आइतबार, माघ ९ २०७८
काठमाडौं १४:३९
वासिङटन डिसी 03:54

जीवन विज्ञान अमेरिकाको पहिलो वार्षिकोत्सव सम्पन्न

इनेप्लिज २०७८ मंसिर १४ गते १:५३ मा प्रकाशित

इनेपलिज सम्वाददाता । जीवन विज्ञान अमेरिकाको पहिलो वार्षिकोत्सव समारोह यही नोभेम्बर २७ तारिख शनिवार सम्पन्न भयो । जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापकद्वय श्रद्धेय सद्गुरुवर रमेश नेपालतथा एल पि भानु शर्माले वार्षिकोत्सव समारोहका सहभागीलाई शुभाशीष प्रदान गर्नुभयो ।

शुभाशीषका क्रममा सद्गुरुवर रमेश नेपालले हामीले भौतिक संसारमा सुनिने विभिन्न धुनहरु जति प्रिय लागे पनि हृदयबाट निस्किएको धून सबैभन्दा प्रिय हुने र त्यो धुन पाउन ध्यानको नियमित साधनाले मात्र सम्भव हुने बताउनुभयो । वहाँले हामी तृप्ति र शान्तिका लागि बाहिरी बस्तुमा निर्भर भइरहेका छौँ र आफूलाई नचिनी मर्ने गर्छौँ भन्नुहुँदै मन सदाका लागि तृप्त भएपछि मात्र स्थायी शान्ति प्राप्त हुने बताउनुभयो ।

सद्गुरु एल पि भानु शर्माले अध्यात्मको यात्रामा हिड्ने साधकले विगतलाई सम्झेर पश्चात्ताप गर्दा चेतना पश्चात्तापमै अल्झिने हुँदा सधैँ सकारात्मक सोच र उच्च मनोबलका साथ सबैको हितका लागि अघि बढ्दै साधनामा लाग्नुपर्ने बताउनुभयो । जीवनमा आफूले जे देख्न चाहेको हो, चेतनालाई त्यसमा एकाकार गर्दै साधना गर्न वहाँले शुभाशीष दिनुभयो ।

श्रद्धेय सद्गुरुवर मेश नेपालले परमेश्वरको परम प्रकाश प्राप्त गर्नुभएको शुभदिनको अवसर परेको वार्षिकोत्सव समारोह अमेरिकाको भर्जिनियामा सहभागीहरु हलमा सहभागी भएर तथा नेपालबाट सद्गुरुवद्वय र संसारभरिका अन्य सहभागीहरु जुममा उपस्थित भएर सञ्चालन भएको सो समारोहमा जीवन विज्ञान अमेरिका सूचनाप्रविधि विभागका संयोजक ददिराम ढुङ्गानाले स्वागत मन्तव्य दिनुभयो ।

प्रशासन विभागका संयोजक मधुसूदन पन्थीले जीवन विज्ञान अमेरिकाले सन् २०२० सेप्टेम्बर २२ मा अमेरिकामा दर्ता भएपछि हालसम्म गरेका सबै कार्यक्रम हरुको विवरण तथा यसले एक वर्षको अवधिमा गरेको संस्थागत पूर्वाधार विकासको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

विभिन्न समयमा अमेरिकामा सम्पन्न भएका स्वसंवाद तथा दिव्य संवादमा सहभागी भएर जीवन विज्ञानका साधनामा नियमित संलग्न साधकहरुका तर्फबाट बोल्ने क्रममा भर्जिनियामा सञ्चालित प्रभातीय जीवनयोग प्रयोगशालाका साधक मनिस पोखरेल, भर्जिनियामा सञ्चालित सन्ध्याकालीन प्रयोगशालाका नियमित साधक बद्री खनाल, क्यान्ससमा सञ्चालित जीवनयोग प्रयोगशालाका सहभागी डा. नन्दप्रसाद जोशी, क्यालिफोर्निया जीवनयोग प्रयोगशालाका नियमित साधक निरञ्जन वाग्ले, टेक्सास जीवनयोग प्रयोगशालाका नियमित साधक फ्लोरिडा निवासी जानुका खनालले जीवन विज्ञानका प्रशिक्षकबाट नियमित साधना सिक्दा आफूहरुले प्राप्त गरेको शारीरिक र मानसिक परिवर्तनको रोचक अनुभव सुनाउनुभयो ।

जीवन विज्ञान बेलायतका संस्थापक संयोजक सरिता शर्माले शुभकामना मन्तव्य दिँदै जीवन विज्ञान अमेरिकाले आफ्नो लक्ष्यमा अघि बढ्न निरन्तर सफलता प्राप्त गर्दै जाओस् भनी शुभकामना दिनुभयो । साथै वहाँले जीवन विज्ञान बेलायतले स्थापनाको एक वर्षमा युरोपका १५ मुलुकका साथै अस्टेलिया, क्यानडा, अमेरिका, मध्यपूर्वका देशहरुमा रहेका नेपालीहरुलाई स्वसंवाद, दिव्य संवाद तथा समृद्धि संवादमा सहभागी गराएको जानकारी गराउनुभयो ।

समारोहमा जीवन विज्ञानकी बाल साधक अमेरिका निवासी सुयशा नेपालले गणेश वन्दनामा शास्त्रीय नृत्य प्रस्तुत गर्नुभयो भने नेपालबाट रञ्जु गौतम घिमिरेले स्वरचित गुरुवन्दना कविता प्रस्तुत गर्नुभयो । यसै गरी मेरिल्यान्ड निवासी जीवन विज्ञानकी साधक कमला थापाले भक्तराज आचार्यले गाउनुभएको चर्चित भजन “तन, मन, वचनले ….” सुमधुर स्वरमा प्रस्तुत गर्नुभएको थियो । यस्तै श्रद्धेय सद्गुरुवर रमेश नेपालले रचना गर्नुभएको गीत “हे मन, हृदयको वाणी सुन्…’ टेक्सास निवासी जीवन विज्ञानका अर्का साधक कैलाशमोहन कायस्थले आफैँले हार्मोनियम बजाएर गाउनुभएको थियो ।

समारोहमा जुमका माध्यमबाट ‘द ओमेन फाउन्डेसन’ काठमाडौँद्वारा सञ्चालित “ह्याप्पी होमका बालिकाहरु स्वस्तिका खड्का, आलीसा राई, तुलसी मुक्तान, गीता काफ्ले, दीपा महरा र मञ्जु लामाले देशभक्ति गानमा नृत्य प्रस्तुत गरेका थिए ।

जीवन विज्ञान अमेरिकाका अध्यक्ष शिव लामिछानेले जीवन विज्ञान अमेरिकालाई एक वर्ष पूरा गर्ने क्रममा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी पाँच वर्षमा नेपालीहरुलाई विश्वमा चिनाउने गरी श्रद्धेय सद्गुरुवरद्वयले प्रतिपादन गर्नुभएको जीवन विज्ञान दर्शनको साधना गर्ने ध्यान केन्द्र अमेरिकामा स्थापना गर्नेगरी प्रारुप तयार गर्ने, सद्गुरुवरद्वयका वाणीहरुलाई भाषानुवाद गरी विभिन्न भाषामा पाठ्यसामग्री तयार गर्ने तथा अमेरिकामा प्रशिक्षकहरु तयार गरी नेपाली समुदायबाहिर जीवन विज्ञानलाई विस्तार गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । दुई घन्टा जुम र स्थलगत भएको सो समारोहको सञ्चालन डा कल्पना सत्यालले गर्नुभएको थियो ।

जीवन विज्ञान प्रतिष्ठान नेपालको पहिलो विदेश शाखाका रुपमा जीवन विज्ञान अमेरिका सन् २०२० को सेप्टेम्बर २२ मा भर्जिनियामा अमेरिकी संघीय कानुन अनुसार ५०१ सी ३ अन्तर्गत दर्ता भएको हो । जीवन विज्ञानका सद्गुरुद्वयबाट प्रतिपादित स्वसंवाद, दिव्य संवाद तथा समृद्धि संवाद साधनाहरु गत वर्ष सेप्टेम्बरदेखि सद्गुरुवरद्वयले जुमबाट स्ववाणी दिनुभई नेपाली समुदायका सहभागीलाई पहिलो पटक अमेरिकाबाटै अभ्यास गराइएको थियो ।

जीवन विज्ञान अमेरिकाले नेपाल र भुटानबाट अमेरिका तथा क्यानडामा बसोवास गरिरहेका नेपाली मूलका समुदायमा विभिन्न नेपाली स्थानीय प्रतिनिधि संस्थाहरुको संयोजनमा उक्त कार्यक्रमहरु गरिरहेको छ । यसका साथै अमेरिकाको पूर्वी मध्य तथा प्यासिफिक समयमा अनुकूल हुनेगरी विहान र बेलुकीमा ६ वटा जीवनयोग प्रयोगशाला सञ्चालन भइरहेका छन् । हरेक शनिवार र आइतवार विहान बालबालिकाहरुका लागि नवप्रतिभा विज्ञान प्रयोगशाला तथा हरेक महिनाको अन्तिम शनिवार सद्गुरुवरका साथमा जुमबाट डेढ घन्टाको नियमित ध्यान साधना यसै वर्ष जनवरीदेखि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया