तीन बज्जिका कृति विमोचन गर्दै तीन जनालाई विशेष सम्मान प्रदान

इनेप्लिज २०७८ पुष १ गते २२:२८ मा प्रकाशित

रौतहट-सर्लाहीको गोडैता नगरपालिकामा बज्जिका भाषाका तीन कृति एक साथ सार्वजनिक गरिएका छन्।सर्लाहीमा बज्जिका भाषाको प्रचारप्रसारमा निरन्तर जुटेका रामचन्द्र महतो कुशवाहाका तीन कृति एक साथ विमोचन गरिएका हुन्।

गोडैता नगरपालिका ३ सिमरा–भगवतीपुरस्थित जनता नमुना माध्यमिक विद्यालयका वडा नम्बर ३ का वडाध्यक्ष विजयप्रसाद यादवको सभापतिमा सरकारी विद्यालय नाटक,बज्जिका समाज दर्शन कविता संग्रह र बज्जिका समाज दर्पण प्रेरक प्रसंगको एक साथ सामूहिक विमोचन गरिएको हो।नगर प्रमुख देवेन्द्रकुमार यादव,डा.कमलेश्वरकुमार सिन्हा,बज्जिका शिरोमणि सञ्जय साह मित्र, बज्जिका सम्राट किशुनदयाल श्रीकृष्ण,निमित्त प्रमु्ख प्रशासकीय अधिकृत रमेशकुमार यादव, पूर्व गाविस अध्यक्ष कृष्णकान्त मिश्र तथा कृतिकार कुशवाहा स्वयंले कृतिको संयुक्त विमोचन गरेका हुन्।

कार्यक्रमको अवसरमा बज्जिकासेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वरकुमार सिन्हालाई बज्जिका महारथि,बज्ज्किा भाषामा पहिलो गोष्ठीको आयोजन गर्ने शिवचन्द्र साहलाई बज्जिका स्तम्भ र बज्जिका साहित्यकारको लागि पुरस्कारको स्थापना गर्ने समाजसेवी धर्मनाथप्रसाद जयसवाललाई बज्जिका रत्नको उपाधि प्रदान गरिएको छ।

कार्यक्रममा साहित्यकार तथा भाषासेवीहरु विन्दा साहनी,रेवन्त झा,विपिनबिहारी सिंह,रेणु गुप्ता रामआधार पासवान,दिनेश यादव संगम,सञ्जय सुदामासहित दर्जनभन्दा बढी भाषासेवी तथा साहित्यकारलाई सम्मानपत्रसहित गमछा ओढाएर फूलको माला लगाई सम्मानित गरिएको छ।

कार्यक्रममा मन्तव्य राख्दै मेयर देवेन्द्रकुमार यादवले बज्जिका भाषा आफ्नो मातृभाषा भएकोले यस क्षेत्रमा केही गर्न पाएकोमा सन्तोष लागेको बताएका छन्।
कार्यक्रममा डा.सिन्हा,बज्जिका शिरोमणि मित्र,कृतिकार कुशवाहा,कमदेव यादव, शिवचन्द्र साह,संगीता सहनी,किशुनदयाल श्रीकृष्ण,रेवन्त झा,विन्दा सहनीलगायतले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा र साहित्यको बारेमा प्रकाश पारेका थिए।

प्रतिक्रिया