केटाहरु ‘आई लव यु ‘बा’ भजिरहेछन्:

-सरगम भट्टराई २०७८ मंसिर १९ गते ४:३१ मा प्रकाशित

सिटामोलहरुले सहरबाट
कालीकोटकी आमालाई ङिच्च गिज्याईरहँदा
सुत्केरी दिदीहरु रक्त अल्पताले चिच्याईरहँदा
कालीकोटमा बहिनीहरुका गाथमा
रोगसंग भोक ड्याङ्ग ठोक्किएर सक्किएको नदेखेर
काकाहरुको अनुहार अभाव र दवावले मक्किएको नदेखेर
विमानस्थलबाट हतार हतार क़तार उड्ने
नामधारी धन बहादुरहरु नज़रअन्दाज़ गर्दै
बिरामी बोक्ने बाहन बाटोमा ठप्प पारेर

केटाहरु ‘आई लव यु बा’ भजिरहेछन्
————————————————
खासमा केटाहरु बेरोज़गार छन्
तर बेरोज़गार हुनु नै उनीहरुको रोज़गार हो
उनीहरुसंग योग्यता छ,तर योग्य छैनन्
किनकी योग्यताको एक मात्र नाम ‘ बा’ हो
आमाकै संरक्षणमा चुक्दै आईरहेका ‘बा’
योग्यलाई योग्य ठान्न बहाना गर्दै लुक्दै गरेका ‘बा’
हुटिट्याउँले आकाश थामेको भान पारेर
फगत भक्तिगानको धुन बजाउन लगाईरहेका छन्

केटाहरु ‘आई लव यु बा’ भजिरहेछन्

———————————————
केटाहरुलाई थाहा छ
गाउँका बाँझा बारीहरु
सहरमा बा’ को जय जयकारले जोतिन्नन्
घरका भत्किनै लागेका भित्ताहरु
‘बा’ को वाह गर्दैमा पोतिन्नन्
समृद्धि जवान नहुँदै बूढी भएकी छे
तर ‘बा’ भन्छन्- “म बूढो भएको छैन”
‘बा’ मा अथाह उत्साह छ
‘बा’ ले केटाहरु सामू फेरि नयाँ समृद्धि ल्याउने जिकीर गर्छन्
मार्क्सवाद जपेर मार्सीसंग भोकहरण गर्छन्
द्वन्दात्मक भौतिकवादको रटान गर्दै गर्दा
गैँडाको मस्कटमा देवताको प्रतिबिम्ब देख्छन्
‘बा’वादको रिसेप्शनमा सित्तैको हिस्कीको चुस्की लिदै
आफ्ना रहर थाती राखेर
छाती पिट्दै, ताली पिट्दै

केटाहरु ‘आई लव यु बा’ भजिरहेछन्
——————————————-
तर ‘बा’ उनीहरुका वास्तविक ‘बा’ होईनन्
वास्तविक ‘बा’ त
भोक र रोगले गलेका छन्
हिड्दा हिड्दै ढलेका छन्
छोराहरुको घर फिर्तीको सुर्ताले जलेका छन्
‘बा’ हरु त मैलो टोपीमा पसिनाको गन्धपान गर्दै
धेरै पल्ट बाँच्दै,धेरै पल्ट मर्दै
कौशीमा बसेर औँशीमा छोरो कुर्दैछन्
बूढ्यौलीमा पासपोर्टको लाईनमा बस्दैछन्
प्रसव ब्यथामा आमालाई बचाउन नसकेका बा
आफैलाई बचाउन हतारमा क़तार हान्निदै छन्

केटाहरु आई लव यु बा भजिरहेछन्।।

-सरगम भट्टराई

 

प्रतिक्रिया