फतुवा बिजयपुर नगरपालिकामा भ्रष्टचार भएको भन्दै आन्दोलन

इनेप्लिज २०७८ मंसिर २० गते ११:३६ मा प्रकाशित

रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचारको बारेमा सोधपुछ गर्दा माओवादी पार्टीका नेता सुरेन्द्र यादवलाई प्रहरीले विना कारण ४ घन्टा थुनामा राखेको भन्दै पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन्।सोमवार नगरपालिकाको कार्यालय अगाडि मेयर गोपाल यादव र फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादवको विरुद्धमा नाराबाजी भएको छ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज पुनम यादवले नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवले राजिनामा दिनु पर्ने माग गरेकी छन्।मेयर यादवले नगरपालिकामा आफ्ना नाता पर्नेलाई मात्र भर्ना गरेको र विभिन्न शिर्षकमा भ्रष्टाचार गरेकाले एक मिनेट पनि मेयरको कुर्सीमा बस्ने अधिकार नभएको नेतृ यादवले बताइन्।यो आन्दोलन ट्रेलर मात्र रहेको उनको भनाई छ।

नगर शिक्षा संयोजक हरेन्द्र यादवसँग शिक्षा सम्बन्धि विभिन्न शिर्षकमा आएको लाखौं रुपैयाँको बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादवलाई बिना कारण थुनेर बेइजती गरेको माओवादी पार्टीका नेता सुरेन्द्र यादवले बताएका छन्।

हरेन्द्र यादव र गोपाल यादवको मिलोमतोमा बालबालिकाको लागि वितरण हुने सेनेटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं रुपैयाँ अनियमितता गरेकोबारे आफूले सोधपुछ मात्र गरेको नेता सुरेन्द्र यादव बताउँछन्।फतुवा बिजयपुरमा शिक्षाको नाउँमा भैरहेको भ्रष्टाचारबारे आफूले आवाज उठाउँदा एकजना पुर्व सांसदले गृहमन्त्री मार्फत् प्रहरी माथि दबाब दिएको र मेयर गोपाल यादवले इन्स्पेक्टर बिष्णु बिश्वकर्मालाई मोटो रकम दिएर आफूलाई थुनेको यादवको आरोप छ।

शिक्षाको नाममा आउने लाखौं रकममा एकजना पुर्व सांसद,मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने मागसहित सोमवारबाट नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आन्दोलन सुरु गरेको यादवले बताएका छन्।

शिक्षा संयोजक हरेन्द्र यादवले गत वर्ष विद्यार्थीलाई भर्चुअल शिक्षा दिने नाममा नगरपालिकाबाट पेस्की लिएको २९ लाख रुपैयाँको हालसम्म फर्छौट गर्न नसकेको र बालिकाहरुलाई सेनेटरी प्याड वितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैयाँ निकासा भए पनि हालसम्म कुनै बालिकालाई सेनिटरी प्याड वितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक,मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने यादवको माग छ।

प्रतिक्रिया