पूराना संंस्मरण

–अरुणबहादुर खत्री “नदी” २०७८ मंसिर १५ गते ११:१० मा प्रकाशित

बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशमा मैले बेला बेलामा पत्र लेखेर पठाइरहन्थे।पत्रको साथमा मेरो भावना मुक्तक पनि लेखेर पठाइरहन्थे।परदेशीको सन्देश कार्यक्रममा भोजपुरको नवराज राईले मेरो लागि एउटा सुझाव दिनु भएको थियो अरुण नदी खत्रीले अबदेखि अरुण कोशी खत्री भनेर लेख्न थाल्नु होला भन्ने बारेमा।नदीभन्दा कोशी ठूलो पनि हो भन्नु भएको थियो।मैले मलाई धेरैले अरुण नदी खत्री भनेर नै चिनिसके अरुण कोशी खत्री भनेर मैले नाम फेरे भने अरु नै भन्ठान्छन् भनेर जवाफ दिए।

२०५१ सालतिरको कुरा हो मेरो कार्यालयको बाहिर सुन्धारामा म उभिइरहदा एकजनाले मलाई नमस्कार छ भन्नु भयो।मैले नमस्कार फर्काए।तपाईलाई साहित्यिक कार्यक्रममा मैले देखेको हुनुपर्छ उसले भन्यो।मैले होला पक्कै पनि भने ।तपाईको नाम चाहि के हो नि भन्यो।मेरो नाम अरुण नदी खत्री हो भने। तपाईका रचनाहरु विभिन्न पत्रिकामा पढ्न पाइरहन्छु र रेडियो नेपालमा सुन्न पनि पाइरहन्छु उसले भन्यो।खुशी लाग्यो मलाई मैले भने।उसले मलाई एकसय रुपैँयाको खाचो थियो दिन सक्नु हुन्छ भन्यो मैले एकछिन सोचेर म संग अहिले एकसय रुपैँया छैन भएको भए दिन्थे भने।हस् त म लाग्छु है उसले भनेर आफ्नो बाटो हिँड्यो।केही समयपछि त्यही मान्छेलाई मैले प्रज्ञा भवनमा कार्यक्रममा जाँदा देख्नु पर्यो।प्रज्ञा भवनमा उसले मलाई पनि देख्यो।उ पनि म संग बोलेन म पनि उसंग देखेर पनि बोलिन।

भाद्र कृष्ण औँसीको दिनमा प्रदान गरिने युवा मोती पुरस्कार चालिस वर्ष नकटेकाहरुले पाउने पुरस्कार मलाई किन दिएन होला भनेर केही साहित्यकारहरुले म संग सोधे।मैले खै पुरस्कार मैले मागेर लिने चिज होइन पुरस्कार मलाई दिने निर्णय हुन सकेन।मेरो उमेर अहिले चालिस वर्ष कटिसक्यो अब मलाई दिन मिल्दैन मैले भने।युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यलाई चिनाउनु भएको जस्तै मैले पनि धेरै साहित्यकारहरुसंग रचना मागेर विभिन्न पत्रिकाको कार्यालयमा पुगेर छापिदिएर चिनाइदिने गर्दथे।एकताका नयाँसडकको पिपलबोटतिर बेलुकी चारबजेपछि साहित्यकारहरु पुग्ने गर्दथे। कहिलेकाही म पनि कार्यालय छुटेर त्यही बाटो हिँडेर घर जाँदा पुग्दथे।मेचि अञ्चल पाँचथर जिल्लाको सरकारी विद्यालयको प्रधानाध्यापक लाल अन्जान सम्बाहाम्फेले मलाई एकपटक फोनबाट पाँचथरमा निमन्त्रणा गरेर साहित्यिक कार्यक्रममा सम्मान गर्नेछौं भन्नु भएको थियो।

संसाक मासिक पत्रिकाले २०७४ सालदेखि विभिन्न विधामा कलम चलाउनेहरुलाई सम्मान गरेर पुरस्कार दिदै आइरहेकोमा २०७८ साल साउन ६ गतेको दिन विभिन्न विधामा कलम चलाइरहने मध्ये छजनालाई सम्मान गर्ने निर्णय गरेपछि राधेश्याम लेकाली दाजुले मलाई फोन गरेर बधाई दिनु भयो।के को बधाई हो दाइ मैले भन्दा नदी भाइलाई संसाक पत्रिकाले सम्मान गर्ने निर्णय आज मात्रै भएको हुंदा बधाइ दिएको हुं भन्नु हुंदा मलाई खुसी लाग्यो।भाद्र १९ गते समीक्षा विधामा मलाई सम्मान गर्यो।असोज महिनाको ५ गतेको दिन बिहानको ठिक चार बजे बिउँझन पुगेपछि मोबाइलमा फेसबुक खोलेपछि मलाई अंग्रेजीमा बधाई भनेर आयो बालसाहित्य प्रतिष्ठानले साहित्यकार कार्तिकेय घिमिरेको बुबाआमाको नाममा स्थापना गरेको दुर्गादेवी चन्द्रनाथ उत्कृष्ट लेखन पुररस्कार मलाई दिने निर्णय भयो भनेर समाचार पढ्न पाउदा खुसी पनि लाग्यो।

एकताका हरेक शनिबारको दिन बिहान मेरो घरको ल्याण्ड लाइन फोनमा मैले मोबाइलको प्रयोग नगर्दा काठमाडौं बाहिरका विभिन्न जिल्लाबाट धेरैले मलाई फोन गर्दथे।कहिले काही त अरु बार पनि कोही कोहीले फोन गरेर मलाई पाउन भन्दथे।अरु बार आमाले फोन उठाउनु हुन्थ्यो र ऊ त अहिले अफिस गएको छ भन्ने गर्नु हुन्थ्यो।बेलुका र बिहान पनि कहिले काही फोन गर्दथे।एकदिन बेलुका मैले खाना खाइसकेपछि २०७० साउन महिनामा ल्याण्ड लाइनमा फोन आयो अछाम जिल्लाबाट।फोन गर्नेले भोलि हाम्रो खप्तड न्यूज पत्रिकाको वार्षिकोत्सव छ हामीले तपाईलाई साहित्यिक क्षेत्रबाट सम्मान गर्ने भएका छौ भन्नु भयो।अब मैले आज यतिखेर थाहा पाए भोलिको कार्यक्रमको लागि आउन असम्भव छु दुःख नमान्नु होला मलाई सम्मान गर्न लाग्नु भएकोमा खुसी लाग्यो मैले भने।

नेपालमा गणतन्त्र आउनु अगाडि मसंगै एस.एल.सी.दिदा बर्दियामा ट्युसन पढ्ने मित्र गोपाल दहित मन्त्री हुंदा म भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा थिए। आफूसंगै पढ्ने साथै मन्त्री भयो भन्दै म उसलाई जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगेर भेटे।उसलाई देख्नासाथ नमस्कार मन्त्रीज्यू भने।हामी त संगै पढेका साथी हौं नि कहाँ मलाई नमस्कार गर्नु भएको हात मिलाउ न उसले भनेर हात मिलाउन पुग्यौ।

ऋषभदेव घिमिरे,मधु पाठक,रञ्जना निरौला,डा.शान्तिमाया गिरी,सुमन वर्षा, सुषमा आचार्य अंशु ६ जना सर्जकहरुले लेखेका १३–१३ वटा कविता राखेर निषेधाज्ञाका प्रतिबिम्बहरु नामक कवितासङ्ग्रह २०७८ भाद्रमा प्रकाशित भएको छ ।यो कृतिलाई कोरोना कहरले जन्माएको एउटा महत्वपूर्ण कृतिका रुपमा लिन सकिन्छ।संसार कोरोनाको भय र त्रासले चिन्तित बनिरहेको अवस्थामा भर्चुयल माध्यम मार्फत् लेखन र वाचन गरिएका यी कविताहरु कोरोना कालका जीवित दस्तावेज हुन्।मानव सभ्यतामा विपत्तिहरु सनातन जस्तै छन्।आइरहन्छन्, बिथोलिरहन्छन्,गइरहन्छन् केही न केही असर छोडेर कुनै न कुनै शिक्षा दिएर । निषेधाज्ञाका प्रतिबिम्बहरु कवितासङ्ग्रहको प्रकाशनले वर्तमान समय,कोभिड काल,निषेधाज्ञा तथा उक्त समयमा घटित घटना, भोगाइ आदिको प्रतिनिधित्व गर्ने विश्वासका साथ कोभिड–१९ तथा निषेधाज्ञा कालको पहिलो काव्य सङ्ग्रह प्रकाशित गरेर पाठकसमक्ष पुर्याउन सफल भएका छन्।निषेधाज्ञाका प्रतिबिम्बहरु कवितासङ्ग्रहले ६ जना सर्जकलाई युगौयुगसम्म जीवित राख्छ नै।हामीले भोगेका समयका क्रुरता हरेक पुस्ताले पुस्तक मार्फत् पढ्न पाउँछन्।कविता लेखन सँगसँगै उनीहरु मिलेर राष्ट्रिका साहित्य प्रतिष्ठान गठन गरेका रहेछन्।यसै प्रतिष्ठानले निषेधाज्ञाका प्रतिबिम्बहरु नामक कवितासङ्ग्रह पहिलो कृतिको रुपमा निकालेको छ।

कोरोना कहर र लकडाउनको समयमा मस्तिष्क मलबलाएका बेला लेखेर वाचन गरिएका रचनाहरुमध्ये एकजनाको तेह्रवटा कविताको दरले गद्य तथा छन्द कवितालाई सङ्ग्रहका रुपमा निकालिएको छ।ऋषभदेव घिमिरेको अघोषित युद्ध शीर्षकको पहिलो कवितामा भगवान् र भक्त परिवर्तिन समय त्रासदीसँग हात जोडेर मागिरहेका छन् मृत्यु जित्ने वर भनेको छ।निषेधाज्ञाको उल्लङ्घन शीर्षकको कविताभित्र तिम्रो सुखद आगमनमा निर्धक्क मेरा रातहरु निस्फिक्रीले मसँग प्रेम साट्ने छन् भनेको छ।

मधु पाठकको पर्खाई शीर्षकको कवितामा एक झिल्को मिलनको आशामा टुट्छन् र छरिन्छन् सबै सपना त्यही पर्खाइभरि नभेटीकन,नछोइकन भनिएको छ।बृद्ध अवस्था शीर्षकको कवितामा कति पीडा सही लालन पालन गरेका थियौ लिई सारा जिम्मा सृष्टिहरु थामिरहेका थियौ भनिएको छ।कोरोनाको यन्त्रणा शीर्षकको कवितामा कहरको यस बन्द झ्यालढोकाबाट चिच्चाइ चिच्याइ कराउदै छन् मेरा स्वतन्त्रताहरु भनिएको छ।

रञ्जना निरौलाको विपनाको लिखत शीर्षकको कविताले तिम्रो काखको आँगनमा बसेर जूनलाई जिस्क्याउँदै ताराहरु गन्न नपाउँदै तिम्रो छातीको बार्दलीमा उभिएर वासन्ती हावासँग रमाउन नपाउँदै तिम्रो अँगालोको लहर समाएर भनेको छ। गिरफ्तार स्वतन्त्रता शीर्षकको कवितामा निरन्तर निरन्तर कठोर बन्दो छ समय भयले ढकढकाउँदै यथार्थले तर्साउँदै भनेको छ।निषेधाज्ञाको पालना शीर्षकको कवितभित्र निषेधाज्ञामा छौं तिमी र म बाँधिएको छ संसार र जीवनको गति समयको कारागारमा बन्दी छु म यहाँ बन्दी छौं तिमी वहाँ निरौलाले भनेकी छिन् ।

डा.शान्तिमाया गिरीले लेखेको आशीर्वचन शीर्षकको कवितामा संसारभरि फैलियोस् कीर्ति,गाइयोस् महिमा सफलता मिलोस् काममा सबै बढोस् है गरिमा भनिएको छ ।डर शीर्षकको कवितामा तिमीले नभेट्टाएको कसलाई छैन र?तिमी नपुगेको कहाँ छैनौ र कोरोनालाई भनेकी छिन्।डर आफैसँग पनि छ आजकल सबै सबैसँग छ डर कोरोना जस्तो महामारी रोगले सबैलाई डर लागेको छ।कोरोना छल्ने जुक्ति शीर्षकको कवितामा विश्वलाई ठूलो सजाय दिई स्तब्ध बनायो धनी र गरिब ठूला र साना सबैलाई थर्कायो भनिएको छ।

सुमन वर्षाको डाक्टरकी आमाको दैनिकी शीर्षकको कविताभित्र चलिरहेको छ जैविक युद्ध जोखिममा छ मानव सभ्यता अस्तव्यस्त छ मन मस्तिष्क भनिएको छ ।कोरोना कहर शीर्षकको कवितामा यत्रतत्र छरिएर विश्वभरि भय र सन्त्रासको कुहिरोभित्र कोरोना भाइरस समयसँग दौडिरहेछ बोकेर मृत्यु भनिएको छ।

सुषमा आचार्य अंशुले लेखेको आमा शीर्षकको कवितामा प्रकृतिको नियमलाई निरन्तरता दिन आफ्ना सारा उद्देश्य,लक्ष्य,चाहनाहरुलाई बिना कुनै गुनासो स्थगित गरिदिन्छिन् भनिएको छ।सपनाको सहर शीर्षकको कवितामा अलौकिक तेजसहितको मुस्कानमा छरिएर आफ्ना बाआमाको काख छोडी घर र आँगन छोडी ढकढक्याउन आइपुग्छन् भाडामा घरबेटी बा–आमाको घर भनिएको छ।

यस सङ्ग्रहभित्र सङ्गृहीत कविताहरुमा सुखी,सम्पन्न,सभ्य र शान्त जीवन बनाउने सकारात्मक र जीवनवादी बिचार र भावनाहरुको अभिव्यक्ति छ।समय,समाज, देखाइ,भोगाइ,जीवन,व्यक्ति र प्रवृत्तिहरुका नकारात्मक तथा सकारात्मक यथार्थको प्रतिबिम्बन छ।एउटै समय र परिवेशमा अनेक टुक्रामा विभाजित जीवनको फरक फरक अनुभूति व्याख्या र बुझाइहरुको अभिव्यक्ति छ।सिर्जनात्मक सर्जक,स्रष्टा साहित्यानुरागी तथा समाजसेवी भावना भएका मनहरुको सहभागिताले यो कवितासङ्ग्रह जन्मन सकेको छ।सामाजिक सञ्जालमा जोडिएर प्रस्फुरण भएका यी सिर्जनाहरुले सर्जकलाई गृहबन्दीको अवस्थाबाट थोरै भए पनि निकास दिएको यस कृतिले देखाएको छ।यो कृति मलाई कवयत्री रञ्जना निरौलाले भदौ महिनामा मेरै घरमा ल्याएर दिएकी छिन्।

कृतिः निषेधाज्ञाका प्रतिबिम्बहरु (संयुक्त कवितासङ्ग्रह)
प्रकाशकः राष्ट्रिका साहित्य प्रतिष्ठान
प्रकाशनः २०७८ भाद्र
मूल्यः रु.२९९।–
पृष्ठः २००
सम्पादकःरञ्जना निरौला र सुमन वर्षा

प्रतिक्रिया