कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २०५ संक्रमित थपिँदा ४३६ संक्रमणमुक्त

इनेप्लिज २०७८ मंसिर १९ गते २१:२८ मा प्रकाशित

काठमाडौं।देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो।

यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४६ लाख ६२ हजार ६८० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ४२ हजार २०४ पुगेको छ।पछिल्लो समय थप ४३६ जना कोरोनाबाट निको भएका छन्।यस सँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५७ हजार ९३० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५०७ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा छ हजार १६३, संस्थागत आइसोलेसनमा ३४४, सघन उपचारकक्षमा १०७ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी,भक्तपुर,कास्की,नवलपरासी ९पूर्व०,बाँके र कैलाली छन्।शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ,मुस्ताङ,हुम्ला,मुगु र सल्यान रहेका छन्।

प्रतिक्रिया