ओमिक्रोन भ्यारियण्ट

कोमल अधिकारी,टिकापुर,कैलाली २०७८ मंसिर १६ गते २२:३४ मा प्रकाशित

जमानासँग हिँड्न जानिएन,
बधाईको ओइरो खन्याउन जानिएन।
सेतोलाई सेतै भनेँ,
कालो भन्न सकिएन।              लोकतन्त्र/गणतन्त्र यस्तो पो हुँदो रै’छ,
अर्कै ठेली पढ्नु पर्ने रै’छ तर पढिएन।
राष्ट्रियताको परिभाषा दल पिच्छे अर्कै छ,
‘असंलग्नता’के हो? खुट्याउन सकिएन।
खुट्याउन सकियो त केवल:
>चुनावको मुखैको र जितेपछिको उम्मेद्वार,
>परीक्षण अघिको ईमान्दार र पछिको बेईमान
>ऋण लिनु अघिको बिरालो र पछिको सिँह
>सत्ता नहुँदा र भएपछिको नेतृत्व,
>किनीरहँदाको र किन्न छोडेपछिको साहुजी
>अन्तको मुसो र आफ्नो ठाउँको कुकुर,
>घोषित पराई र छद्म आफन्त;
…….    ……   …….. ..  ….
सोचिन्थ्यो,जमाना पक्कै बदलिएको छ
तर,यतिसम्म;अँहँ,लख काट्नै सकिएन,
अल्फा,बीटा,गाम्मा,डेल्टा मात्रै सोचिया’थ्यो
जमाना ओमिक्रोनमा पुगेको भेउ नै पाईएन।!

      -कोमल अधिकारी,टिकापुर,कैलाली

प्रतिक्रिया