुप्रै उल्झनहरू रहेको औँल्याउनु भयो।दोहोरो कर प्रणालीको अन्तका लागि दुई देश बिच सहमतिका लागि तत्काल काम सुरु गर्नु पर्ने,लगानी,मुनाफा र करको विषयमा रहेका अन्यौलता हटाइनु पर्ने ,लगानीको दायरा बढाउनु पर्ने,नेपालमा जन्मिएका गैर आवासीय नेपालीहरूलाई स्वदेश फर्किदा भिसा शुल्क हटाइनु पर्ने लगायतका विषयमा अध्यक्ष सुवेदीले ध्यान आकर्षण गराउनु भएको थियो।नेपाल सरकार अर्थ मन्त्रालयले गैर आवासीय नेपालीहरूलाई नेपालमा डलर खाता खोल्न,पैसा जम्मा गर्न,ब्याज लिन र आवश्यक परेको अवस्थामा सहजै झिक्न सकिने गरी डलर खाता सञ्चालनमा गरेको परिमार्जनको अध्यक्ष सुवेदीले सह्राना गर्नु भयो । नेपालमा लगानी गर्न थुप्रै गैर आवासीय नेपालीहरू इच्छुक रहेको उल्लेख गर्दै सान्दर्भिक विषयमा अन्तरक्रिया आयोजना गरेकोमा अध्यक्ष सुवेदीले नेपाली राजदूतावासलाई धन्यवाद दिनु भयो।

गैर आवासीय नेपाली सङ्घले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना लगानी गर्ने तयारी गरिसकेको छ।गैर आवासीय नेपालीहरूको सामूहिक र व्यक्तिगत लगानीका विषयमा पनि कार्यक्रममा छलफल भयो।गैर आवासीय नेपालीहरूको सामूहिक लगानी कोषमा नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरी सङ्कलन गरिने छ।आईपीओ भने सार्क मुलुक बाहेकका गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेल,गैर आवासीय नेपाली सङ्घ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमल्सीना,गैर आवासीय नेपाली सङ्घका अनअरीकाउन्सिल मेम्बर राधेश पण्डितले लगानी र अवसरका विविध पक्षमा आफ्नो धारणा राख्नु भयो।कार्यक्रममा कृष्ण केसी,पवन चित्रकारले फरक विषयहरूमा प्रस्तुतिहरू दिनु भएको थियो।नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रम उत्तम घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

अन्जन कुमार चौलागाई
महासचिव,गैर आवासीय नेपाली सङ्घ,अमेरिका
मिति: जनवरी ७–२०२२

प्रतिक्रिया