साहित्यिक क्षेत्रमा लाग्दाखेरीका संंस्मरण

–अरुणबहादुर खत्री “नदी” २०७८ मंसिर १६ गते १०:५८ मा प्रकाशित

२०४६ सालतिरको कुरा हो शनिबारको दिन दिउँसो अंकुर समूहले दरबार हाइस्कूलमा कवि गोष्ठी गर्ने गर्दथ्यो।कवि गोष्ठीमा शान्ति प्रिय,मोदनाथ सादा, प्रमोद स्नेही,रमेश सागर,यज्ञनिधि दाहाल दाजुहरु आउने गर्नु हुन्थ्यो।यज्ञनिधि दाहाल दाजुले रेडियो नेपालमा साहित्य संसार कार्यक्रम जदौ भनेर चलाउने गर्नु हुन्थ्यो।दरबार हाइस्कुलमा पढाउने पनि गर्नु हुन्थ्यो।म पनि बेला बेलामा शनिबारको दिन अफिस विदा हुने भएकोले पुगेर आफ्नो कविता सुनाउने गर्दथे।एउटा अङ्क अंकुर नामको साहित्यिक पत्रिका पनि निस्केको थियो।

मेरो पत्रमित्र वरिष्ठ साहित्यकार मनु ब्राजाकीसंग पहिलोपटक पचासको दशकमा रेडियोनेपालमा गजलकार दाजु ज्ञानुवाकर पौडेलको कार्यकक्षमा भेट हुन पुगेको थिए।उहाँले आफ्ना रचनाहरु कुनै पनि पत्रिकामा दिनु हुंदा पहिला पारिश्रमिक लिने गर्नुहुन्थ्यो रे।उहाँ कथा र गजलमा निकै सिपालु हुनुहुन्थ्यो।म्याग्दीको पत्रमित्र रेखाकौशल रेग्मीसंग पनि ज्ञानुवाकर दाजुको कार्यकक्षमा पहिलोपटक भेट हुन पुगेको थियो।पत्रमित्र गोविन्दराज शिवाकोटी बेहोसी,यमन्तराज निरौला,नारायण कटुवाल आकाश,नारायण पौडेल दिलवाला,विजयकुमार श्रेष्ठ दिन,तेजराज खतिवडा,ज्ञानमन्जरी राणा,ताराकान्त सिग्देल लगायत अन्य कतिपय मित्रहरु अहिले मसंग सम्पर्कमा हुनुहुदैन।

२०४५ देखि हुनुपर्छ ठाउँ ठाउँमा साहित्यिक कार्यक्रम हुंदा हप्ताको एक वा दुई दिन म पुग्दथे।धेरैजसो साहित्यिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार र शनिबार हुने गर्दथ्यो।शुक्रबार अफिसबाट फर्कदा पुग्दथे भने शनिबार घरबाट खाना खाएर नुहाइधुवाइ गरेर पुग्दथे।तर हिजोआज भने कोभिड–१९ को डरले स्वास्थ्यलाई ध्यानमा राखेर साहित्यिक कार्यक्रममा पुग्ने गरेको छैन।कोही कोही साहित्यिक कार्यक्रममा आउनेहरुलाई धेरै ठाउँमा पुगेको देख्दथे।कोही कोहीले कार्यक्रम सकिएपछि खाजाको प्याकेट दिदा दुईटा देखि चारवटासम्म खाजाको प्याकेट लिएर आफ्नो झोलामा राखेर घरमा लैजाने गरेको पनि मैले देखे।

२०६५ सालतिर कवयत्री गीता कार्कीको निवास मेरो घरदेखि नजिकै सामाखुसी रानीबारीमा पुगेको थिए।गीता कार्कीले मलाई के काम परेर आउनु भयो भन्नु भयो ? मैले तपाईको कवितासङ्ग्रह एकप्रति पाइन्छ कि भनेर आएको भने।उहाँले सालका ठुटा र एकटुक्रा घाम कवितासङ्ग्रह एकप्रति दिनु भयो।उहाँसंग करिब आधा घण्टाजति चिया पिउँदै गफमा भुले।कवितासङ्ग्रहको समीक्षा मिर्मिरे पत्रिकामा प्रकाशित गरे।२०६४ सालतिर म लोकसेवा आयोग कमलपोखरीमा हुंदा अफिसबाट घर फर्कदै गर्दा नारायणहिटी दरबारमा परराष्ट्र मन्त्रालयमा पसेर कथाकार रुनुनु चापागाईलाई भेट्न पुगे।उहाँले उहाँको कथासङ्ग्रह समर्पण एकप्रति झिकेर दिनु भयो।कथासङ्ग्रहको समीक्षा पनि लेखेर प्रकाशित गरे।२०६८ सालतिर कवयत्री सन्ध्या पहाडीको घामको अक्षर नामक कवितासङ्ग्रहको समीक्षा लेखेर कृषि विकास वैंकबाट निस्कने समष्टी साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो।कवि रमेश श्रेष्ठको अक्षरको खेत नामक कवितासङ्ग्रहको समीक्षा लेखेर यादव भट्टराईले निकाल्नु भएको शब्द सिन्धु पत्रिकामा प्रकाशित हुन पाएको थियो ।२०७० साल फागुन महिनामा हाम्रो मझेर साहित्य प्रतिष्ठानले मलाई सम्मान गर्न बोलाउदा म चितवन पुगेको दिनको बेलुका मेरो पत्रमित्र रमेश प्रभात,बालकृष्ण थपलिया र भूपिन व्याकुल मलाई स्वागत गर्न आउनु भएको थियो।

कवि साहित्यकार रामेश्वर राउत मातृदासको अन्तर्वार्ता मैले एकपटक लिएर विमोचन मासिक पत्रिकामा प्रकाशित भएको थियो।उहाँले बाटोमा भेट हुंदा कविता मलाई दिने गर्नु हुन्थ्यो र मैले विभिन्न पत्रिकामा पठाइदिन्थे।म लोक सेवा आयोग अनामनगरमा हुंदा कहिलेकाही दिउसो हाम्रो पुतलीसडक स्थित पद्मोदय मा.वि.को बाहिर भेट हुने गर्दथ्यो।भेटेपछि एउटा होटलभित्र पसेर चिया पिउदै कुराकानी गर्ने गर्दथ्यौ भने एकदिन ज्ञानेश्वरमा उहाँको घरमा पनि म पुगेको थिए।उहाँका कविताहरु निकै मन पर्दथ्यो।उहाँले लेख्नुभएको अक्षर पनि निकै राम्रो लाग्दथ्यो। उहाँले युवा मोती पुरस्कार पाउनु हुदा म पनि ताली बजाउन भनेर पुगेको थिए लेखनाथ साहित्य सदनमा।

२०६२ सालमा गोश्वारा हुलाक कार्यालय सुन्धारा काठमाडौंमा पत्रमित्र साथीहरुलाई चिठ्ठी खसाल्न जाँदा रामेछापबाट शिशिर बसन्त पत्रिका निकाल्नु हुने कथाकार कुमार काफ्लेसंग पहिलोपटक भेट हुन पुगेको थियो।शिशिर बसन्त पत्रिकाको मलाई सल्लाहकार बनाउनु भएको थियो।त्यसपछि सामाखुसीमा आउनु भएर कवितावाचन पनि उहाँले गर्नु भयो र २०७३ सालमा हजार सपना उपन्यास निकाल्नु हुंदा मैले शुभकामना लेखेको थिए त्यस उपन्यासको बाहिर।२०५५ सालतिर कवि निबन्धकार भिष्म उप्रेती राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनुहुंदा उहाँको अन्तर्वार्ता नै मैले पहिलोपटक लिन पाएको थिए र मणिराज सिंहले निकाल्नु भएको ज्ञानश्री पत्रिकामा उहाँको अन्तर्वार्ता पहिलोपटक प्रकाशित भएको थियो।

–अरुणबहादुर खत्री “नदी”

सामाखुसी साहित्य समाज,काठमाडौं

 

 

प्रतिक्रिया