बहु उपयोगी पुस्तकः ‘सिकाइ र सहयोग’

–विदुरप्रसाद पौडेल, रामेछाप २०७८ मंसिर १४ गते २२:५५ मा प्रकाशित

नेपाली साहित्यका विविध विधामा निरन्तर कलम चलाइरहने व्यक्ति हुन् श्रमिक बराल।वि.सं. २०४४ सालदेखि श्रमिक बरालको नामबाट साहित्यका विविध विधामा कलम चलाउँदै आएका बरालको वास्तविक नाम खगराज बराल हो।शिक्षा, प्रशासन तथा साहित्य क्षेत्रमा नियमित कलम चलाइरहने बरालका डेढ दर्जन जति पुस्तक र एक सय जति लेख प्रकाशित छन्।उनको नाम शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पनि परिचित छ।नेपाल सरकारको निजामतीतर्फको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा प्रवेश गरी विशिष्ट श्रेणीको सचिव पदमा पुगी विभिन्न मन्त्रालय,आयोग तथा कार्यालयको सफल नेतृत्व गरेका बराल नेपाली साहित्यमा सिद्धहस्त लेखकका रूपमा आएका छन्।नेपालको विद्यालय तहको पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा ३ का विद्यार्थीले पढ्ने ‘हाम्रो नेपाली किताब’को पहिलो पाठ ‘असल बन’ कविताका लेखक पनि श्रमिक बराल नै हुन् कक्षा तीनका भाइबहिनीले यो कविता पढ्न लागेको पनि एक दशक भइसक्यो।

श्रमिक बरालका नामबाट ‘आँगनीको फूल’ २०७६,‘सानीको बर्थ डे’ २०७५, ‘श्रमिक बरालका गीतहरू’ २०७३, ‘मौन आकाश’ २०७१,‘अविरल गङ्गा’ २०६७, ‘म त सधैँ एक्लै परेँ’,२०६२ प्रकाशित भएका छन्।उनको खगराज बरालका नामबाट २०७७ मा प्रकाशित “स्यानी” उपन्यास अहिले चर्चाको शिखरमा छ।श्रमिक बरालका नामबाट गीत,कविता,कथा,लघुकथा,समालोचना जस्ता विधामा कलम चलाउने खगराज बराल गैह्र आख्यान र विभिन्न विषयमा पनि उति नै सशक्त रूपमा कलम चलाउँछन्।

शिक्षा क्षेत्रमा खगराज बरालले झण्डै एक दर्जन पुस्तक लेखेका छन्।बरालका ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७),‘केही शैक्षिक मुद्दाहरू’ (२०६८), ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९), शैक्षिक विचरण’ (२०७०),‘केही शैक्षिक प्रबन्ध’ (२०७१), ‘शैक्षिक दृष्टार्थ’ (२०७३),‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ (२०७४),‘सिकाउने शैली’ (२०७५) , ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५) प्रकाशित छन् । यस लेखमा बरालको २०७६ मा प्रकाशित ‘सिकाइ र सहयोग’ पुस्तकको समीक्षा गर्ने प्रयास गरिएको छ।यो पुस्तक साङ्ग्रिला बुक्स प्रा.लि.ले २०७६ मा प्रकाशनमा ल्याएको हो।

खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ अति बहुउपयोगी पुस्तक हो।हाम्रो दैनिक जीवनमा प्रयोग भइरहेका हाम्रा आफ्ना आचरणदेखि चालचलन, बानी व्यहोरा लगायत विविधि पक्षको चर्चा यस पुस्तकमा गरेको पाइन्छ।पुस्तक पढेपछि हामीले सामान्यभन्दा सामान्य कुराहरूको पनि सही प्रयोग गर्न नजानेको अनुभूति हुन्छ।

विभिन्न २५ शीर्षकमा विभाजित पुस्तक पढ्दा पटक्कै पट्यार लाग्दैन,अब के होला भन्ने कौतुहलताकासाथ अगाडि बढ्न हतारो हुन्छ पाठकलाई।पुस्तकको पहिलो शीर्षक ‘बालअधिकार र हाम्रो व्यवहार’ मा हामीले जति नै बाल अधिकारको कुरा गरे पनि बालबालिकाहरू सामान्यभन्दा पनि सामान्य अवसरबाट बञ्चित हुन परेको कुरा स्पष्टसँग उल्लेख गरिएको छ जस्तै,गाडी चढ्दा सिटमा बस्न नपाउनु,शौचालयहरू बालबालिकाहरूको उमेरअनुसार निर्माण नुहुनु, प्रायः कुनै पनि संरचना बालमैत्री नभएका कारणबाट उनीहरूको जीवनमा पर्न आएको कठिनाई अन्ततःअभिभावकसम्म आइपुग्छ भन्ने उल्लेख गरेको पाइन्छ।

पुस्तकको माध्यमबाट लेखकले व्यक्ति, घरपरिवार र समाजलाई मैले के गरिराखेको छु भन्ने थाहा नभएकाहरूलाई उसले गरेका कार्यहरूको बोध गराएको भान हुन्छ।हामीले दैनिक जीवनमा सधैँ प्रयोग गरेका,जानेका शब्द व्यवहारहरू नै कुन समयमा कहाँ प्रयोग गर्ने भन्ने हामीमा जानकारी नभएका सामान्य कुराहरू पनि ‘सिकाइ र सहयोग’ पुस्तकले हामीलाई बोध गराएको छ।बोल्दा, सुन्दा सामान्य लाग्ने तर त्यसले बोकेका कतिपय गहन अर्थको अभ्यासहरू हामीले गलत रूपमा प्रयोग गरेको भान यो पुस्तक पढेपछि पाठक स्वयंलाई थाहा हुन्छ।‘सिकाउने आ–आफ्नै तरिका’,‘बुझाइमा अर्थ र नअर्थ’,‘पुर्खाको विश्वास’,‘लैङ्गिक सवाल’,‘नाता सम्बोधन’,‘यात्रा, नकारात्मक सोंच’,‘व्यवहारउपयोगी सिप’ लगायतका शीर्षकमार्फत लेखकले गहन विषयवस्तु पस्केका छन्।तिनलाई हामीले दैनिक जीवनमा प्रयोगमा ल्याउने हो भने व्यक्तिका लागि त वरदान नै सावित हुन्छ भने समाजका लागि पनि एउटा मार्गदर्शन बन्ने कुरामा दुई मत रहन सक्दैन।

हाम्रो समाजमा ठाउँ र परिवेशअनुसार भिन्न–भिन्न भाषा,धर्म,संस्कृति र मानिसले गर्ने खानपान लगायतका संस्कार आ–आफ्नै भएतापनि विशेषगरी त्यसमा आधारित भएर गरिने खानपानको परिकार र खाने समय लगायत फरकफरक अवस्थाको चित्रण गरिएको छ।‘क्षतिपूर्ति दाबीमा अनौठो प्रवृत्ति’ शीर्षकमार्फत अस्वभाविक मूल्य राखी क्षति भएको वस्तुको मूल्य लिन खोजिएको प्रसङ्गबाट हामी कति अविवेकी छौं भन्ने कुराको पुष्टि भएको छ।हामीले विभिन्न समय र परिस्थितिमा अपनाउनुपर्ने ‘आचारण र व्यवहार’,‘निम्ता र निम्तालु’,‘औपचारिक कार्यक्रममा अनौपचारिक प्रसङग’,‘अनुभाव र उपयोग’ लगायतका शीर्षकमा लेखकले हेर्दा सामान्य लाग्ने तर गहन अर्थ बोकेका कुराहरूलाई पनि हामीले कसरी पालना गर्नुपर्छ र आफ्नो जीवनमा अपनाउन सकिन्छ भन्ने सन्देश पुस्तकमार्फत समाजलाई प्रवाह गर्न सफल भएका छन्।नेपालमा पर्यटन कसरी भित्र्याउन सकिन्छ र पर्यटनमार्फत कसरी विदेशी मुद्रा कसरी आर्जन गर्न सकिन्छ भन्ने उदाहरण लेखकले इजिप्ट भ्रमणमा देखेको आफ्नो अनुभवमार्फत दृष्टान्तसहित पर्यटन आकर्षणको व्यवस्थाबारे उल्लेख गरेका छन्।यसैगरी ‘अनुवांशिताको प्रभाव’ शीर्षकमार्फत पशुपालन व्यवसायमा कस्तो प्रभाव पर्छ भन्ने कुराको जानकारी पाउन सकिन्छ।विशेषगरी बाख्रापालनमा हाडनाता प्रजनन्को उदाहरण दिँदै यसबाट व्यवासायिक उत्पादनमा कमी हुने, पाठापाठीको मृत्युदर बढ्ने, उत्पादन क्षमतामा ह्रास आउने, रोग प्रतिरोधी क्षमता घट्ने र बाख्राको दूध उत्पादन गर्ने क्षमतमा कमी हुने कुराको वैज्ञानिकहरूको विचारसहित यथार्थपरक प्रस्तुत गरेर लेखकले कृषकहरूलाई समेत व्यवहारोपयोगी शिक्षा (ज्ञान) दिन सफल भएका छन्।अझ रोचक कुरा त के छ भने अमेरिकी नागरिक डानियल लानेयसँगको छलफल र नेपालमा पनि बाख्राको दूध उत्पादनका लागि बाख्रापालन गर्न सकिन्छ र त्यो सम्भव छ भन्ने सुझाव र बाख्राको दूध पनि अन्य पशुहरूको दूधसरह मिठो र पोषिलो हुन्छ भन्ने डानियलले सुनाएको अनुभव निकै रोचक छ।साथै ‘गृहस्थीमा फर्केका गुरु’ शीर्षकमा घरपरिवारको इच्छामा आफ्नो भन्दा अरूको हित हेर्दा बचन (बाचा) तोडे पनि फरक नपर्ने प्रसङ्ग उल्लेख गरिएको छ भने ‘साङ्केतिक भाषाको मर्म’ शीर्षकमार्फत साङ्केतिक भाषा पढ्नेहरूका लागि कसरी सहजता प्रदान गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको पाइन्छ ।यसैगरी ‘संस्कृतको वास्तविक महत्त्व’ शीर्षकमार्फत संस्कृत भाषा, भाषाहरूको जननी हो र यदि यो भाषाको ज्ञान लिएमा वा जानेको खण्डमा संसारका कुनै पनि भाषा सहजै सिक्न सकिन्छ भन्ने कुराको उदाहरणसहित विवेचना गरेको पाइन्छ।साथै, आफ्नो देशमा रहेको संस्कृत भाषाको बारेमा हामी मौन बस्ने तर विदेशीले बताइदिदा मख्ख पर्ने हाम्रो बानीमा पनि पुस्तकमार्फत हामी सबैलाई सतर्क गराएको छ।

यसरी लेखकले ‘सिकाइ र सहयोग’ पुस्तकमार्फत मानिसले अपनाउनुपर्ने, छोड्नुपर्ने, मान्नुपर्ने, के गर्दा ठीक हुने, के गर्दा बेठीक हुने लगायतका यस्तै–यस्तै अनेक प्रसङ्गहरूमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न खोजको पाइन्छ।हामीले गर्ने व्यवहारको सानोभन्दा सानो परिवर्तनले पनि व्यक्ति, घरपरिवार र समाज नै परिवर्तन हुनसक्छ भने हामी किन परिवर्तन नहुने भन्ने कुराको बोध लेखकले यस पुस्तकमार्फत गराउन सफल भएका छन्।

हाम्रो दैनिक जीवनमा सामान्य विषयवस्तुलाई पनि सही तरिकाले प्रयोगमा ल्याउन सक्यौं भने सभ्य समाजको निर्माण हुन धेरै समय लाग्दैन भन्ने सन्देश पनि यो पुस्तकले प्रवाह गरेको छ।‘सिकाइ र सहयोग’ पुस्तक हामी सबै पाठकले एक पटक पढ्नै पर्ने पुस्तकको रूपमा बजारमा आएको छ।यस पुस्तकलाई नेपाल सरकारको पाठ्यक्रममा समावेश गरी विद्यालयस्तरमा वा उच्च शिक्षाका कक्षाकोठासम्म पुर्याउन सकेमा यसको व्यावहारिक प्रयोगमा थप वृद्धि हुँदै जानेछ। यसतर्फ हामी सबैको पहल हुन जरूरी ठान्दछु।

लेखकले विभिन्न २५ शीर्षकहरूका माध्यमबाट व्यक्तिले आफ्नो जीवनमा ल्याउनुपर्ने परिवर्तन र व्यक्तिको परिवर्तनमार्फत परिवार र समाजमा पर्ने सकारात्मक परिवर्तनका लागि यो पुस्तक उपयोगी हुने कुरामा विश्वास गर्न सकिन्छ।साथै ‘सिकाइ र सहयोग’ पुस्तकले समाजलाई सू–सूचित गर्न योगदान गर्ने भएकाले यस पुस्तकका लेखक खगराज बराल धन्यवादका पात्र हुनुहुन्छ।लेखकबाट भावी दिनमा यस्तै सरल तथा व्यवहार उपयोगी पुस्तकको अपेक्षा गरिएको छ।

पुस्तकः‘सिकाइ र सहयोग’
विधाः अनुभूति सङ्ग्रह
लेखकः खगराज बराल
संस्करणः पहिलो (२०७६)
प्रकाशकः साङ्ग्रिला बुक्स प्रा.लि.
पृष्ठः २४१
मूल्यः रु.३९५÷–

 

 

प्रतिक्रिया