“छन्दमा टुक्का अभ्यास श्रृङ्खला-९” अन्तर्गत सिलाेक लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न ।

इनेप्लिज २०७८ मंसिर २८ गते ११:०० मा प्रकाशित

काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा मिति २०७८ मङ्सिर २२ गते बुधबार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-९” अन्तर्गत सिलाेक लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३२ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

टुक्का साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले दुई हरफमा पूर्ण हुने छाेटाे,मिठाे र चाेटिलाे नव लघुत्तम प्रविधा टुक्का लाई छन्दमा लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सन्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साह पूर्वक सहभागी भई सिलाेक लोक छन्दमा टुक्काहरू श्रृजना गरिएकाेमा सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे।

आक्षरिक छन्द अर्थात लोक छन्द अन्तर्गतको सिलाेक छन्द
~ यस छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ यस छन्दमा जम्मा १९ अक्षर हुन्छन्।
~ १२ अक्षरमा विश्राम हुन्छ।

अभ्यासका क्रममा सङ्कलन गरिएका सिलाेक लाेक छन्दका टुक्काहरू

१)
१.
रहर गर्‍यौ र मुटुमा बसाएँ,भयो कस्तो मज्बुरी
सक्दिनँ सहन परेली भासिन्छ, टाढा न हौ निष्ठुरी।
२.
बस्नेछु साथैमा म तिम्रो काखैमा,तिम्रै देख्छु सपनी
सहन्छु खटन जस्तो होस् वचन, तिमी मेरै हौ भनी।
✍️ अनिल खग्रास
पर्वत

२)
१.
लेखेर राखौलाँ जीवन हामीले काटौ छाँटौ कसरी
बुझेर कहानी बनायो  खरानी अब हाम्रो डगरी।
२.
झुमेका रैछन नसमा मातेका मान्छे धेरै आवारा
कसरी बनाउँ मातृत्व सुन्दर स्वार्थी भए बिचारा।
✍️ सुरेशकुमार पाण्डे
दाङ

३)
१,
हिजोको दिनमा तिमीले मलाई,मायाँ गर्यौ कसरी
त्यो तिम्रो मायाँले पगाल्यो मलाई,मैनबत्ती जसरी।
२,
मेरो यो दिलमा कसुर थिएन,आज छाड्यौ मलाई
मानेथेँ हरेक कुराले तिम्लाई,रुवायौ नी जलाई।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड,झापा

४)
१.
आँखामा राखेर दिलमा बसाएँ,आफ्नै मान्छे भनेर
तोडेर विश्वास भरोसा उदायौं, तिमी शत्रु बनेर।
२.
जलेको खरानी ठानेर मलाई,फुक्यौ किन नभमा?
दिएर आभास आफन्त मान्छेको, छोडी एक्लो जगमा ।
✍️ वसन्त अनुभव

५)
१.
मायालु मायाको भरोसा गर्नुथ्यो,भन किन गरिनौ?
सम्बन्ध प्रीतिको चुडिन नदिन,किन अघि सरिनौ?
२.
आँखाको नानी भै आँखामा बसेकी,माया अन्तै सरिछौ
निष्ठुरी मायालु भनेर चिनिन, आफै त्यसो गरिछौ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

६)
१.
नजाउँ भनेर नहुँदो रहेछ,मन छैन पटक्कै
शहर बजार घुमेर आउँदा,ज्यान थाक्यो फतक्कै।
२.
आहार विहार गरेर विचार खानु पर्छ लौ हेर
नभए शरीर फ़ुर्तिलो जीवन जान्छ व्यर्थ भएर ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०,मोरङ
हाल- प्रवास

७)
१.
आँगनी छेउको टिपेर फूल त्यो,ल्याई दिन्छु केसरी
पानीको माछा झै पोखरी बिचमा,खेल्दै गर बेसरी।
२.
आउनु छेउमा बसेर लेउमा,छाया मेरो हेरेर
मुसुक्क हाँसेर टुसुक्क बसेर,अँगालोमा बेरेर।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी।

८)
१.
हिमाल मुन्तिर पहरा बीचमा,पानी भर्ने पॅधेरो
हेर्दछु जहिले देख्दछु तेहिले,मुहार त्यो अँधेरो।
२.
हजार सपना देखाई मलाई, गयौ टाढा बनेर
कुरेर बस्दैछु चौतारी डिलमा,ऑउछ्यौ कि भनेर।
✍️ घनश्याम पौडेल
सृजना चोक,पोखरा

९)
१.
नजानू मायालु तिमीले छाेडेर, एक्लै यहाँ मलाई
मृत्युको अन्तिम घडीमा चाहिन्छ,जल्न पनि सलाई।
२.
सधैँको विदेशी मायालु हजुर, फर्कि आऊ निष्ठुरी
बाध्यता हजारौँ भए नि देशमै,गर्नु पर्छ मज्दुरी।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल

१०)
१.
नगर हतार बिहेको बिल्कुल हिउदमा गराैला
जुराई साईत घुमाई मण्डप सिउँदाेमा भराैला।
२.
धनकाे अभाव टाराैला घरकाे खरखाँचाे भनेर
आइहालें प्यारी विदेशमा अर्काे कामदार बनेर।
✍️ रामकृष्ण दुवाडी
पाेखरा

११)
१.
नयन भरिलो नुनिलो पानीले, बग्दा झनै पोलिगो
मायाले पगाली त्यो दिल जितुँला भन्थेँ के के बोलिगो ।
२.
जानकी विवाह उत्सव हेरन गुरु सँग गएथ्यो
विवाह पञ्चमी सीता र रामको बिहे भव्य भएथ्यो ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर।

१२)
१.
तिमीले मलाई मायाको आसामा बाँधी कता गएकी
त्यो हाम्रो सम्बन्ध बन्धक पारेर किन टाढा भएकी।
२.
तिम्रो त्यो मायाको सम्झना मलाई मुटु भरी सारेर
टाढाको साइनो लागायौ तिमीले  मन चिरा पारेर।
✍️ बेदु न्यौपाने
काठमाडौ।

१३)
१.
असाध्य हुँदैन हिम्मती जनमा हर पल जाँगर
मनको जोडले झुक्दछ पहाड थोपो बन्छ सागर।
२.
खोलामा बग्दिन आगोले डढ्दिन मेरो मन अमर
मायाको वाटिका कुसुम फूल्छन हुँदै हैन बगर।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम (भारत)

१४)
१.
सम्झँदा तिमीले भनेछ उसले राम्रै भयो सम्झेको
मलाई उसले भुलेन त्यसैले खुसी लागि रहेको।
२.
गहन सल्लाह पाएर उसले आफ्नो बाटो सुधा-यो
जिन्दगी खुसीमा रमायो आशाले नयाँ ढोका उघार्‍यो।
✍️ श्रेष्ठ “परिक्रमा”
धरान,सुनसरी।

१५)
१.
कोरोना हरायो भनेको खुसीले  बस्छौ हामी हर्समा
के कती खुलेका सहर अब त बन्द हुन्छ बर्षमा।
२.
गाउँमा बसेर हामीले गोठमा गाई भैंसी पाल्नेछौ
रगत पसिना बगेर टालेको लुगा त्यसै फाल्नेछौं।
✍️ कमला पाण्डे पराजुली,
चारआली,झापा

१६)

आँगनी छेउको फूल टिपेर,उनौला  बेसरी माला
मायालु तिमी फर्केर आएनौ,के होला विदेशी चाला ?
✍️ भगवती दवाडी
दमक,झापा ।

१७)
१.
मायाका करले निकै रहरले चाल्दै थियो पाईला
आमाका डरले रमाई करले तल्ला घरे साँहिला।
२.
पैसाको भरमा रमी शहरमा बस्दा पनि ढुक्कले,
प्यारो त्यो भूमिको भई समझले दिन् काट्दछु दुख्खले।
✍️ गुणनिधि घिमिरे
पाँचथर — मोरङ हाल अमेरिका

१८)
१.
सपना हजार बुनेर आउने दिन मैले गनेर
आएनौ कहिले निष्ठुरी रहेछौं प्यारी तिमी भनेर।
२.
भरेको सिउँदो जोगाइ राख्ने छु मैले प्यारा जहिले
बिरानो मुलुक विदेशी बनेर नभुल्नु ल कहिले।
✍️ तारा घिमिरे
सङ्खुवासभा

१९)
१.
रहर गरेर बसाएँ मुटुमा, छाडी गयौं के गरी
बसौंला साथमा म पनि रमाई छ माया मनभरी।
२.
यि मेरा रहर सेलाए यतिकै, बसेँ धेरै गम्केर
बस्नेछु पर्खेर जसरी पनि म, फर्की आउ सम्झेर।
✍️ दुर्गा भट्टराई
मोरङ

२०)
मनमा सजाएँ सुन्दर सपना हर पल गाेडेर
बिर्सन्न कहिले खाएकाे कसम गए पनि छाेडेर।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर,झापा

२१)
१.
तिमीले मलाई दिएको ऋणले, मेरो घर उठायो
जिन्दगी जिउने सुन्दर सपना, सिसा जस्तै फुटायो।
२.
जसरी तिमीले अरुको घरमा, लोभी आँखा लगायौ
त्यसैको फल हो तिमीले पनि त,आज आँसु बगायौ ।
✍️ कर्ण दयाल
मेलौली नगरपालिका ७,बैतडी

२२)
१.
रहेन सम्बन्ध अबत भयाे याे,अति कति निष्ठुरी
सक्दिन सहन मुटुमा राेपिन्छ,छुरा बढ्दैछ दुरी।
२.
सकिन साथमा म बस्न रमाई,गयौ छुरा चलाई
सहँदा सहँदा नमिठाे वचन,रुन्छु  भयाै पराई।
✍️ भावना मञ्जु
माेरङ

२३)

हाम्रो सपनाको झोली भर्न म अनायसै विदेशिए
बन्जर मरुभूमिमा फल्ने ति बेमौसमी खेती थिए।
✍️ जिकुमार गौतम
भद्रपुर-१,झापा

२४)
१.
अब त मलाई अति भो बैगुनी ,पार्नु पार्यौँ  बैमानी
सक्छौ त मलाई लगाउ मुटुमा,दाग गर्दिनँ हानी ।
२.
पराई सम्झेर अरुको मनमा, लोभ दिदै गएर
आज त पाएका हौलानि नजिकै,मन आत्मा भएर।
✍️ दुर्गा आचार्य
मोरङ

२५)
आगाे झैँ  हुरुरु रिसानी दन्कियाे, गाह्रो  भयाे सहन
उम्लियाे,पाेखियाे, रित्तियाे अन्ततः,शक्ति छैन  कहन।
✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
गाेरखा

२६)

पीरती बलियो भएन कहिल्यै कस्या थियो डोरीले
मायामा पागल  बनाई मलाई  मारी त्यही मोरीले।

झुटटो त्यो कसम लोभिए जनता भेडा भई चाचामा
नेताले नेपाल  पारे है  बेहाल  धोका  दिए  बाचामा।
✍️ अबजस चन्द्र
झापा

२७)

वसन्त याममा हरियो वनमा,फूल फुल्यो झपक्क
कोइली गाउछे सुरिलो स्वरमा, खुशी भई थपक्क।

प्रकृति रम्छन सिँचेर साथमा, सार सुधा तपक्क
बचाई बाँच्छन नगरी अन्याय,माया दिइ चपक्क।
✍️ मित्र कुमार आचार्य
काठमाडौं ।

२८)
१.
दिलको पानामा लेखेर राखेको तिम्रो माया हजार
किन हो? मायाको महत्व बुझेनौं लगी बेच्यौ बजार।
२.
सम्पूर्ण सर्जक भएको लगनशील आएँ देखेर
बिताएँ दिनहुँ साहित्य देवता ठानी टुक्का लेखेर।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर

२९)
१.
चिन्नै पो छोडेछन् आजका बच्चाले, ढिँडो सिन्की अचार
पाइन्न खान नि रहर हुँदा नि, जानै पर्ने बजार।
२.
आँखाका नानी त धाराका पानी झैँ, हुन थाले रिनले
छोरो नि विदेश जान्छु पो भन्दैछ,मर्छु बा म पिरले।
✍️ अमृत भट्टराई
मोरङ,हाल काठमाडौं

३०)
मलाई दिएका वचन तुहाइ क्या निरास बनायौ
सजाइ सिउँदो पराई सित पो मधुमास मनायौ।
✍️ रामशरण न्याैपाने

३१)
१.
अँध्यारो हरायो कसैको प्रेमले हेर मेरो आत्ममा
सम्झना झाङ्गियो उत्साह मौलियो फेरि तिम्रै चाहमा।
२.
यादमा बस्दछन् घुल्दछन् मधु झैँ देख्छु रम्छु गाउँमा
विदेशी भएका मुटुमा रहेका भुल्छ मेरै नाउँमा।
✍️ पौडेल विमुन्स 💕 पोखरा कास्की 💕

३२)
१.
लाहुरे जीवन झ-झल्काे घरकाे,दिन रात सतायाे
प्रियाकाे यादमा आँसुकाे वहन,मन त्यसै ततायाे।
२.
प्रेमकाे सागर मुटुमा बहाउ, भेल बनी उर्लियाे
शत्रुकाे नजर लाग्छ कि डरले,डर थाम्दै कुर्लियाे।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

>>> जय टुक्का! जय साहित्य !! <<<

प्रतिक्रिया