“ए बुढी ! एकमाना चामल झोलामा ठिक्क पारिदेऊ।मानो मिसाउन जानु पर्यो।पुछ्रारे फणिनारायण काका बितेछन् सहरमा।” – नेत्रनाथले पत्निलाई अह्रायो।
नेत्रनाथसँगै भोजराज, छविलाल लगायत दाजुभाइहरु जुटेर मानो मिसाउन हिँडे सहरमा।
विभिन्न ठूला ओहोदामा काम गरेका र कुनै बेला राजदूत समेत भैसकेका फणिनारायणको भव्य महलमा पुगे नेत्रनाथहरु।
कुनै मेला लागे जस्तो मान्छेको भिडभाड थियो उक्त महलमा।नेत्रनाथहरुले चामलको झोला हस्तान्तरण गरे। टेवुलमाथि राखिएको फणिनारायणको फोटोमा अविर, फूल चढाइ श्रद्धाञ्जलि अर्पण गरे अनि एक किनारमा बसेर त्यहाँको गतिविधि नियालिरहे।
“हेर हेर यत्ति चामल पो लिएर आएका कहाँका पाखे रहेछन् ? यत्रो घरमा यो चामलको के काम ?” – अलि परबाट आएको मधुरो आवाज सुन्यो भोजराजले।
बस्दै गर्दा विभिन्न व्यक्तिहरुले फ्रेमहरु हस्तान्तरण गरेको दृष्य देखे उनीहरुले।
“हैन् यो सम्मान पत्र , प्रशंसा पत्र दिए जस्तै के दिन्छन् यिनीहरु ?” – छविलालले नेत्रनाथसँग जिज्ञास राख्यो।
एकैछिन पछि नेत्रनाथ उठेर फ्रेमहरु चाङ लागेको स्थानमा पुगेर खुसुक्क हेर्यो।त्यहाँ त कुनै चाँदिरङ्गे , कुनै सुनौला आकर्षक फ्रेम त कतिपय ताम्रपत्र समेत रहेको देख्यो।हार्दिक श्रद्धाञ्जलि, हार्दिक समवेदना आशययुक्त लेखोटको पुछारमा विभिन्न व्यक्ति, संघ संस्थाका नाम लेखिएको थियो।
“यत्ति धेरै फ्रेमहरु घरको भित्तामा टाँग्ने होलान् कि, कतै स्टोरमा राख्ने होलान् ?” – मनभित्रै जिज्ञासा खेलायो नेत्रनाथले।
“सहरमा यस्तो होडबाजी चलेको रहेछ।बदलिएको सहरी संस्कारमा हामी गाउँमा जस्तै मानो मिसाउने भन्दै चामल लिएर आउनेलाई पाखे नभनेर के भनुन् त ? भाइहरु हो ! अब मानोसानो छोड्ने, सहरीया संस्कार गाउँमा पनि सिकाउँदै जाने र सभ्य पथमा हिँड्ने कोशिस गर्नु पर्छ।”- फर्कँदै गर्दा नेत्रनाथले दाजुभाइसँग तितो पोख्यो।
–मित्र उराठी गौतम
अमरपुर- गुल्मी, हालःतिलोत्तमा न पा २ रुपन्देही
प्रतिक्रिया