कटहरिया नपाले आफ्नै स्रोतमा गर्यो छात्रालाई साइकल वितरण

इनेप्लिज २०७८ मंसिर २० गते २२:५५ मा प्रकाशित

रौतहट,रौतहटको कटहरिया नगरपालिकाले आफ्नै स्रोतमा छात्रालाई साइकल वितरण गरेको छ।कटहरिया नगरपालिकामा रहेका पाँच ओटा माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको हो।

कटहरियाको भसेढवा,कटहरिया र बगही गाउँमा पहिलेदेखि नै संचालनमा रहेका माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको छ।यसै गरी बलिरामपुर र जमुनिया गाउँमा यसै शैक्षिक सत्रदेखि माध्यमिक तह संचालनमा आएकाले कक्षा ९ मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको नगरको शिक्षा शाखा प्रमुख अनिलकुमार निधिले जानकारी गराएका छन्।नगरपालिकाका २३२ छात्रालाई साइकल प्रदान गरिएको संयोजक निधिको भनाइ छ।

नगरपालिकामा संचालित माध्यमिक तहका सबै विद्यालयमा नै पुगेर नगर प्रमुख तथा प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखसमेतको टोलीले अभिभावक र शिक्षकहरुको उपस्थितिमा साइकल प्रदान गरेको हो।नगर प्रमुख सियाराम कुशवाहाले प्रदेश सरकारले कटहरिया नगरका विद्यालयमा पढ्ने छात्राहरुसित विभेद गरेकोले नगरपालिकाको कोषबाट छात्राको लागि साइकल किनेर वितरण गरेको बताएका छन्।नगरको शिक्षामा आमूल परिवर्तन गर्ने दिशामा आफूले कदम अगाडि बढाएको बताउँदै मेयर कुशवाहाले गरिब समुदायका बालबालिकालाई विद्यालयमा सहज पहुँच पुर्याउन साइकलले केही सहयोग गर्ने आशा राखेको बताएका छन्।

कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधार भएको र अबको समयमा शिक्षामा नगरपालिकाले लगानी बढाउँदै जाने बताएका छन्।छात्रालाई साइकल प्रदान गरेर छात्राको शिक्षामा साइकलले केही गुणस्तर बढाउने विश्वास लिएको बताएका छन्।

साइकल पाएपछि छात्राहरुले खुसी प्रकट गरेका छन्।

प्रतिक्रिया