आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१६
वासिङटन डिसी 03:31

चलचित्र निर्देशक दीपक श्रेष्ठ कहाँ छन् ? के गर्दैछन् ?? कसैलाई थाहा छ ???

ज्योतिकुमार श्रेष्ठ २०७८ पुष २१ गते २२:४७ मा प्रकाशित

शुरुमा बिसं. २०४७ सालमा मदनकृष्ण हरिवंश लगायत कलाकार टोली धरान गणेश टाकिज हलमा “शिखर साँझ” कार्यक्रम लिएर आउँदा कार्यक्रम उद्घोषक कारणवश कार्यक्रममा आउन नसक्ने भएपछि राम्रो उद्घोषकको खोजी भयो । कसैले दीपक श्रेष्ठको नाम सिफारिश गरेपछि उनी सो टीममा १३ शोमा ३५ दिन नेपालको विभिन्न सहरहरुमा उदघोषक भएर हिडे ।

त्यसबेला उनि शारीरिक रुपमा हिरो थिए । उनलाई त्यसबेला धरानेहरु हिन्दी फिल्म “लव स्टोरी” का नायक कुमार गौरवको नामले पनि चिन्दथे । उनी झण्डै कुमार गौरव जस्तै देखिन्थे ।

कार्यक्रम उद्घोषकको रुपमा सबैले उनलाई तारिफ गरेपछि उनि नेपाल टेलिभिजनको उद्घोषक हुन हौसिए । सुर्रिएर उनि एकपटक नेपाल टेलिभिजनको कार्यालय सिंहदरवारमा तत्कालीन महाप्रवन्धक नीर शाहलाई भेट्न गए । नीर शाहले उनलाई तल देखि माथि सम्म हेरिसकेपछि के लाग्यो कुन्नी भोलिपल्टै देखि काम शुरु गर भनेर बाँटो लागे ।

यो कुरा बि.सं. २०४८ सालको हो । उनले नेपाल टेलिभिजनमा प्रस्तोता (उद्घोषक) को रुपमा ७ वर्ष सम्म “संगीत सन्ध्या” कार्यक्रम संचालन गरे ।

त्यसपछि लोकप्रिय गायक रामकृष्ण ढकालका ‘गड फादर’ भनेर चिनिने फिल्म निर्माता गोपाल कर्माचार्यले राजेश हमाल र दीपाश्री निरौला अभिनीत चलचित्र “गाउँले” निर्देशन गर्न प्रस्ताव गरे । शुरुमा दीपक श्रेष्ठ निर्देशक बन्न अन्कनाए तर गोपाल कर्माचार्यले उनलाई हौस्याए । त्यसपछि उनले दु:ख; पापी मान्छे; हिम्मत; तक़दीर लगायत ३० वटा जति चलचित्र निर्देशन गरे । “तक़दीर” चलचित्रमा उनले सर्वोत्कृष्ट निर्देशकको नेफ्टा अवार्ड पनि प्राप्त गरे ।

कमर्शियल फिल्मका निर्देशक दीपक श्रेष्ठको पछिल्लो फिल्महरु कम चल्न थालेपछि उनलाई फिल्म निर्देशनको प्रस्ताव आउन कम हुदै रोकियो पनि ।
शुरुका दिनहरुमा उनी “बलेका आगो” थिए, निर्माता; कलाकार; गायक संगीतकार सबै ताप्न आउँथे, पछि आगो निभ्न थालेपछि सबैले मुन्टो बटारे । कतिसम्म भने छोरीको बिवाहको निम्तो दिन २ पटक सम्म राजेश हमालको घर पुग्दा पनि हमालले भेट गर्न चाहेनन् उनीसंग । समय आफ्नो पक्षमा नभएपछि ७ वर्ष सम्म उनी गुमनाम भए । कतिले लख काटे – उनलाई ‘डिप्रेशन’ भयो । तर उनी सामान्य अवस्थामा नै थिए ।

निरुता सिंह र दिलिप रायमाझीसंग काम गर्दा ‘कम्फर्टेबल’ मान्ने निर्देशक श्रेष्ठले कतिपय निर्माताहरुसंग संझौता गरिएको रकम भन्दा पनि कम रकम लिएर पनि काम गरे । अझ यिनी निर्देशकको पारिश्रमिक मात्र लिएर पनि चलचित्र बनिसकेपछि हलसम्म पुऱ्याईदिने सहयोग पनि गर्दथे ।

७ वर्षको गुमनाम जीवनबाट उनी एकदिन झल्यास्स ब्युझिए र फेसबुकमा छापिएको कथाकार मन्दिरा मधुश्री “मासुको मुल्य” कथामा उनको आँखा गाडियो । कथा लामो थियो तर नसकुन्जेल पढिरह्यो । फेरि पढ्यो, फेरि पढ्यो, एकछिन घोरिएर बस्यो, उनको टाउको हल्लियो । के सोच्यो कुन्नी, मन्दिरा मधुश्रीलाई मेसेन्जरबाटै सम्पर्क गरेर भन्यो – “मन्दिराजी, “मासुको मुल्य” को म फिल्म बनाउँछु ।” कथाकार मन्दिरा मधुश्रीलाई “के खोज्छस् कानो आँखो” भनेजस्तै भयो । दीपक श्रेष्ठ जस्तो राम्रो निर्देशकले प्रस्ताव गरेपछि उनलाई के चाहियो र ! उनले एकै श्वासमा “हुन्छ” भनिदियो ।

अहिले यो कथा फिल्म बनेको छ । फिल्मको नाम “घिन्ताङ” राखिएको छ । “चालीस कटेसी रमाऔंला” म्युजिक भिडीयोका चर्चित नायक गौरव पहाड़ी र अर्का प्रसिद्ध नायिका केकी अधिकारी अभिनीत चलचित्र “घिन्ताङ” को शुटिङ भर्खरै सकिएर ‘पोष्ट प्रोडक्शन’ को काम भैरहेको छ ।
घिन्ताङबाट ‘कमब्याक’ भएका निर्देशक दीपक श्रेष्ठ भने यतिखेर पारिवारिक भेटघाट नेपाली फिल्मको बजार बुझ्न न्यूयोर्कमा छन् । अब उनि छिट्टै नेपाल फर्किएर “घिन्ताङ” लाई न्यूयोर्कमा ‘प्रिमियर शो’ गर्ने तयारीमा रहेका छन् ।

न्यूयोर्क स्थित नेवा: गुठीले निर्देशक दीपक श्रेष्ठलाई गत डिसेम्बर १८, २०२१ का दिन नेपाली चलचित्रमा योगदान पुऱ्याएको भनि सम्मान गरेको छ । अब उनले एउटा नेवारी संस्कृति र संस्कारमा आधारित रहेर छोटो चलचित्र बनाउने भएको छ ।

निर्देशक श्रेष्ठले अहिलेसम्म करिव ७० वटा जति नेपाली म्युजिक भिडीयो पनि निर्देशन गरेका छन् । नेपाली चलचित्रमा उनको ‘कमब्याक’ को खबरले दर्शकहरु उत्साहित छन् । उनको ‘कमब्याक’ फिल्म “घिन्ताङ” सफल रहोस् !

पंक्तिकार: ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क

प्रतिक्रिया